एउटा विशाल नदी आफ्नै गतिमा बगिरहेको हुन्छ । नदीको पल्लोतिरमा हरियाली जंगल छ, वारि किनारामा भेडाको एक हुल छ । गोठालाले केही भेडालाई त्यो नदीमा धकेल्ने प्रयास गर्छ । तर, भेडाहरू बल गरेर पछि हट्छन् । अर्थात्, पानीमा पस्न मान्दैनन् । जब भेडाहरू पानीको जोखिम लिन खोज्दैनन्, तब गोठालो आफै पानीमा हाम फाल्छ । त्यसपछि भेडाहरूले पनि नदीमा आफँै हाम फाल्न थाल्छन् । अन्ततः भेडाहरू मालिकसँगै पौडिदै पारि किनारा लाग्छन् ।
सामाजिक सञ्जालमा हेर्न पाइने यस्ता भिडियोहरूले अनेकौं सन्देश दिने रहेछन् । सुरूमा बल गर्दा पनि पानीमा हाम फाल्न तयार नभएका भेडाहरू गोठालोले हाम फालेपछि आफैँ नदीमा हाम फाल्न तयार हुने एउटा मनोविज्ञान छ, त्यो हो मालिकप्रतिको विश्वास ।
यस प्रसंगलाई नेपाली राजनीतिमा जोडेर हेर्दा मनासिव देखिन्छ । कुनै बेला राणा र राजतन्त्रका विरूद्ध नेताहरूले बोल्दा, सडक छेउ उभिएर जनताहरूले हेर्ने गर्थे । त्यतिमात्रै होइन माओवादीका नेता प्रचण्ड र बाबुरामले आह्वान गरेको जनयुद्धमा मर्न र मार्नसमेत तयार भएको विगत ताजैछ । तर, विगतको विरासतका हिमायतीहरूको अवस्थाबारे भनिरहनु पर्दैन ।
आज समय र परिस्थति बदलिएको छ । एकाध वर्ष पहिलेको अवस्था आज छैन । समाजमा इमान्दार, नैतिकवान मान्छेको खडेरी छ । मुलुकले राजनेता पर्खिरहेको छ । राजनीतिक नेतृत्वप्रति जनताको आक्रोश र आलोचना तीव्र छ । जनताले नेतासँग विश्वास गरिरहेको देखिँदैन । बरु उल्टै नेतालाई शंका र उपशंकाको घेरामा राखिरहेका छन् । आज नेताहरूले समाजवादको नारा लगाइरहँदा र समाजवादको भाषण गरिरहँदा जनताले पत्याइरहेको अवस्था छैन । नेताले गर्ने समाजवादका कुरा सुनेर हाँसोमा उडाइरहेका छन् ।
यहिनेर यस्तो अवस्था किन आयो, नेताहरूले समाजवाद जस्तो महत्त्वपूर्ण र विशिष्ट विचारका कुरा गर्दा शंका गर्ने वातावरण कसका कारण सिर्जना भयो ? यसबारे नेताहरूले समीक्षा गर्नुपर्छ कि पर्दैन ? जरूर पर्छ । तर, खासगरी कम्युनिष्ट नेताहरू समीक्षा गरेर अगाडि बढ्नुपर्छ भन्नेमा देखिदैनन् ।
हामीले बढो दुःख, संघर्ष र बलिदान गरेर वर्तमान व्यवस्था स्थापना गरेका हौं भन्ने नेताहरूको पक्षपात, जनघात, राष्ट्रघात, भ्रष्टाचार, टुटफुट, आडम्बर, दम्भका बारेमा जनता जानकार छन् ।
अर्को कुरा हाम्रो देश समाजवादी शासन व्यवस्थाको अभ्यासमा छ भन्ने कुरा जनताले भुल्नु हुँदैन । जनता निराश र आत्तिहाल्ने अवस्था आइसकेको छैन । समाजवाद स्थापना हुने पनि यस्तै संटक र संघर्षका बीचबाटै हो भन्ने कुरा जान्नुपर्छ । आज देशमा न त नश्लवाद वा कुनै जात, थर र बंशको शासन छ । न त कोही तानाशाह छ । तर, केही सामान्तवादी अवशेषहरू भने बाँकी छन् । साथै केही नयाँ लुटका तरिका देखा परेका छन् । जस्तोः मिटरब्याज । मिटरब्याज जस्तो अपराधका कारण गरिब जनता मर्न बाध्यछन् ।
यसरी हेर्दा समाजको संरचना बदलिसकेको छैन भन्ने देखिन्छ । हाम्रो समाजमा वर्गीय शोषणका श्रीङ्खला जारी छन् । समाजले काचुली फेरिसकेको छैन । मान्छेले मान्छेमाथि शोषण गरिरहेको छ । विभेद गरिरहेकै छन् । होचो, उचो देखिरहेकै छन् । यस खालका प्रवृत्ति आर्थिक समस्यासँग जोडिएका छन् । कतिपय राजनीतिक, सामाजिक र साँस्कृतिक पक्षसँग पनि जोडिएका छन् ।
आजको आवश्यकता भनेको नेताहरू सच्चिने हो । विगतबाट पाठ सिकेर अगाडि बढ्ने हो । नयाँ दल खोलेर या पार्टी विभाजन गरेर नेतृत्वमा बस्ने बेला होइन । यो बेला भनेको समाजवादको जग हाल्ने बेला हो । समाजवादका ठूल—ठूला गफ हानेर समाजवाद हासिल हुँदैन । पार्टीका राजनीतिक प्रतिवेदनमा, चुनावी घोषणापत्र र विधानहरूमा राम्रा र सुनौला नारा लेखेर मात्र समाजवाद आउदैन । यस्तो पाराले न त देश बन्छ, न कम्युनिष्ट आन्दोलनको रक्षा र विकास हुन्छ ।
