Logo
Logo

डेरामा अल्मलिएको जिन्दगी


189
Shares

गाउँबाट सहर छिर्नेको लर्को छ । सहर छिर्नेमा धेरै देशका कर्णधार छन् । सपना अनेकौँ । तर, सपनाको पोकाभन्दा समस्याको भारी बढी । तीमध्ये एक हो, डेरा ।

डेराको अर्थ बृहत् होला । तर, सबैले बुझ्ने भनेको पैसा तिरेर अनिश्चित समयको लागि बस्ने अरूको घरको कोठा हो । घरबेटीले कतिबेला निकालिदिन्छन्, टुंगो हुँदैन । सम्झौता नसकिँदै जबरजस्ती निक्लनुपर्छ ।

डेरा खोज्दा, बस्दा र सर्दाको दुःख अनेकन् । घरधनीले दिने टर्चर उस्तै । त्यसैमाथि डेरा पाउन मुस्किल । जस्तो भेटेपनि मन बुझाएर बस्नुपर्ने । निस्कने डेरावाल सामान बाहिर ओसार्दै हुन्छ, अर्को उक्त डेरामा बस्न सामान भित्र्याउँदै हुन्छ ।

कहीँ कतै डेरा भेटिन्छ । तर, डेरवालको स्तर भेटिँदैन । भेटिँदैन प्रतिष्ठा । प्रतिष्ठासँगै जात खोजिन्छ । परिवार खोजिन्छ । विद्यार्थीलाई झनै मुस्किल ।

एउटा उखान छ– ‘नेपाल गयो कपालसँग, बर्मा गयो कर्मैसँग ।’ यो उखान गाउँदेखि सहर आउने विद्यार्थीको जीवनमा मेल खान्छ । समस्यालाई लखेट्दा लखेट्दा सपनाको बाटो नै छुट्छ ।

समाज यस्तै छ, नहुनेलाई हेप्छन्, हुनेका अगाडि झुक्छन् । त्यसैले हाम्रो समाजमा धनीको बन्नेको होड छ । जसरी पनि पैसा कमाउनु छ । घरधनीको मनोदशा पनि यही हो । एउटा दुइटा कोठा लिनेहरूले घरधनीमासु झुक्छन् । सिंगै घर भाडामा लिनेहरूसामु घरधनी झुक्छन् ।

सामान्य सुविधाको माग गर्दा पनि मन नपरे नबस्नुस् भन्ने ठाडो जवाफ पाइन्छ । गुनासो र सुनुवाइ गरिदिने कुनै निकाय हुँदैन । पाहुना आउनसाथ पानी गायब ! शनिबार पनि पानी गायब ! चप्पल गन्छन् । तर, विवशता गनिँदैन !

पाहुना आए कचकच । पैसा दिन ढिला भएपनि कचकच । पानी धेरै चलायो भनेर कचकच । पानी तान्ने मेसिन बिग्रिए कचकच । अझ केटा बसेको ठाउँमा केटी र केटी बसेको ठाउँमा केटा आए भने त कुरै सक्कियो । तर, सबै घरबेटी घमन्डी र हेपाहा मात्र पनि हुँदैनन् । कोही त अभिभावक जस्तै पनि हुन्छन् ।

त्यसैले घरबेटी र डेरावालबीचको सम्बन्धमा हार्दिकता हुँदैन । घरबेटीले प्रायः डेरामा बस्नेलाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्छन् ! डेरावालले कोठामा किला ठोक्दा त घरबेटीको मुटुमै गाडिन्छ ! तर, नगाडिउन पनि कसरी । घर बनाउँदाको दुःख र मेहनत उनैलाई मात्रै थाहा छ ।

यी अनेकन् समस्या नझेल्न अहिले धेरै होस्टेल ‘छात्रावास’ बस्ने गरेका छन् । सहरी इलाकामा होस्टेल व्यवसाय नै बनेको छ । धेरैजसो स्कुल–कलेजहरूले आ–आफ्नै होस्टेल चलाएका छन् । स्वतन्त्र व्यवसायका रूपमा पनि प्रशस्तै सुविधा सम्पन्न होस्टेल खुलेका छन् ।

कोठा खोजेर बस्नुभन्दा महँगो भएपनि होस्टेलमा बस्न केही सजिलो छ । कोठामा सामान जुटाउनु, दिनदिनै यसो भएन र उसो भएनको किचकिच सहनुभन्दा होस्टेल विकल्प भएको छ । तर, होस्टेल सञ्चालक पनि घरबेटी छैनन् ।

पछिल्लो समय होस्टेलमा गम्भीर अपराध पनि बढ्दै गएका छन् । चितवन रत्ननगरस्थित शिशु निकेतन बोर्डिङ स्कुलको होस्टेलमा १४ वर्षीया सालिन पोख्रेलको शंकास्पद रुपमा मृत्युको घटना सेलाएको छैन । उनी झुन्डिएको अवस्थामा भेटिए पनि उनको मृत्युको कारण प्रस्ट भइसकेको छैन ।

