त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल । पहिलो त नामले नै यहाँबाट या त मानिस विदेश जाने भए या त विदेशबाट आउने । दोस्रो विमानस्थल नै सानो छ । थोरै मानिस आउँदा जाँदा पनि ठूलै भीड देखिन्छ । तेस्रो, नेपाल आउनेभन्दा नेपालबाट बाहिर जानेको संख्या ठूलै पनि छ ।
यी तीन कारणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षभन्दा प्रस्थान कक्ष भीँडभाड नै छ । प्रस्थान कक्षको यही भिडभाड दृश्यले नेपाली मिडियाले एउटा लगभग स्थायी हेडलाइन पाउँछ, विमानस्थलमा देश छोड्नेको ताँती ।
जब समाचारको संख्या कम हुन्छ वा कुनै बिकाऊ समाचार हुँदैन । तब, हरेकजसो मिडियाका सम्पादक आफ्ना समाचारदातालाई भनिहाल्छन्, ‘त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जानुहोस् । एक हैन, अनेक समाचार पाइन्छन् ।’
सम्पादकबाट धेरै पटक यस्तो सल्लाह पाएका समाचारदाता पनि अब समाचार पाइने ठाउँका बारेमा जानकार भइसके । हुन पनि हो खासगरी विमानस्थलको प्रस्थानकक्षमा पुग्ने हरेक मान्छेसँगै कुनै न कुनै किसिमको कथाव्यथा भैहाल्छ । त्यो कथाको एक दुईवटा बाइट लियो ।
विमानस्थलको प्रस्थान कक्षको भीड खिच्यो । विमानस्थलमा आफन्तलाई छोड्न आएकाको बिदाइको दृश्य र आँसु खिच्यो । भावुक एंगल बनायो । त्यसपछि त तयार भैहाल्छ, एउटा विकाउ समाचार– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देश छोड्नेको ताँती ।
यही मेसोमा विमानस्थलको आगमन कक्षमा पनि अर्को एक बिकाऊ समाचार बनिरहेको हुन्छ । आगमन कक्षको कम भिडभाडवाला वा भरिशक्य कोही नभएको मौका पारेर लिएको दृश्य हाल्यो । बाहिर उभिएर एउटा बिकाऊ भाषाको स्याण्ड–अप लियो । अनि, अर्को समाचार बुलेटिनमा सह–उत्पादित समाचार हाल्यो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्ष सुनसान, नेपालमा पर्यटक आउनै छोडे ।
यसरी नेपाली मिडियामा वर्षौँदेखि लगभग एउटै समाचार शीर्षकमा समाचार आइरहेका छन् । समाचार शीर्षक एउटै नभए पनि आशय लगभग एउटै हुन्छ, नेपालीहरू देश छोडिरहेका छन्, देश रित्तिँदै छ, नेपाल बस्न लायक देश नै बनेन, युवाको पलायन बढ्दो, राज्य असफल हुँदैछ ।
यी सजिलै बन्ने बिकाऊ समाचार वर्षौयता चलिरहँदा नेपालको छवि एक बस्नै नहुने देशको रूपमा निर्माण भैरहेको छ । यो सँगै एक जबर्जस्त भाष्य बनिसकेको छ, त्यो के भने ‘नेपालमा भविष्य नै छैन ?
अहिले त मूलधारका मिडियामा आएका यी बिकाऊ समाचारको ग्लोरीफाइ गर्न सामाजिक सञ्जाल एक वैकल्पिक सञ्चार माध्यमका रूपमा उपस्थित छ । यी सञ्जालवालालाई पनि लाइक, सेयर र भ्यू नै चाहिएको छ । त्यसैले उनीहरू पनि टीआरपी भएका यस्तै विकाउ समाचार सेयर गर्छन् ।
त्यसैमाथि पनि उनीहरू होमा हो मिलाउँदै आफ्नो इन्डोर्समेन्ट पनि थपेर लिंक सेयर गर्छन् । अर्थात्, जानेर÷नजानेर उनीहरू पनि यही भाष्यको बजारीकरण गरिरहेका हुन्छन् ।
यसबाट प्रकारान्तरमा नेपालमा एउटा एजेण्डा नै सेट हुन पुगेको छ, साँच्चै नै नेपालमा भविष्य छैन । यही भाष्यलाई यथार्थमा परिणत गर्न सरकार आफ्ना देशका युवालाई रेमिटेन्सका लागि विदेश निर्यात गरिरहेको छ ।
देशमा उद्यम गर्नेलाई भन्दा विदेश गएर रेमिटेन्स ल्याइदिनेलाई स्याबास भन्दै धाप मारेर सहजीकरण गरिरहेको छ । कृषिलाई आधुनिकीकरण गर्ने र रोजगार सिर्जना गर्नेतिर सरकारको पटक्कै ध्यान गएको छैन । शैक्षिक स्तरोन्नति र व्यवस्थापन गर्नेभन्दा पनि १०+२ गर्ने बितिकै पढ्ने नाममा विदेशतिर लघारिरहेको छ ।
