Logo
Logo

तीन दिनमा पाँचको मृत्यु भएपछि गाउँले आतंकित


- दृष्टि न्युज/संवाददाता

0
Shares

महोत्तरी, ५ चैत । मनरासिस्वा नगरपालिकाको मनरा गाउँमा पछिल्लो तीन दिनभित्र पाँचको मृत्यु भएको छ । नगरपालिका–१ साविकको मनरा गाउँका ५० वर्षीय ब्रह्मदेव मण्डल, ५५ वर्षीय राघो मण्डल, ४५ वर्षीय सुखचन्द्र मण्डल, ५० वर्षीय विकास मण्डल र ५५ वर्षीय गंगा सिंहको मृत्यु भएको वडा नम्बर १ का वडाध्यक्ष शशीभूषण चौधरीले बताए ।
उनका अनुसार गत मंगलबारदेखि अचानक उनीहरु बिरामी भएपछि उपचार हुँदाहुँदै पनि सिकिस्त अवस्थामा पुगेर एकपछि अर्को गरी पाँचै जनाको मृत्यु भएको हो । एक्कासि बिरामी भएर भटाभट भएको उनीहरुको मृत्युले पूरै मनरा गाउँवासी आतंकित भएका छन् । उनीहरुको मृत्युको कारणलाई लिएर विभिन्न अड्कलबाजी भइरहेको छ ।
उनीहरुको मृत्यु विषाक्त मदिरा सेवनबाट भएको वडाध्यक्ष चौधरीको जिकिर छ । उनका अनुसार उपचारमा संलग्न चिकित्सकले उनीहरुको मृत्यु मदिरा सेवनबाट भएको बताएका छन् । महोत्तरीका प्रहरी प्रमुख श्यामकृष्ण अधिकारीले उनीहरुको मृत्यु मदिरा सेवनबाट नभई अर्कै कारणले भएको हुनसक्ने आशंका गरेका छन् ।
वास्तविकता जे रहे पनि एउटै गाउँमा तीन दिनभित्र पाँच जनाको मृत्यु भएपछि गाउँले त्रसित छन् भने डरले गर्दा सबै आआफ्नै घरमा सीमित हुन थालेको स्थानीयवासी रवीन्द्र भगतले बताए ।

प्रतिक्रिया दिनुहोस्