बैतडी, १४ चैत । भारतबाट फर्किन लागेका दुई सय जना नेपाली नागरिक झुलाघाट सीमानामा अलपत्र परेका छन् । गएको तीन दिनदेखि लकडाउनका कारण उनीहरू बैतडीसँग सीमा जोडिएको भारतको झुलाघाट बजारमा अलपत्र परेका हुन् ।
बैतडीको दशरथचन्द नगरपालिका–१, गुरुखोला, घर भएका गजेन्द्र भट्टले आफुहरू तीन दिनदेखि झुलाघाटमा अलपत्र अवस्थामा रहेको बताए । भट्टले भारतमा पनि लकडाउन भएका कारण भारतीय प्रहरीले समेत आफूहरुलाई देख्ने बितिकै कुटपिट गर्ने गरेको गुनासो गरे ।
सोही ठाउँकै निवासी रमेश भट्टले भारतीय प्रहरीले देख्ने बितिक्कै कुटपिट गरिरहेकोले आफूहरु एउटा होटेलको कुनामा लुकेर बसेको जानकारी दिए । अलपत्र परेका नागरिक भारतीय प्रहरीको डरले, महाकाली नदीे किनारको जंगलमा लुकेर बसेका उनले बताए । उनले भने, ‘भारतमा लकडाउनका कारणे होटलहरू बन्द रहेकोले तीन दिनदेखि भोकभोकै बाहिरै सुत्ने गरेका छौँ ।’ उनीहरू भोकभोकै जंगलमा खुल्ला सुत्नुपर्दा झन् बिरामी भइने चिन्ता थपिएको छ । यस्तो अवस्थामा पनि जिल्ला प्रशासन कार्यालय तथा जनप्रतिनिधिहरूले आफूहरूलाई नेपाल पु¥याउन केही पहल नगरेको भन्दै उहाँहरूले आक्रोस पोखेका छन् ।
बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले भने भारतको झुलाघाटमा अलपत्र नागरिकको उद्धारका लागि पहल थालिरहेको बताएका छन् । दुई दिनदेखि भारतको पिथौरागढ जिल्लाका प्रमुख अधिकारी (डिएम) लाई बन्द गरिएको नाका खोल्न आग्रह गरिएको बताए ।
जिल्ला प्रशासन कार्यालय बैतडीले दुबै देशले सीमा नाका बन्द गरेकोले कुनै एक देशले चाहेर मात्रै नाका खोल्न सम्भव नभएकोे जनाएको छ । बन्द नाका खोल्नका लागि ढिलाई हुँदा धेरै नागरिक असुरक्षित रुपमा महाकाली नदीमा ट्युबको सहायताले नेपाल फर्केका पाइएको छ् ।
यसैबीच ‘लक डाउन’ जारी रहेको बेला भारतबाट आएर अलपत्र परेका ६४ जनाको उद्धार गरिएको छ । बैतडीको एकमात्र नाका झुलाघाट बन्द भएपछि ट्युबको सहायताबाट नेपाल आएका उनीहरूको उद्धार गरिएको हो ।
खोचलेक प्रहरी चौकीका इञ्चार्ज शंकरदत्त भट्टले दोगडाकेदार गाउँपालिका, खोचलेक प्रहरी चौकी र दोगडाकेदार गाउँपालिका वडा नं ४ को संयुक्त पहलमा उनीहरूरुको उद्धार गरिएको जानकारी दिए । महाकाली नदीमा ट्युबवाट आएका बझाङ, डोटी र बैतडीको सिगासका स्थानीय बासिन्दाको उद्धार गरिएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।
‘लक डाउनपछि नेपाल छिरेका नागरिकहरू दोगडाकेदार गाउँपालिका ४ को बसाली क्षेत्रमा अलपत्र परेका थिए । ४२ जनाको बुधवार राती २२ जनाको बिहीवार उद्धार गरिएको छ । दोगडाकेदार ४ का वडाअध्यक्ष सुरेन्द्रप्रसाद भट्टले उनीहरूलाई जीप, टिपर र ट्रकमा राखेर सम्बन्धित स्थानीय तहको जिम्मा लगाईएको उद्धार गरिएका उनीहरुलाई सम्बन्धित स्थानीय तहले क्वारेन्टाइनमा राख्ने जानकारी दिए । स्थानीय प्रशासनले ‘लक डाउन’का बेला असुरक्षित रुपमा ट्युबको माध्यमबाट नआउन आग्रह छ । रासस