Logo
Logo

अर्थमा कांग्रेस कर्मचारीको छटपटी


2.2k
Shares

काठमाडौं । माओवादीका नेता वर्षमान पुनले अर्थमन्त्रालय सम्हालेपछि कर्मचारी प्रशासनमा रहेका सहसचिव टोकराज पाण्डेको छटपटी शुरु भएको छ । लामो सयम यातायात व्यवस्था विभागमा रहेर नक्कली लाइसेन्स वितरणमा मुछिएका पाण्डेलाई अर्थमन्त्रालयमा लट्री परेपछि विमानस्थल भन्सार कार्यालय हुँदै मन्त्रालय प्रवेश गरेलगत्तै सत्ता समीकरणमा आएको फेरबदलले छटपटी शुरु भएको हो ।

गत आइतबार दिउँसो उनी प्रधानमन्त्री कार्यालय र गृहमन्त्रालय पुगेका थिए । ‘माओवादीसँग काम गर्न सकिदैन सरुवा मागेर गृहमन्त्रालय जानुछ’, पाण्डेले आफूनिकट रहेका कर्मचारीलाई भनेका थिए । गृहमन्त्रालय गएर नक्कली लाइसेन्सको छानबिन रोक्ने उनको दाउ रहेको छ । त्यसका लागि सचिवलाई भेट्ने भन्दै गृहमन्त्रालय पुगे पनि आइतबार सचिव दिनेश भट्टराई व्यस्त रहेकाले भेटघाट गर्न पाएनन् ।

अर्थमन्त्री पुनले पार्टी र प्राविधिक रुपले नमिल्ने कर्मचारीहरूलाई सरुवा गर्ने तयारी गरिसकेका छन् । बुधबार (फागुन २३ गते) पदभार ग्रहण गरेपछि मन्त्रालयको सुवर्ण हलमा भएको कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पुनले प्राविधिक रुपले नमिल्ने कर्मचारीलाई सरुवा गर्ने बताएका थिए ।

उनले कर्मचारीहरूको सबै विभाग, निकायको ब्रिफिङ लिएपछि सरुवाको निर्णय लिने बताएका छन् । मन्त्री पुनले धमाधम ब्रिफिङ लिन सुरु गरिसकेका छन् ।

मन्त्रालयमा अहिले सबैभन्दा धेरै नेपाली कांग्रेसनिकट कर्मचारी छन । मन्त्रालयका २ सचिव मध्ये दुबैजना माओवादीनिकट होइनन् । अर्थसचिव कृष्णहरि पुष्कर कांग्रेसनिकट हुन् भने डा. रामप्रसाद घिमिरे एमालेनिकट हुन् ।

स्रोतका अनुसार मन्त्री पुनले अर्थसचिव पुष्करलाई तुरुन्तै सरुवा गर्न लागेका छन् । यस्तै, पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएका राजस्व सचिव घिमिरेको भने पद जोगिने देखिएको छ । एमाले पनि सरकारमा सहभागी हुँदा उनलाई सहज भएको हो ।

माओवादीनिकट कर्मचारीहरूले अब मन्त्रालयमा कुन सचिव ल्याउने भन्ने विषयमा छलफलसमेत सुरु गरिसकेका छन् । स्रोतका अनुसार विश्वासको मत लिएर कर्मचारी सरुवा गर्ने कि नलिइकन सरुवा गर्ने भन्ने विषयमा छलफल भैरहेको छ ।

मन्त्रालयको महत्वपूर्ण दुई विभागमा हाल काग्रेसनिकट सहसचिव रहेका छन् । आन्तरिक राजस्व विभाग महानिर्देशकमा सहसचिव भुपाल बराल छन् भने भन्सार विभाग महानिर्देशकमा शोभाकान्त पौडेल छन् ।

सहसचिव बराल सिनियर सहसचिव हुन् । उनी बैशाख महिनामै सचिवमा बढुवा हुँदैछन् । यसकारण उनी आफैंले विभागबाट सरुवा माग्ने बताइएको छ ।

मन्त्री पुनले हालको राजस्व संकलनलाई बढाएर १० प्रतिशतबाट २० प्रतिशत पुर्याउने बताएका छन् । अहिले गत आर्थिक वर्ष २०७९÷०८० भन्दा १० प्रतिशतले राजस्व संकलनमा वृद्धि छ । यो आकँडालाई २० प्रतिशत पुर्याउने मन्त्री पुनको योजना छ ।

यसैगरी मन्त्रालयको बजेट महाशाखामा सहसचिव उत्तरकुमार खत्री छन् । उनी पनि कांग्रेसनिकट हुन् । प्रशासन महाशाखामा रहेका पाण्डे पनि विवादित कर्मचारी भएकाले उनको पनि सरुवा तयारी भएको स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्