एकातिर मिडियाले नेपालमा भविष्य छैन भनेर भाष्य बनाउने अर्कोतिर सरकारले त्यस भाष्यलाई चिर्नेभन्दा पनि सघाउने काम गरेको छ ।
यो सत्य हो कि नेपालबाट बाहिरिने क्रम बढ्दो छ । संख्या बढ्दो छ । यसरी जानेमा अहिले सबैभन्दा ठूलो संख्या विद्यार्थीको छ । त्यसपछि अरब मुलुकहरू, मलेसिया, जापान, कोरियालगायतका देशमा कामका लागि जाने नेपाली श्रमिकको संख्या पाइन्छ । यसरी जाने गन्तव्यमा अहिले इजरायल, केही युरोपेली र अफ्रिकी मुलुक पनि थपिएका छन् । गोर्खा सैनिकका रूपमा सेवा गरेबापत हङकङ र बेलायत पुग्ने नेपालीको कथा त अर्कै छ ।
पछिल्लो समय कामभन्दा पनि अमेरिका, बेलायत र युरोपका कतिपय शरणार्थीप्रिय देशमा उतै बस्ने गरेर शरण लिने नेपालीको संख्या पनि ठूलै छ । सुरूमा नेपालीहरू युरोपमा शरण लिन र स्थायी रूपमा बस्न कागज बनाउन जहाँ सजिलो हुन्छ, त्यही प्रवेश गर्ने र कागज बनिसकेपछि आफ्नो सपनाको देशमा जाने क्रम बढ्दो छ ।
यस अतिरिक्त केही समययता चिकित्सक, इन्जिनियर, नर्स, प्राध्यापकजस्ता दक्ष नेपाली पनि विदेश जान थालेका छन् । यी दक्ष नेपाली भने जाने देशकै आवश्यकताअनुसार जाने भएकाले उनीहरू उतै रहने सम्भावना बढी हुन्छ । पछिल्लो समय हुर्कँदै गरेको ग्लोबल सिटिजन अवधारणाले पनि उनीहरूको बिदेसिने र उतै बस्ने सम्भावनालाई बढाएको छ ।
यसरी समग्रतामा हेर्दा नेपालीहरू काम गर्न, पढ्न, शरण लिन नै विदेश जाने गरेका छन् । यस अतिरिक्त डीभी लट्री परेर अमेरिका जाने तथा विदेशीसँग विवाह गरेर विदेशिनेको संख्या पनि उल्लेख्य छ । उनीहरूमार्फत् चेन माइग्रेसनको गति र प्रवृति पनि बढ्दो छ ।
अब प्रश्न उठ्छ, के यो नेपालीको पलायन हो ? सिधा हेर्दा मूलतः नेपालीहरू या त पढ्न गएका छन् या त काम गर्न । पढ्न जाने विद्यार्थी र काम गर्न जाने श्रमिक विदेश जानुलाई पलायन भन्न मिल्ला र ? उनीहरू त उच्च शिक्षा हासिल गरेर र कमाएर नेपाल आउनकै लागि विदेश गएका हुन् । उनीहरूको भिसा स्टाटस पनि त्यही नै हो । यसरी कानूनी रूपमा पनि कामदार वा विद्यार्थी भिसा स्टाटसमा विदेश जानु यो न पलायन हो न उनीहरू नै पलायनवादी हुन् ।
तर, यो भित्र लुकेको सत्य चाहिँ के हो भने नेपालको अवस्था यस्तै रह्यो र उनीहरूले देशमा भन्दा विदेशमा सुरक्षित भविष्य देखे भने उनीहरू नेपाल फर्कँदैनन् । यो समय ग्लोबल सिटिजन अवधारणाको हो, जननी जन्मभूमिश्च स्वरेगादपि गरियसी भनेर भावनात्मक मन्त्र जपेर मात्र चित्त बुझाउने समय हैन ।
त्यसैले, नेपाली समाजमा जरा गाढेको पलायनवादको बिल्ला अब ग्लोबल सिटिजनको अवधारणाले क्रमशः विस्थापित गर्दैछ । यो सोचको कालो रङ क्रमशः खैरो हुँदै छ । सत्य के हो भने मानिस घुमन्ते प्राणी हो र ऊ आफ्नो हितका लागि नयाँ र आफूलाई पायक पर्ने ठाउँतिर विचरण गरिरहन्छ ।
संसारका हरेक देशमा त्यो देशका आदिवासीहरू या त लोप भैसके या त घट्दै गएर लोप हुने क्रममा छन् । नेपालका अधिकांश नेपाली पनि कुनै बेला घुम्दैफिर्दै नेपाल पुगेका हुन् । नेपालमै पनि गाउँबाट सहर पस्ने, पहाडबाट मधेस झर्ने बसाइ सराई आमप्रवृति हो । अहिले त्यसको आवृति बढेर देशबाट विदेश मात्र भएको हो ।
