Logo
Logo

बन्द छैन त्रिभुवन विमानस्थल


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ७ चैत । सरकारले शुक्रबार राति १२ बजेपछि विदेशी नागरिकको आगमनमा कडाइ गर्ने निर्णय गरेपनि नागरिक उड्डयन प्राधिकरणले देशकै एकमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा बन्द नहुने जनाएको छ । प्राधिकरणका अनुसार बैंककको थाई एयर, चीनका एयर चाइना, चाइना साउर्दन र चाइना इस्टर्न तथा सिंगापुरको सिल्क एयरका उडान नियमित छन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
यी एयरलाइन्सले हब विमानस्थल हुँदै अमेरिका, अस्ट्रेलियाबाट काठमाडौं आउने र फर्किने विदेशीलाई सेवा दिइरहेको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताएका छन् । उनका अनुसार यात्रु अभाव भएका कारण यी एयरलाइन्सले नियमित उडान तालिकाअनुसार नभई दिन तोकेर उडान गर्दै आइरहेका छन् ।
नेपालले भारतीय एयरलाइन्सलाई रोक लगाएको छैन तर भारतीय डीजीसीएले आइतबार बिहान स्थानीय समयअनुसार साढे ५ बजेदेखि एक सातासम्मका लागि अन्तर्राष्ट्रिय उडान आवागमन रोक्ने निर्णय गरेको छ । दिल्लीस्थित नेपाल वायुसेवा निगमका एक अधिकारीका अनुसार भारतले आफ्ना एयरलाइन्स र विदेशी एयरलाइन्सलाई एक साताका लागि रोक लगाउने निर्णयसहितको पत्र बिहीबार इमेलबाट पठाइसकेको छ ।
अब नेपाल वायुसेवा निगमले काठमाडौंबाट दिल्ली, बैंग्लोर र मुम्बई उडान एक सातासम्म गर्न पाउने छैन । भारतको दिल्लीबाट काठमाडौं आउने इन्डिगो, भिस्तारा र एयर इन्डियाका उडान पनि रोकिने छन् ।
कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले बुधबार युरोप, पश्चिम एसिया र मध्यपूर्वलगायतका क्षेत्रमा पर्ने ७३ वटा मुलुकका नागरिकलाई रोक्ने निर्णय गरे पनि ६ वटा मुलुक (चीन, हङकङ, सिंगापुर, बंगलादेश, भुटान र थाइल्यान्ड) का १२ वटा एयरलाइन्सलाई यो निर्णयले उडान गर्न कुनै प्रभाव पारेको छैन । तर संसारभर कोभिड–१९ को प्रभावका कारण एयरलाइन्सले उडान संख्या कटौती गरेकाले काठमाडौं विमानस्थलमा यसको असर देखिएको विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीले बताए ।
उनका अनुसार यात्रु अभावकै कारण चीनको सियानबाट उडान गर्ने तिब्बत एयरलाइन्स र ल्हासाबाट उडान गर्ने सिचुवान एयरलाइन्सलगायतले उडान कटौती तथा संख्या घटाएका छन् । सरकारको निर्णयसँगै नौवटा देशका १३ वटा एयरलाइन्सले ११ वटा गन्तव्यमा शुक्रबार राति १२ बजेपछि वैशाख ३ सम्म उडान गर्न पाउने छैनन् । उक्त निर्णयअनुसार नौवटा मुलुकलाई ट्रान्जिट बनाउने सबै विदेशी यात्रुलाई २० मार्च (७ गते शुक्रबार) मध्यरातिदेखि लागू हुने गरी १५ अप्रिल (वैशाख ३ गते) सम्म आगमनमा प्रतिबन्ध छ ।
सरकारले गरेको यो निर्णयले थुप्रै मुलुकका यात्रु अलपत्र परेको जनाउँदै खाडी मुलुकसहितका केही एयरलाइन्सले आफ्ना मुलुकका यात्रु मात्रै फर्काउन एकतर्फी उडानका लागि बिहीबार विमानस्थलमा भएको छलफलमा प्रस्ताव राखेका थिए । महाप्रबन्धक केसीका अनुसार कतार, ओमन र टर्किस एयरले खाली जहाज ल्याएर काठमाडौं आउने र यताबाट आफ्ना मुलुकका नागरिक लैजाने प्रस्ताव गरेका थिए । उनीहरूको प्रस्तावलाई विमानस्थल र प्राधिकरणले स्वीकार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्