स्वभाविक संवेदनशीलताका कारण महिलाहरूको अनुभूति पुरुषहरूको भन्दा गहिरो हुन्छ भन्न अप्ठ्यारो मान्नु पर्दैन । त्यस्तै मातृत्व लगायतका विशिष्ट जिम्मेवारीका कारण जीवनको अनुभव पनि महिलाहरूकै बढी हुन्छ । त्यसैले, अवसर पाउँदा महिलाका अभिव्यक्तिमा गहिराई, गाम्भिर्य र लालित्यको बढी अपेक्षा हुनुलाई अस्वाभाविक मान्नु पर्दैन ।
लोकसाहित्य, लोकगीतलगायत मौलिक कला श्रृजनाले भरिएका विभिन्न लोकसंस्कृतिमा महिलाका योगदानलाई हेर्ने हो भने यो सत्य त्यसै उजागर हुन्छ । तर, पितृसत्तावादी सोंच, परम्परा र व्यवहारका कारण युगयुगसम्म दोस्रो दर्जाका नागरिक भएर बाँच्नु परेका महिलाहरू अझै पनि कलासहित्यका औपचारिक क्षेत्रमा ओझेल परेका छन् ।
इतिहासमा पूर्वीय महिला सर्जकका कथाहरू भेटिए पनि वा पौराणिक कथामा त्यस्ता विदूषीहरूको उल्लेख भएपनि ‘पर्ल एस् बक’ जस्ता सफल पाश्चात्य महिला सर्जकहरूको कथासमेत त्यही एक शताब्दीभन्दा धेरै पुरानो छैन । उनको उपन्यास ‘द गुड अर्थ’ले १९३१ मा नोबेल पुरस्कार पाएको हो ।
नेपालकै सन्दर्भमा पनि दुई सय वर्ष अघिका केही मल्लकालीन रानीहरूले कविता, गीत, भजन नलेखेका हैनन् । त्यो बेलाको भाषा नेपालभाषा थियो, राज भाषाको रुपमा । पछिसम्म पनि कति ठाउँमा नेवारीमा भजनको रुपमा विभिन्न टोलमा गाउने गरिन्थ्यो ।
‘रैति’का हैसियतका महिलाहरूबाट पनि विभिन्न रचनाहरू रचित भएको हुनुपर्छ । तर, महिला लेखनको इतिहास पल्टाउँदा ज्यादै नै कम महिला सर्जकका नाम मात्र अभिलिखित छन् ।
करिब सय वर्ष अघि मेरै हजुरआमा पूर्णमाया पनि गीत, कविता लेख्नु हुन्थ्यो । तर, छापाको कुनै बन्दोबस्त नभएको त्यो बेला न उहाँको कविता छापियो न कसैले उहाँलाई कविको रुपमा चिन्यो ! घरभित्रैका फुफु, दिदीहरूले गाएको गीत कसले लेखेको रहेछ भनेर खोज्दै जाँदा मात्र मैले थाहा पाएकी हुँ ।
सात सालको परिवर्तनपछि महिला सर्जकहरू फाट्टफुट्ट देखा पर्न थालेपनि, संख्या कम नै थियो । मैले ‘सम्पूर्ण आकाश’ स्तम्भ लेख्न सुरु गरेको तीन दशक मात्र पुग्न लागेको भएता पनि त्यो बेलासमेत कलम बोक्ने महिलाहरू कमै भएजस्तो लाग्थ्यो । तर, समय त परिवर्तनशील छ नै ।
आजसम्म आइपुग्दा बल्ल महिला सर्जकको कमी हिजोजस्तो कहालिलाग्दो लाग्न छोडेको छ । पुरुषको दाँजोमा अझै पनि संख्यामा कम नै होलान् । तर, गुणात्मक हिसावले हेर्दा महिला सर्जकहरू आफ्नो विशिष्ट स्थान बनाउन सफल भइसकेका छन् ।
यो वर्ष ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्षमा धेरै ठाउँमा धेरै किसिमका महिला भेला र गोष्ठीहरू भए । ती मध्येकै एक उल्लेखनीय घटना थियो ‘नेपाल पिक्चर लाइब्रेरी’ टीमको आयोजनामा नेपाल कला परिषदमा भएको महिला लेखकहरुको उत्सव– महिला लेखकहरूका एकदिने पुस्तक मेला । महिलाद्वारा लेखिएका धेरै पुस्तकहरूको प्रदर्शन भएको थियो, त्यो मेलामा ।
उत्सव साँच्चै नै उत्सवजस्तै थियो । महिला लेखकहरू उत्साहित देखिन्थे । आफ्ना कृतिहरूसँगै बसेर तिनका चर्चा परिचर्चामा रमिरहेका थिए । प्रत्यक्ष रुपमा लेखक र पाठकको बीच अन्तरक्रिया भइरहेको थियो । पुस्तकहरू बिक्री पनि भरहेका थिए । महिला लेखकहरू मात्र होइन पुस्तकप्रेमि पुरुषहरूको पनि राम्रै उपस्थिति थियो ।
