सामान्य हिसाबले भन्दा संस्कृति भनेको समाजको चेतना, सोच्ने तरिका, तदनुकूलका व्यवहार र कामहरू हुन् । जुन एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण हुँदै जान्छ ।
त्यसभित्र हाम्रा खानपिन, गीतसंगीत, चाडपर्व, रीतिथिति, कला साहित्य र बसाई उठाइ पर्दछ । त्यतिमात्र होइन, उत्पादन पद्धति, सामाजिक परिस्थिति र राजनीतिक विचार पनि संस्कृतिकै एउटा अंग हो ।
यस्ता सांस्कृतिक पक्षहरू मूलतः मान्छेले विरासतका रुपमा प्राप्त गर्दछ भने केही आफैँले विकास पनि गर्छ । संस्कृतिमा हुने सुधार वा विकास आफू बाँचिरहेको समाजको भौतिक परिस्थितिले निर्धारण गर्ने हो । अर्थात् भौतिक यथार्थतासँग सामाजिक चेतना र संस्कृतिको ठूलो सम्बन्ध हुन्छ ।
यसै सन्दर्भमा संस्कृति निर्माणमा वाम आन्दोलनको भूमिकाबारे चर्चा गर्न खोजिएको हो । वाम आन्दोलनले संस्कृतिको संरक्षण गर्ने हो कि यसको विकास गर्ने हो ? अथवा कस्तो प्रकारको विकास गर्ने हो ? निक्र्यौल गर्ने बेला खस्कँदै छ ।
वाम आन्दोलन अझै सही निष्कर्षमा पुग्न सकेको छैन । पूरै बरालिएको छ । अब पनि वाम आन्दोलन अगाडि बढ्न नसके नेपाली वाम आन्दोलन बुर्जुवा वर्गमा पतन हुने कुरामा कुनै शंका छैन । यसको पर्याप्त संकेतहरू सतहमा दिनप्रतिदिन बढिरहेको छ ।
हाम्रो परम्परागत संस्कृति निश्चितरुपले परिवर्तन भएका छन् । तर, संस्कृतिमा आउने सबै परिवर्तनहरू विकास होइनन् । हामी हेर्दै छौँ, हाम्रा मौलिक खानामा परिवर्तन भएर त्यसको ठाउँ विदेशी परिकारहरूले लिएको छ ।
हाम्रा परम्परागत गीत–संगीत कमजोर हुँदै हामी ¥यापमा पुगेका छौँ । पिर्का राखिने ठाउँहरू डाइनिङ टेबलले ओगटेको छ । साना पसलहरूको संस्कृतिलाई ठूलाठूला डिपार्टमेन्टले विस्थापित गर्दैछ, त्यस्ता डिपार्टमेन्टहरूलाई फेरि अनलाइन सपिङहरूले सिध्याउँदैछन् । रेस्टुरेण्ट संस्कृतिलाई खानेकुरा अनलाइन अर्डरले जितिसक्यो । ज्ञान र तथ्यहरू बिक्रीका सामान बने । यर्थाथतालाई हल्लाले छोप्ने प्रवृत्ति बढेको छ । विद्धता र क्षमतालाई सस्तो लोकप्रियताले गाँजेको छ ।
नयाँ पुस्ताले राष्ट्रकवि माधव घिमिरे चिन्दैन, भेलु बाजेलाई आदर्श मान्छ । श्रम संस्कृति धराशायी बन्दैछ । रातारात धनी हुने लालसा हाम्रो संस्कृतिको एउटा अंग बन्दैछ । परम्परागत धर्म र आयातित धर्मका बीचको प्रतिस्पर्धा हुँदैछ । समाजका अगुवाहरूप्रतिको विश्वास डरलाग्दो ढंगले घट्दो छ । एक प्रकारले भन्ने हो भने हामी एउटा विकृत वर्णशंकर समाजतर्फ अगाडि बढ्दैछौँ ।
यो बेलामा नेपाली वाम आन्दोलनको भूमिका के हुनुपर्छ ? यसका सन्दर्भमा वाम आन्दोलन सही निष्कर्षमा अझै पुग्न सकेको छैन । यो पूरै बरालिएको छ, अथवा भौँतारिएको छ । यो प्रश्नको सही समाधानले मात्र अबको वाम आन्दोलन अगाडि बढ्न सक्छ । अन्यथा, नेपाली वाम आन्दोलन बुर्जुवा वर्गमा पतन हुने कुरामा कुनै शंका छैन । यसको पर्याप्त संकेतहरु सतहमा दिनप्रतिदिन बढिरहेको हामी अनुभव गर्न सक्छौँ ।
