दाङ, १८ चैत । दाङमा कोरोना भाइरसको आशंकामा २४ जना आइसोलेशनमा भर्ना भएका छन् । भर्ना भएकामध्ये आठ जना उपचारपछि घर फर्किएका छन् । १० जनाको उपचार भइरहेको छ ।
पाँच जनालाई कोरोनाको कुनै लक्षण नदेखिएपछि ‘होम क्वारेन्टाइन’मा बस्न सुझावसहित फिर्ता गरिएको बताइएको छ । भर्ना भएकामध्ये ६ जना राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानबाट घर पठाइएको छ भने बेलझुण्डीबाट दुई जनालाई घर फिर्ता गरिएको छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय दाङका कमल चन्दका अनुसार अहिले बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा १० जनाको उपचार जारी छ । उपचार गराएकामध्ये ११ जनाको स्वाब परीक्षण गरिएको छ । उनले दाङबाट पठाइएको स्वाबको सबै रिपोर्ट नेगेटिभ आएको बताए । उनले भने, ‘बेलझुण्डीमा उपचार गराइरहेकामध्ये पाँच जनाको आज स्वाब परीक्षणका लागि नमूना संकलन गर्न लागेका छौँ ।’
दाङका सबै स्थानीय तहले कोरोना भाइरसको न्यूनीकरणका लागि क्वारेन्टाइन निर्माण गरेका छन् । कम्तीमा पाँचदेखि ६० शय्यासम्मका क्वारेन्टाइन छन् । कोरोना भाइरसको हल्ला चलेसँंगै भारतबाट फिर्ता हुनेको संख्या धेरै छ । स्थानीय सरकारले संकलन गरेको तथ्यांकानुसार तेस्रो मुलुकको तुलनामा भारतबाट फिर्ता हुनेको संख्या धेरै रहेको हो ।