त्यसैले सिद्धान्ततः पढ्न र काम गर्न गएका मानिसको संख्याकै आधारमा नेपालमा भविष्य छैन, नेपाल बस्न लायक देश नै भएन भन्ने भाष्य बनाउनु गलत हो । तर, के चाहिँ सत्य हो भने चाहे काम गर्ने भनेर होस् वा पढ्ने भनेर, यदि उनीहरूले विकसित देशमा बस्ने अवसर पाए भने उनीहरू उतै बस्छन् । र, त्यसका लागि अनेक प्रयत्न पनि गरिरहेका छन् ।
अहिले पढ्न भनेर अस्ट्रेलिया, अमेरिकी, क्यानडा र युरोपेली देश पुगेकाहरू त्यहाँ राम्रो पढाइ हुन्छ भनेर मात्र गएका छैनन्, उनीहरू उतै बस्ने भित्री आशयले नै गएका हुन् । यो भने ओपन सिक्रेट हो ।
अबको प्रश्न भनेको उनीहरूलाई कसरी काम सकेर वा पढाइ सकेर नेपाल फर्काउने भन्ने नै हो । त्यसका लागि नेपाल बस्न लायक देश बनाउनु प¥यो । विधि विधानले बनाउनु प¥यो, प्रक्रिया र व्यवस्थाले बनाउनु प¥यो । अझ भनेर हैन, गरेर नै देखाउनु प¥यो ।
अहिलेको नेपालको मूल समस्या भनेको एकातिर देश बस्नलायक छैन भन्ने खालको भाष्य बनाउने र त्यसलाई चिर्नुपर्ने देशको राजनीतिक परिपाटी र सरकारले जानेर÷नजानेर त्यसैलाई सघाइरहनु हो ।
अहिलेको पद्धति र सरकारको काम गर्ने तरिका अनि जनताको सोच्ने तरिका पनि यस्तै भइरहने हो भने यो भाष्य यथार्थमा परिणत हुन धेरै दिन लाग्दैन । त्यसपछि भने विदेश गएकाहरू जतिसुकै अप्ठ्यारो भएपनि त्यसलाई छिचोल्नतिर लाग्छन्, नेपाल फर्कँदैनन् । त्यो अवस्थामा चाहिँ नेपाल साँच्चै नै बस्नलायक देश रहने छैन ।
नेपालमा पद्धति र मेरिटोक्रेसीले काम गर्ने हो भने विश्वका समृद्ध देशमा भन्दा पनि नेपालमा जीवन सहज छ । कामका लागि प्रतिस्पर्धा छैन । जन्मजात नेपाली भाषा, परिवेश, हावापानी हुने भएकाले त्यसमा अभ्यस्त हुन थप केही गरिरहनै पर्दैन । हावापानी, खानपिनको कोणबाट पनि नेपाल अतुलनीय छ । पूर्वीय समृद्ध संस्कृतिको घर नेपाल सभ्यताको कोणबाट पनि माथि छ ।
हामीले यी राम्रा कुराको प्रवर्द्धन ग¥यौ, कामको अवसरहरू सिर्जना ग¥यो, पद्धतिले काम गर्ने बनायौ र हरेक क्षेत्रमा मेरिटोक्रेसी स्थापना गर्न सक्यौ भने नेपालीका लागि बस्नका लागि नेपाल जतिको सुन्दर देश कहीँ पनि छैन । त्यसैले नेपाल बस्न लायक देश छैन, यहाँ भविष्य छैन भन्ने भाष्य बनाउन आजैदेखि लगाम लगाऔँ ।
तर, घाम जतिकै सत्य कुरा के पनि हो भने नेपालमा सबै ठिकठाक भयो भने पनि सबै नेपाली नेपालमै चाहिँ बस्दैनन् । मान्छे स्वभावैले नयाँ अनुभव, गन्तव्य र प्राप्तिका लागि उत्सुक भइरहने जिज्ञासु प्राणी हो ।
त्यही भएकाले आजका नेपालीका पुर्खा घुम्दैफिर्दै नेपाल पुगेका थिए, अहिले उनीहरूका सन्तान अरू देशतिर लागेका छन् । ग्लोबल सिटिजनको अवधारणाले काम गरिरहेको यो युगमा सबै नेपाली नेपालमा बस्दैनन् । हामीले गर्न सक्ने भनेको धेरैभन्दा धेरै नेपालीलाई नेपालमै बस्न सक्ने वातावरण बनाउनेसम्म हो ।
अहिलेसम्मको सत्य के हो भने नेपाल अहिले पनि बस्नलायक देश छ, यसलाई अहिलेको सन्दर्भमा थप बस्नलायक बनाउन जरुरी छ । प्रश्न सरकारको मात्र हैन, त्यसका लागि हरेक नेपालीले आआफ्नो भूमिका निर्वाह गर्न जरुरी छ । अरू केही गर्न नसके पनि हरेक नेपालीले नेपालमा भविष्य नै छैन भनेर भविष्यवाणी नगर्न त सक्छन् नि । अहिलेका लागि त्यो पनि ठूलो योगदान हुन्छ ।
त्यसैले नेपालको भोलिको बारेमा आजै नकारात्मक भविष्यवाणी गर्ने पानी ज्योतिष नबनौँ । एक नेपाली भएर कम्तीमा यति त भन्न सकिन्छ, नेपालमै भविष्य छ; भोलि कसले देखेको छ र ?