Logo
Logo

गड्डाचौकीमा भारतबाट स्वदेश फर्कने यात्रुको भीड, भारततर्फ जान रोक


- दृष्टि न्युज/संवाददाता

0
Shares

कञ्चनपुर, ८ चैत । पश्चिमी सीमानाका गड्डाचौकी भएर भारतबाट फर्कने यात्रुको भीड लागेपछि शनिबार बिहानैदेखि सवारीसाधन बन्द गरिएको छ ।
भारतीय पक्षले भारततर्फ जाने सबै सवारीसाधन र नेपाली यात्रुलाई जानबाट रोकेको छ । भारतबाट नेपाल प्रवेश गर्नेलाई भने जान दिइएको छ ।
नेपालबाट भारततर्फ जाने भारतीय नागरिकलाई मात्रै भारततर्फको नाका प्रवेश गर्न दिइएको छ । भारतले कोरोना भाइरस रोकथामका लागि नागरिक कफ्र्युको घोषणा गरेपछि मजदूरीका लागि भारतमा रहेका नेपाली स्वदेश फर्कन थालेका छन् ।
सीमानाकामा निकै भीड रहेकाले सवारीसाधनलाई सीमानाका प्रवेश गर्नबाट रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक रवीन्द्रनाथ पौडेलले बताए । शनिबार बिहान मात्रै झण्डै तीन हजार बढी यात्रु एकै पटक भारतबाट नेपाल फर्केको बताइएको छ ।
अझै सीमानाकामा निकै भीड रहेको छ । विगत तीन दिनदेखि सीमानाकामा नेपाल फर्कने यात्रुको निकै चाप रहेको छ । सीमानाकामा राखिएको हेल्थ डेस्कमा समेत स्वास्थ्यकर्मीलाई स्वास्थ्य जाँच गर्न निकै कठिनाइ भएको छ ।
भीमदत्त नगरपालिकाका स्वास्थ्यकर्मीसँगै नेपाली सेनाको स्वास्थ्यकर्मीको पाँचको टोलीसमेत खटिएको छ । शुक्रबारदेखि नेपाली सेनाको टोलीले सीमानाकामा रहेको हेल्थ डेस्कमा भारतबाट फर्कने यात्रुको स्वास्थ्य जाँच गरी रहेको छ । भारतले नेपाली सवारीसाधनलाई निकटवर्ती बजार वनबासा र नेपालले भारतीय सवारीसाधनलाई भीमदत्त नगरसम्म मात्रै सञ्चालन गर्ने व्यवस्था गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्