काठमाडौं । निजी लगानीको श्री एयरलाइन्सले एक साथ दुई जहाज नेपाल ल्याएको छ ।
कम्पनीले क्यानडाको दि हाभिल्याण्ड अफ क्यानडा (तत्कालीन बम्बार्डियर) ले निर्माण गरेका ८० सिट क्षमताका दुई जहाज मंगलबार काठमाडौं ल्याएको हो । नाइनएन–एओके र नाइनएन–एओएल जहाज यसअघि अमेरिकाको होराइजन एयर र अलास्का एयरले उडाएको थियो ।
श्री एयरलाइन्सका पाइलटले अमेरिकाको पोर्टल्याण्डबाट मिनेसोटा राज्यको डुलुथ, क्यानाडाको गुजबे, आइसल्याण्डको केफलामिक, जर्मनीको म्युनिक, इजिप्टको काइरो, संयुक्त अरब इमेरिटसको दुबई तथा भारतको इन्दौर हँुदै जहाजहरु काठमाडौं ल्याएका हुन् ।
अमेरिकाबाट २५ घण्टाको उडानपछि यी जहाज काठमाडौं ल्याइएको कम्पनीले जनाएको छ । श्रीले सन् २०१७ देखि ५० सिट क्षमताको २ वटा सीआरजे २०० तथा ७० सिट क्षमताको २ वटा आर जे ७०० जेट विमानबाट नेपालको विभिन्न गन्तव्यमा नियमित उडान सञ्चालन गर्दै आइरहेको छ ।
सुरुमा काठमाडौं विमानस्थलबाट भद्रपुर, विराटनगर, भैरहवा, नेपालगञ्ज, धनगढीसहितका विमानस्थलमा उडान थालेको कम्पनीले त्यसयता जहाज थप्दै गन्तव्य विस्तार गरिरहेको छ ।