आज वर्तमान व्यवस्थाका विरुद्ध सुनियोजित र षड्यन्त्र पूर्वक अभियान सञ्चालन भइरहेका छन् । यसका बारेमा मुलतः नेताहरूले समीक्षा गरेर अगाडि बढ्नुपर्ने हो । आज देशभर अराजकता, अस्थिरताका स्वरहरू बढिरहेका छन् । यो किन भइरहेको छ, यस्तो हुनुको मुख्य जिम्मेवार को हो, यो उकुसमुकुस कहिलेसम्म रहन्छन्, भन्ने चिन्ताका सवालहरू छन् । वर्तमान समस्या र समधानका केही ज्वलन्त र अपरिहार्य काम छन् ।
जसरी भेडा बाख्राको मालिकले पानीमा पस्ने जोखिम मोल्यो । त्यसरी नै राजनीतिक नेतृत्वले वर्तमान जोखिमलाई उठाउन गर्नुपर्ने काम, देखाउनुपर्ने त्याग, छोड्नुपर्ने स्थान, उभिनुपर्ने स्थानमा उभिनैपर्छ । मुलुकले लय र गति गुमायो भने त्यसको असर बाँकी युगले भोग्नुपर्ने हुनसक्छ । नेता सच्चिन अर्को चुनाव कुर्नुपर्छ । अर्को चुनावसम्म मुख्य दलहरूले हामी सच्चियौं, हामी अर्को गल्ती गर्दैनौं भनेर प्रतिबद्धता जनाउनुपर्छ । मुख्य दलहरूले आफ्ना बेलगाम नालायकी र लाचारीहरूमाथि निर्मम समीक्षा गरेर अगाडि बढ्नुपर्छ ।
आज जताततै निराशा छ । आशावादलाई मार्ने काम हुँदैछ । अभाव र दुःख छन् । जो समाधानरहित छैनन् । जनताहरू वर्तमान नेतृत्वसँग धेरै अपेक्षाकृत देखिदैन । यतिबेला किसान आन्दोलनमा छन् । डिडिसीले किसानहरूको दुधको भुक्तानी नदिएपछि सडकमा दुध पोखिरहेका छन् । अर्कातर्फ मिटरब्याज जस्तो अपराधबाट ठगिएका मान्छेहरू सडकयात्रा गरेर काठमाडौँ आएका छन् । यो अवस्था सिर्जना भएकोसम्म हेक्का नराख्ने लाचार नेताहरू केवल सत्ताको लुछाचुडीमा व्यस्त छन् ।
कहालीलाग्दो अवस्था
मिटरब्याज पीडितहरूको अवस्था सुन्दैमा कहालीलाग्दो छ । सामान्य घर व्यवहार चलाउनदेखि वैदेशिक रोजगारीमा पठाउनेसम्मका कामका लागि लिएको कर्जा मिटरब्याजमा परिणत हुँदा परिवारको विचल्ली भएको छ । घरखेत साहुको बन्दकीमा छ । केही पीडितहरूले आत्महत्यासमेत गरिसकेका छन् । ऋण गरेर वैदेशिक रोजगारमा रहेकाहरू घर फर्किन पाएका छैनन् ।
यहीबेला समाजवादको नारा र भाषण गर्ने कम्युनिष्ट नेता प्रचण्डको नेतृत्वमा सरकार छ । गजब त के भने प्रचण्ड प्रधानमन्त्री, एकीकृत समाजवादीका नेता डा. बेदुराम भुसाल कृषिमन्त्री यहिबेला किसानहरूले दूधको मूल्य नपाएको भन्दै सडकमा दूध पोखिरहेका छन् । दुग्ध विकास संस्थानका हाकिमहरू अख्तियारमा तानिदा अदालतको आदेश लिएर कुर्चीमा विराजमान छन् । संस्थानभित्रको व्याप्त भ्रष्टाचार छताछुल्ल हुँदा पनि सम्बन्धित पक्षले प्रभावकारी कदम उठाएको देखिँदैन ।
यही बेलामा खासगरी मिटरब्याजपीडितहरूले अपराधमा संलग्नलाई कारबाही गर्नुपर्ने, मिटरब्याज अपराधविरुद्ध कानून निर्माण गर्नुपर्ने, तमसुक व्यवस्था खारेज गर्नुपर्ने, झुट्टा मुद्दामा गिरफ्तार गरिएका पीडितलाई रिहा गरिनुपर्ने लगायतका माग अघि सारेर लङमार्च गर्दै काठमाडौँ केन्द्रित आन्दोलन जारी राखेका छन् । मिटरब्याजीहरूले फर्जी तमसुक तयार पार्ने गरेको, ऋण भुक्तानीपछि पनि तमसुक नष्ट नगरेको र त्यसैका आधारमा मुद्दा दायर गर्ने गरेको पीडितहरूको भनाइ छ ।
यता सरकारले २०७९ भदौमा बनाएको कार्यदले १२ बुँदे रिपोर्ट सरकारलाई बुझाएको थियो । जसमध्य राजनीतिक प्रतिबद्धता आवश्यक छ भनिएको थियो । राजनीतिक दलहरूले मिटरब्याजीबाट चन्दा र आर्थिक सहयोग नलिने प्रतिबद्धता जनाउनुपर्ने भनिएको थियो । कार्यदले पेश गरेको यो सुझाव कति लज्जाबोध हुने खालको छ । राजनीतिक दल र नेताहरू बिचौलिया, दलाल र घुसखोरहरूबाट पालित पोसित छन् भनेर विभिन्न रिपोर्टहरूले भनिरहँदा पनि सत्तासिन दलहरुलाई लाज लागेको छैन ।