त्यो भव्य र सभ्य पुस्तक मेलाका सबै सहभागीसँग चित्त बुझुन्जेल गफ गर्न भने भ्याइनँ । किनकि, म आफै पनि एक लेखककै हैसियतमा त्यहाँ उभिनु परेको थियो । कुनै सहयोगी नलिइकन गएकोले पनि म आफ्ना डेढ दर्जन जति कृतिहरूसँग बाँधिएकी थिएँ । ती कृतिहरूले नयाँ साथीहरूसँग मेरो परिचय गराइरहँदाको त्यो क्षणमा म जीवनप्रतिकै कृतज्ञतामा डुबिरहेकी थिएँ ।
मानव जीवन लिएर जन्मिनुको एउटा मज्जा– आफैजस्ता मानिससँग मात्र हैन, सबै प्राणीहरुसँगको अन्तरनिर्भरताको सत्यलाई बुझ्न पाउनु पनि हो । महिला सर्जकहरूको उत्सवको त्यो माहोलमा अत्यन्त सुन्दर अन्तरपुस्ता सम्बन्ध उजागर भइरहेको थियो ।
तीन पुस्ताकै सर्जकहरूको उपस्थिति थियो । अग्रणी पुस्ताकी एक सर्जक आफन्तको साथमा लठ्ठी टेक्दै पनि आफ्नो पुस्तकको बारेमा सोधिएको प्रश्नको सवाल जवाफ दिल खोलेर गरिरहेको देख्दा त्यो एउटा खुसीको क्षणमा आफू पनि पुगेको महशुस भयो । समग्रमा सर्जक र पाठकबीचको विशिष्ट सम्बन्ध मुस्कुराईरहेको थियो ।
एउटा सृजनामा कति धेरै असल मनहरूको सहयोग र संयोजन हुन्छ भन्ने कुराको बोध भइरहेको थियो । त्यो मेला आफै नै नयाँ पुस्ताका प्रिय आयोजकहरूको सुन्दर काव्यकृति जस्तो थियो । श्रव्यदृश्य संस्करण सहितको मेरो पहिलो कवितासंग्रह ‘अनुभुतिका थोपाहरू’बारे कुराकानी चलिरहँदा अचानक मनमा प्रश्न आयो– यी कृतिहरू मेरा हुन् कि म यी कृतिहरूको हुँ ?
जब हरेक सर्जकको हरेक कृति सृजनाको क्षणको मात्र हैन– विगत, वर्तमान र भविष्यको संयोजनका उपज हुन्छन्, मानिसका सम्बन्धहरू र तिनका कथाका उपज हुन्छन्, कसरी त्यो ‘मेरो’ मात्र हुन्छ र ? यो प्रश्नले मलाई अचम्मसँग आनन्दित बनाइरहको थियो ।
मेरो पहिलो कविता कृति ‘अनुभूतिका थोपाहरू’ जेब्रा पोइट्री फिल्म फेस्टिबलमा पुग्दा, मुना गुरुङद्वारा अनूदित अर्को कविता संग्रह ‘रात’लाई बेलायतको टिल्टेड एक्सिस प्रेस र हाम्रै ‘सफू’ रातलाई ले ‘नाइट’ का नाममा छाप्दा अनि कथासंग्रह झ्यारखानाको विमोचनमा हामी धेरैका पद्म दाइ– पद्मरत्न तुलाधर भावुक भएर रूँदाको क्षण सम्झन्छु ।
अहिले त्यो पुस्तक खोजिरहेका पाठकलाई दिन नसक्दा, अनि त्यसको अङ्ग्रेजी अनुवाद आउनुपर्छ भनेर चर्चा चलिरहँदा मेरो ‘म’ गह्रौँ हैन, हल्का भइरहेको थियो, पातलिँदै थियो, हराउँदै थियो, र असल मानिसहरुको त्यो समूहमा एकाकार भइरहेको थियो ।
नयाँ पींढिका महिला सर्जकहरूको क्षमता, सीप, ज्ञानको गहिराई, सौन्दर्यबोध र सृजना–प्रयोगमा अचम्मको साहसिलोपना देख्दा गर्व लाग्छ– मान्छे हुनुको गर्व, महिला हुनुको गर्व ।
अघिल्ला पुस्ताहरू बाँच्ने नयाँ पुस्तामा त हो !
यसपालीको पुस्तक मेलामा धेरै पुस्तकहरूले नयाँ दिशा–निर्देश गरिरहेको जस्तो लाग्यो मलाई । नयाँ पींढीका महिला सर्जककहरू पुराना पुस्ताका भन्दा अझै चहकिला छन् । अहिलेका नयाँ पुस्ताका महिलाहरुलाई अध्ययन र देश दुनियाँ घुम्ने अवसर पनि प्राप्त छ । अगाडि बढ्ने बाटो पनि थाहा छ । पितृसत्ताले थिचिएर बस्नुपर्ने बाध्यता कम हुँदैछ ।
कुनैबेला हामीले गाउने समानता र न्यायको गीत अब व्यवहारमा देखापर्दै गएको छ । हामीले त्यो बेला गरेको संघर्षको केही न केही सकारात्मक परिणाम देखा पर्न थालेको छ । नयाँ पींढि झन्झन् अगाडि बढ्न सकोस् शुभकामना ! यस्तो पुस्तक मेलाको सम्पूर्ण टीमलाई धेरै धन्यवाद तथा बधाई !