काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विभाग र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पठाएका तीन सहसचिव विवादित देखिएका छन् । श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय पठाएका एक सहसचिव गोगन हमाल तथा अध्यागमन विभागको महानिर्देशक बनाएका रुद्रसिंह तामाङ र झलकराम अधिकारी विवादित र भ्रष्टाचारमा दोषी देखिएका हुन् । श्रेष्ठले विश्वास गरेर जिम्मेवारी दिएका कर्मचारीहरु नै विवादमा परेपछि श्रेष्ठको छविमा समेत आघात परेको छ ।
तामाङलाई आइतबारमात्रै अख्तियार दुरुपयोग अनुसन्धान विभागले मेलम्ची खानेपानी आयोजनामा अनियमितता गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । मुद्दा दायर भएसँगै उनी स्वतः निलम्बनमा परेका छन् ।
मेलम्ची खानेपानी विकास समितिको बोर्ड सदस्य रहेका बेला भएको अनियमिततामा अख्तियारले तामाङलाई प्रतिवादी बनाएको हो । उनीविरुद्ध ११ करोड ९ लाख १७ हजार ४ सय ५८ रुपैंया बिगो, बिगोबमोजिम जरिवाना र कैद सजाय मागदाबी गरिएको छ ।
अर्का झलकराम अधिकारी राजस्व अनुसन्धान विभागले साउन ३ गते त्रिभुवन विमानस्थलबाट बरामद भएको ६० किलो सुन तस्करी आरोपमा पक्राउ परेका चिनियाँ मूलका बेल्जियन नागरिक दावा छिरिङसँग वीच्याटमा आर्थिक लेनदेनसमेतको कुराकानी भएको देखिएपछि निलम्बनमा परेका थिए । अधिकारीलाई गत भदौ ७ गते अध्यागमन विभागबाट संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा राखिएको थियो ।
अधिकारी र दावाबीच २०७८ असार ७ यता निरन्तर संवाद हुने गरेको देखिएको थियो । २०७९ साउन ५ देखिका संवादमा भने राम्रो काम भएको भन्दै आर्थिक लाभको कुराकानी भएको देखिएको थियो ।
त्यसपछि उनलाई गृहले अध्यागमन विभागबाट तानेर अतिरिक्त समूहमा राखेको थियो । अतिरिक्त समूहमा रहेका अधिकारीलाई नेपाल ट्रष्टको कार्यालयमा सरुवा गरिएको छ ।
नेपाल ट्रष्टको सञ्चालक समितिमा पदेन अध्यक्ष रहने गृहमन्त्री श्रेष्ठले अनुसन्धान नसकिँदासम्मका लागि भन्दै जगेडामा राखिएका अधिकारीलाई सामान्य प्रशासनमन्त्री अनिता देवी र प्रधानमन्त्री पुष्पकमल दाहाललाई दबाब दिएर ट्रष्टमा पु¥याएका हुन् ।
उनी २०७९ फागुन १७ गतेदेखि अध्यागमन विभागका महानिर्देशक थिए। उनी महानिर्देशक भएपछि नै सुन तस्करी सुरु भएको थियो । उनकै कारण तस्करीलाई बल पुगेको सिआइबीको दाबी छ ।
त्यस्तै, अहिले अन्तराष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा प्रमुख रहेका हमाल प्रहरीसँग हातपातमा उत्रिएपछि विवादित छन् । हमालमाथि विमानस्थलमा खटिएका प्रहरीले हातपात गरेका छन् ।
अध्यागमनका अधिकृत छायाँलाल मोक्तानमाथि हातपात गरेको विषयमा हमाल प्रहरीसँग बाँझाबाँझ गरेपछि प्रहरीले उनीमाथि हातपात गरेको हो ।
यसबारे गृहमन्त्रालयले छानबिन समिति बनाएको थियो । छानबिन समितिले हमालले कमाण्ड कन्ट्रोल गर्न नसकेकाले कारबाही गर्न सिफारिस गरेको छ ।