Logo
Logo

राहत लिएर आश्रम पुगे डिआइजी पोखरेल


- दृष्टि न्युज/संवाददाता

63
Shares

काठमाडौं, १७ चैत । पैसाको अभावमा समस्यामा परेका व्यक्ति तथा विभिन्न आश्रममा रहेका असहायका लागि राहत दिने घोषणा गरेलगत्तै महानगरीय प्रहरी कार्यालय काठमाडौंले राहत सहयोगको अभियान थालेको छ ।
कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) विश्वराज पोखरेलको पहलमा काठमाडौँस्थित मानव सेवा आश्रमबाट उक्त अभियान सुरु गरिएको छ । एनआइसी एशिया बैंकसँगको सहकार्यमा उपलब्ध भएको खाद्य सामग्री लिएर पोखरेल आफैं आइतबार साँझ सामाखुसीस्थित मानव सेवा आश्रम पुगे । अन्य बैंक तथा व्यवसायीले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएकाले यो अभियान जारी रहने जानकारी दिँदै उनले समस्या परेकालाई सम्पर्कमा आउन अनुरोध गरेका छन्
उनले मानव सेवा आश्रमका लागि २५ बोरा चामल, २५ प्याकेट दाल, २५ लिटर तेल, २५ केजी नून, २५ पाकेट बेसारलगायतका खाद्य सामग्री हस्तान्तरण गरेको आश्रमका प्रवक्ता सुमन बर्ताैलाले जानकारी दिए । आश्रममा खाद्यान्नको अभाव भइरहेको अवस्थामा राहत उपलब्ध गराएको भन्दै बर्ताैलाले मानवीय कार्य गरेकामा डिआइजी पोखरेलको प्रशंसा गरे ।
उपत्यकाको तीन जिल्लामा आश्रममा हाल २६० जना असहाय तथा बेसहाराले आश्रय लिइरहेका छन् । उनीहरुका लागि यो राहत सामग्री एक हप्तासम्म पुग्छ । मुलुकभरका आश्रममा भने झन्डै एक हजार १०० बेसहारा आश्रित छन् । दैनिक दाताले दिएको सहयोगमा चल्ने आश्रम, संरक्षण केन्द्र र बाल तथा वृद्धाश्रममा समेत समस्याको चाङ चुलिएको छ ।
विश्वमा महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मुलुकलाई ‘लकडाउन’ गरेपछि यस्ता संघसंस्थामा खाद्य सामग्रीको अभाव भएको छ । त्यस्ता संघसंस्था तथा दैनिक ज्याला मजदुरी गरी खाने मजदुरले दैनिक सामग्रीको समस्या व्यहोर्न नपरोस् भनी कार्यालयले उक्त अभियानको शुरुवात गरेको डिआइजी पोखरेलले बताए ।
लकडाउन भएपश्चात् असहाय, अशक्त व्यक्ति तथा दैनिक ज्याला मजदुरी गरी गुजारा चलाउने व्यक्तिलाई अझ बढी समस्या हुन्छ । संकटको यस घडीमा कुनै समुदाय वा संस्थालाई दैनिक उपभोग्य सामग्रीको अभाव भएमा नजिकको प्रहरी कार्यालय वा प्रहरीको हट लाइन १०० मा खबर गर्न आग्रहसमेत उनले आग्रह गरेका छन् । वास्तविक समस्या भएकाहरुलाई भने उनले सिधै आफ्नो सम्पर्कमा आउन सक्नेसमेत पोखरेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्