Logo
Logo

कोरोना भित्रिएको छैन रे !


शम्भु श्रेष्ठ

0
Shares

  • शम्भु श्रेष्ठ

काठमाडौं, ७ चैत । कोरोना आतंकले सबै नागरिक चिन्तित छन् । स्कुल, कलेज विदा भएपछि काठमाडौंका सडक शून्य बन्दै गएको छ । तैपनि सार्वजजनिक यातायातका साधन गुडिरहेका छन् । यात्रुहरु पनि निर्धक विना ‘मास्क’ यात्रा गरिरहेका छन् । आन्तरिक बाह्य हवाई उडान पनि जारी नै छ । केही अन्तर्राष्ट्रिय उडान स्थगित भएका छन् । बैंक, मालपोत, हुलाक, प्रहरी चौकी, अस्पतालजस्ता सार्वजनिक स्थानमा मानिसको भीडभाड नै छ ।


सिंहदरबार भित्रका मन्त्रालयहरु पनि सामान्य अवस्थामा उस्तै चलिरहकै छ । शपिङ मल, डिपार्टमेन्ट स्टोरहरु, घरैपिच्छेका पसलहरु खुल्लै छन् । यी सबै दृश्य देख्दा लाग्छ, ‘असमान्य स्थितिमा पनि काठमाडौं सामान्य छ ।
सरकारी सञ्चारमाध्यम र मन्त्रीहरुको भाषण सुन्दा ढुक्क हुनुपर्ने अवस्था छ । मन्त्रीहरु भन्दैछन्, ‘कोरोना भित्रिएको छैन, आत्तिनु पर्दैन ।’ सरकारी सञ्चारमाध्यमहरु भन्दैछन्, ‘सरकारको उच्च सर्तकताका कारण अहिलेसम्म नेपालमा कोरोना भित्रिएको छैन ।’ कोरोनाविरुद्ध सरकारले चीनले भन्दा राम्रो तयारी गरिरहेको भन्दै सरकारी सञ्चारमाध्यमले प्रचार गर्दैछ ।
नीजि क्षेत्रका सञ्चारमाध्यमले भने सरकारको तयारी फितलो रहेको उल्लेख गरेका छन् । कतिपय अस्पतालमा कोरोना भाइरस जाँप्ने ‘किट’ समेत नभएको समाचार बाहिर आएको छ । रुघा, खोकी र ज्वरोले गाउँ नै थलिएको समाचारहरु समेत आएको छ । तर, सरकार भन्छ, ‘त्यो कोरोना होइन, अज्ञात रोग हो ।’
विश्वभरी कोरोना भाइरस (कोभिड–१९)का संक्रमणले मान्छेको ज्यान लिइरहेको बेला नेपालमा के त्यस्तो अज्ञात रोग भित्रियो ? अहिलेसम्म सरकारले पत्तो लगाउन सकेको छैन । सामान्य झाडा पखाला लाग्दा समेत अकालमा मान्छेले ज्यान गुमाउनुपर्ने देशमा कोरोनाबारे उच्च सर्तकता अपनाउनुपर्ने देखिन्छ ।
साबुन पानीले हात धुने, भीडभाडमा नजाने रुघा खोकी, लागेकामा नजिकैका अस्पतालमा जाने सन्देश दिएर सरकारले आफ्नो दायित्य पूरा गरेको ठानेको छ । ‘बाघ आयो बाघ आयो…’ भन्ने कथाजस्तै साँच्चीकै कोरोना भित्रियो भने के गर्ने होला ? भन्नेतिर सरकार लागेको देखिएन ।

प्रतिक्रिया दिनुहोस्