हामी वाम आन्दोलनका नेताहरूबाट सुन्छौँ, पुँजीवादी क्रान्ति सम्पन्न भइसक्यो, अब समाजवादतर्फ अगाडि बढ्नुपर्छ । एउटा प्रगतिशील संस्कृतिको निर्माण समाजवादले मात्र गर्न सक्छ ।
अब यहाँ प्रश्न उठ्छ, हामीले स्थापना गर्ने समाजवादले कसलाई विस्थापित गर्ने हो ? पुँजीवादलाई ? हामीलाई थाहा छ, नेपाल पुँजीवादमा प्रवेश गरिसक्यो । तर पुँजीवादी संस्कृति किन हुर्कन सकेन ? पुँजीवादी समाजमा कलकारखाना हुन्छ, उत्पादन गर्ने यन्त्र हुन्छ, मजदुर हुन्छ ।
पुँजीपति र श्रमिकका बीचमा संघर्ष हुन्छ । नेपालमा अहिले यो परिस्थिति छ ? निःसन्देह भन्न सकिन्छ, अहिले नेपालमा कारखाना मालिक र श्रमिक वर्गको बीचमा अनिवार्य हुनुपर्ने संघर्ष प्रमुख छैन । नेपालका वामपन्थीहरू अहिले पनि उद्यमशील पुँजीवादकै पक्षमा छन् । उनीहरू कारखाना मालिकलाई निषेध होइन, संरक्षणका लागि प्रयत्नशील देखिन्छन् ।
हाम्रो नेपालको अहिलेको लडाइँ कारखाना मालिक र श्रमिक वर्गका बीचमा होइन भने कोसँग छ त ? यो निरूपण गरिनुपर्ने विषय हो । दलाल पुँजीसँग अथवा वित्तीय पुँजीवादसँग ? अथवा यो भन्दा अर्को कुनै आउन लागेको विश्व व्यवस्थासँग ? जुन पुँजीवादभन्दा पनि खतरनाक हुन्छ ।
यसका सम्बन्धमा अलिकति चर्चा गरौँ । जोसँग जमिन हुन्छ, उसैसँग सम्पत्ति र राजनीतिक सत्ता हुने व्यवस्थालाई सामन्तवाद भनियो । जब यो उत्पादन पद्धतिमा फेरबदल भयो, कारखाना मालिकसँग सम्पत्ति थुप्रँदै गयो र यसले राजनीतिक सत्ता पनि प्राप्त ग¥यो । जसलाई हामी पुँजीवादी सत्ता भन्यौँ । सामन्तवाद र पुँजीवादले तदनुकूल नै आफ्नो संस्कृति निर्माण गरे । आज सम्पत्ति कहाँ थुप्रँदै छ ? कारखाना मालिकसँग ? उत्पादन र सेवाका क्षेत्रमा सम्पत्ति थुप्रने त कुरै छोडौँ, उनीहरू झन्झन् संकटमा छन् ।
आज विश्वको सम्पत्ति कारखाना मालिकहरूसँग होइन, प्रविधिका मालिकहरूसँग थुप्रिएको छ । लेरी पेज (गुगल), लेरी इलिसन (ओराकल), विल गेट्स (माइक्रोसफ्ट), स्टेभ बाल्मर (माइक्रोसफ्ट), जेफ बेजोस (एमाजोन), मार्क जुकरवर्ग (इन्टरनेट) संसारका सबभन्दा धनी मान्छेहरू हुन् र यिनीहरू प्रविधिको व्यापार गर्दछन् ।
सूचना र प्रविधिको माध्यमद्वारा उत्पादन र सेवा व्यवसायलाई समेत नियन्त्रण गरिरहेका यी धनाढ्यहरू आजका विश्व सम्राट्हरू हुन् । यिनीहरूको नियन्त्रणमा संसारभरका सरकार मात्र होइन, आम मानिसहरू समेत जोडिएका छन् । सूचना र प्रविधिले संसारभर एउटा नयाँ प्रकारको उपनिवेश निर्माण हुँदैछ । उनीहरू संसारभर आफ्नो साम्राज्य कायम गर्न एउटा अलग प्रकारको संस्कृति निर्माण गरिरहेका छन् र त्यो भइरहेको छ ।
त्यसकारण हाम्रो विश्व एउटा अलग प्रकारको र प्रविधिको नियन्त्रणमा रहने विश्व व्यवस्थातर्फ अगाडि बढिरहेको छ । के यो पुँजीवादकै अर्को स्वरुप हो ? अथवा केही बुद्धिजीवीहरूले भन्ने गरेको जस्तो यो प्रविधि सामन्तवाद हो ?
