Logo
Logo

लकडाउन : काठमाडौं उपत्यका सुनसान


- दृष्टि न्युज/संवाददाता

0
Shares


काठमाडौं, ११ चैत । विश्वव्यापी फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९)को सम्भावित संक्रमणलाई ध्यानमा राखी सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ ।
कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको सोमबार साँझ बसेको बैठकले कोभिड–१९ को संक्रमण रोकथा तथा नियन्त्रणका लागि मंगबाल आज बिहान ६ बजेदेखि १८ चैत १८ सम्म ‘लकडाउन’ गर्ने घोषणा गरेको थियो ।
सरकारले नेपालमा फ्रान्सबाट आएकी १९ वर्षीया युवतीमा कोरोना भाइरस संक्रमण देखिएपछि अरुलाई नसरोस् भन्नाका लागि सङ्क्रमण रोग ऐन २०२० को दफा २ को उपदफा (२) बमोजिम लकडाउन गर्ने निर्णय गरेको हो ।
‘लकडाउन’सँगै औषधि, खाद्यवस्तु खरीदजस्ता अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाट बाहिर निस्कन नपाउने व्यवस्था गरिएको छ ।
यस्तै अनुमतिप्राप्त सवारी साधन, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक अन्य निजी तथा सार्वजनिक सवारी साधन आवतजावतमा पूर्ण रोक लगाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता, प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले सरकारले लकडाउन गरेसँगै काठमाडौँ उपत्यकाका सडकमा एकदमै कम मात्रामा सवारी साधन चलेको बताए । उनले भने, ‘लकडाउन गरेसँगै अत्यावश्यक र पास लिएका सवारी साधनबाहेक अन्य सवारी साधन चलेका छैनन् ।’
सरकारले अत्यावश्यक कामबाहेक अन्य व्यक्ति घरबाट निस्कन निषेध गरेसँगै बाहिर हिँड्ने मानिसको संख्यामा नगण्य छ । लकडाउन उलंघन गरेमा ६ महिनासम्म कैद र रु ६०० सम्म जरिवाना वा दुवै हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्