Logo
Logo

आइसोलेसन वार्ड स्थापनामा जुटे १२ स्थानीय तह


- दृष्टि न्युज/संवाददाता

0
Shares

मेलम्ची, १६ चैत । जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङको संयोजकत्वमा जिल्लाका राजनीतिक दलका नेता, गाउँ सरकारका प्रमुख र सरोकारवाला निकायका प्रतिनिधिबीच शनिबार बसेको बैठकले सदरमुकाम चौतारा, मेलम्ची र बाह्रविसे बजारमा क्षेत्रीयस्तरको आइसोलेसन वार्ड स्थापना गर्ने निर्णय गरेको छ ।
यसका लागि प्रत्येक स्थानीय तहले रु पाँच लाखका दरले बजेट विनियोजन गर्ने निर्णय भएको प्रमुख तामाङले बताए । उनले भने, ‘नपुग रकम वाग्मती प्रदेश सरकारसँग माग गर्ने सहमति गरेका छौँ ।’ कोषमा स्थानीय तहले बजेट जम्मा गर्नेछन् ।
बजेट परिचालनसम्बन्धी कार्य्विधि बनाउने जिम्मेवारी प्रमुख तामाङलाई नै दिइएको छ । बैठकले क्षेत्रीय आइसोलेनको सेवा क्षेत्र र स्थापना तथा सञ्चालनको नेतृत्वसमेत तोकेको छ । मेलम्चीमा स्थापना गरिने आइसोलेसनको सेवा क्षेत्र मेलम्ची नगरपालिकासहित हेलम्बु, इन्द्रावती र पाँचपोखरी थाङपाल गाउँपालिका तोकिएको छ ।
यसको स्थापना र सञ्चालनको नेतृत्व गर्ने जिम्मेवारी मेलम्ची नगरप्रमुख डम्बर अर्याललाई दिइएको छ । चौतारामा बन्ने आइसोलसनको नेतृत्व सोही नगरका प्रमुख अमानसिंह तामाङलाई दिइएको छ भने सेवा क्षेत्रमा चौतारा नगरसहित जुगल र बलेफी गाउँपालिका समेटिएको छ ।
बाह्रविसेमा स्थापना हुने आइसोलेसनले बाह्रविसे नगरसहित भोटेकोशी, सुनकोशी, त्रिपुरासुन्दरी र लिसंपुपाखर गाउँपालिकालाई सेवा क्षेत्र बनाएको छ । बैठकले एकद्वार नीतिद्वारा स्वास्थ्य सामग्री वितरण गर्ने निर्णय गरेको छ । बैठकले सम्भावित संक्रमण फैलन नदिन जिल्लामा उपलब्ध एम्बुलेन्सलाई दुई कक्षमा विभाजन गर्ने र अपुग भएको खण्डमा सिंगल क्याविन बलेरो प्रयोगमा ल्याउने निर्णयसमेत गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्