उक्त घटना नसेलाउँदै विराटनगरमा एक होटेलमा सञ्चालकको विद्यार्थीमाथि दुर्व्यवहार गरेको भिडियो नै सार्वजनिक भयो । विराटनगर महानगरपालिका–४ मा मुनलाइट गल्र्स होस्टलकी सञ्चालक मधु रेग्मी कट्वालले विद्यार्थीलाई हातपात गरेकी छन् । सार्वजनिक भिडियोमा होस्टेलमा बसिरहेका विद्यार्थीले अग्रिम रकम दिन नमानेपछि उनले विद्यार्थीका सामान कोठाबाट बाहिर समेत फ्याकेकी छन् ।

सामाजिक सञ्जालमा पोस्ट भएको एक भिडियोमा होस्टेल सञ्चालक मधुले एउटा कोठाभित्र बसेका छात्राहरूसँग तीन–तीन हजार रुपैयाँ पेमेन्ट गरिदिन भनेको देखिन्छ । लगत्तै उनी जङ्गिँदै होस्टेलबाट ‘निस्किहाल’ भन्दै जाइलागेको देखिन्छ । त्यही कोठाभित्र रहेका अन्य दुई छात्राले रोक्न खोजेको देखिन्छ तर सक्दैनन् ।

यी दुई घटना अहिले चर्चामा रहेका घटना मात्रै हुन् । होस्टेलमा दुर्व्यवहार हुने र विद्यार्थीको मृत्यु हुने घटना धेरै छन् । केही समयअघि सुर्खेतको वीरेन्द्रनगरमा विद्यार्थीको मृत्यु भएपछि उषा बाल बाटिका सेकेण्डरी स्कुल र स्कुलको होस्टेलमा आगो नै लगाइदिएका थिए ।

कतिपयले बालबालिकालाई राम्ररी पढोस् भनेर धेरै खर्च गरेर होस्टेल राख्छन् । तर, छात्रावासहरूको जीवन कस्तो छ, त्यो भने साँच्चै नै चिन्तनीय विषय बनेको छ । प्रायः होस्टेलमा विद्यालयको गृहकार्य गराउने काम मात्रै हुन्छ । बालबालिका दिनभरि विद्यालयमा पढेर आएकै हुन्छन् । होस्टेलमा पठाउँदा बालबालिकामा पढाइप्रति प्रेम होइन वितृष्णा पैदा हुन्छ । चौबिसै घन्टा पढाइ पढाइ भनिरहँदा वाक्क दिक्क हुन्छन् ।

होस्टेलप्रतिको आकर्षण भनेको विद्यालयको नियमित पढाई लेखाइका गतिविधिप्रति वितृष्णा हो । चिसो भनेकै कोकाकोला भनेजस्तै ‘पढाइ भनेकै होस्टेलको’ भन्ने भ्रमलाई सत्य बनाउन खोजिएको छ । होस्टेलको खाना प्रायः हाइजेनिक हुँदैन । आखिर व्यापार नै त हो ! स्तरीय खाजा र खाना खुवाउनुभन्दा धेरैलाई एकैपटक कस्तो खुवाउने हो, त्यस्तै किसिमको व्यापारिक भोजन वा आहार तयार पारिन्छ ।

नेपालीमा एउटा उखान छ– ‘नेपाल गयो कपालसँग, बर्मा गयो कर्मैसँग ।’ यो उखान गाउँदेखि सहर आउने विद्यार्थीको जीवनमा मेल खान्छ । समस्यालाई लखेट्दा लखेट्दा सपनाको बाटो बिराउँछन् । ‘के सोचे थेँ जिन्दगीमा, के के भयो आज’ हुन्छ ।

होस्टेलसम्म पुग्नुको कारण डेरा समस्या नै हो । यदि राम्रोसँग डेरा पाउने भए होस्टेलसम्म पुग्नै पर्दैन थियो । विकसित देशमा सरकारले भाडामा लाउने घर वा कोठामा के–के न्यूनतम सुविधा हुनुपर्छ तोकेको हुन्छ ।

धेरै ठाउँमा यो कुरा लिने र दिनेको सहमतिमा भरपर्छ । तर, नेपालमा कागजमा यस्तो हुनुपर्छ भनेर लेखिएको भएपनि कार्यान्वयन र अनुगमन हुँदैन । नेपालमा घरबेटीले एकतर्फी रूपमा आफूले बनाएको कागजमा आफ्ना नियमहरू लाद्छन् र डेरावालहरू लाचार भएर त्यसलाई मान्न विवश हुन्छन् ।

सरकारले नियम–कानुनले कस्ने हो भने सहरबाट करोडौँ भाडाकर उठाउन सक्छ तर घरबेटीहरू लाखौँ आम्दानी गरेर हजार पनि कर तिर्दैनन् । यता डेरावाल पनि अर्काको घर त हो नि भनेर मनपरी गर्ने गरेका छन् ।

दुवैले आफू उक्त ठाउँमा भए कस्तो व्यवहार गर्थेँ भनेर सोच्ने हो भने समस्या आफैँ हल हुन्छ । डेरा पनि आफ्नै घर र डेरावाल आफ्नै संरक्षक हुन् भनी असल व्यवहार गर्नुप¥यो । आफ्नै घर भएपनि नभए पनि यो संसार नै बाँचुन्जेलको डेरा त हो, सकेसम्म मिलेर बसौँ । मरिलानु के छ र !

प्रतिक्रिया दिनुहोस्