यसरी संस्कृतिमा अझै सामन्तवादको छिटा कायम रहेको हाम्रो जस्तो मुलुकमा जहाँ पुँजीवादी संस्कृतिको पूर्ण विकास नहुँदै प्रविधिमा आधारित नयाँ विश्व व्यवस्थाले निर्माण गरेको अर्को संस्कृति व्यहोर्न अभिसप्त हुँदैछ । र, माथि उल्लेखित कारणहरूले हाम्रो समाज एउटा वर्णशंकर संस्कृतितर्फ उन्मुख देखिन्छ । त्यसै भएर त भेलुबाजेहरू जन्मिरहेका छन् ।
कुनै विषयवस्तुमा हाम्रो समाजको धारणा कस्तो बनाउने हो, त्यो हाम्रो हातमा छैन । यो काम सूचना र प्रविधिको माध्यमद्वारा अमेरिकाको आलिसान भवनमा बसेर अरू कसैले गरिरहेको हुन्छ । यो प्रवृत्तिको विरुद्धमा हाम्रो निर्णय हामीले गर्ने संस्कृतिको निर्माण गर्नु चानचुने कुरा होइन । यसलाई नै प्रगतिशील र समाजवादी संस्कृति भनिन्छ । यस सन्दर्भमा वामपन्थीहरू कति छलफलमा छन् ?
आज वामपन्थीहरू कम्युनिष्ट पार्टीको झन्डा ओढेर पुराण र यज्ञ लगाउन उद्यत छन् । रामनामी ओड्नेमात्र होइन, रामको जन्मभूमि खोज्न तागत खर्च गरिरहेका छन् । सामन्तवादले विरासतमा छोडेको संस्कृति भत्काउने होइन, संरक्षणमा दत्तचित्त देखिन्छन् ।
सूचना र प्रविधिका नाममा आम मान्छेलाई भुलाउने नयाँ प्रतिगामी प्रयत्नका सम्बन्धमा बेखबर पाइन्छ । त्यसबाहेक सूचना र प्रविधिलाई आत्मसात् गर्ने नाममा भेलुबाजे पथमा पनि त्यत्तिकै अग्रसर भएको देखिन्छ । सत्यतथ्य होइन, लोकप्रिय हुने रहरमा वाम आन्दोलन फसेको छ । पुरानो संस्कृति भत्काएर त्यसको ठाउँमा नयाँ प्रगतिशील संस्कृति निर्माण गर्ने काम लोकप्रिय भएर गर्न सकिँदैन । यो पनि संघर्षकै काम हो र यसको पनि वर्ग पक्षधरता हुन्छ । लोकप्रिय आन्दोलनले वर्ग पक्षधरता बोक्न सक्दैन ।
हाम्रो दैनिक जीवनमा, सामाजिक चेतनामा, राजनीतिक व्यवस्थामा, उत्पादन पद्धतिमा, वर्ग पक्षधरताको आन्दोलनमा र हाम्रो समग्र संस्कृतिमा रहेका सामन्ती छिटाहरू, पुँजीवादी संस्कृतिका प्रभावहरू र सूचना र प्रविधिका माध्यमद्वारा आम मान्छेलाई पारेको गलत प्रभावहरूबाट जोगाउँदै प्रगतिशील आचरण र व्यवहारहरू विकसित गर्नका लागि वाम आन्दोलनले जोखिम उठाउनै पर्दछ ।
यदि, यो जोखिम उठाउन सकिँदैन भने हामी समाप्त हुन तयार हुनु पर्दछ । प्रगतिशील संस्कृतिको निर्माण बेगर समाजवादी आन्दोलन अगाडि बढ्न सक्दैन । यसका लागि काम गर्न तयार बनौँ । ०००