- विरेन्द्र रावल
धनगढी, १८ चैत । धनगढीस्थित सेती अञ्चल अस्पतालको आईसोलेशन वार्डमा उपचाररत धनगढी उपमहानगरपालिका वडा नम्बर ५ तारानगरका ३४ बर्षीय युवकले आफ्नो स्वाबको पुनः परीक्षण माग गरेका छन् ।
दुवईबाट भारतको दिल्ली, काठमाडौं हुँदै नेपालगञ्ज आएका शाही ज्वरो आउने र घाँटी दुख्ने समस्या आएपछि आफ्नो भाईको साथमा सेती प्रादेशिक अस्पतालमा उपचारका लागि पुगेका थिए । अस्पतालले ‘क्वारेन्टाइन’मा बस्नुपर्ने भनेपछि उनी चैत १० गतेबाट अस्पताल भर्ना भएका थिए । उनलाई क्वारेन्न्टाइनमा राखेर स्वाब काठमाडौं टेकुमा पठाएको ४ दिनपछि रिर्पाेट ‘पोजेटिभ’ आएपछि उनलाई अस्पतालले शव दहन घरको छेवैमा रहेको एक कोठामा आइसोलेशन वार्डमा राखिएको थियो ।
सेती प्रादेशिक अस्पतालले आइसोलेशन वार्डमा त्यो पनि एकान्त शव राख्ने घरको छेवैमा राखेर पानीसमेत नदिएको गुनासो गरेपछि दोस्रो दिनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको निर्देशनमा ठाउँ सारिएको थियो ।
टेकु अस्पतालले कोरोना पोजेटिभ रिपोर्ट दिएर संक्रमित भनिएका ती युवकले आफूलाई हाल ज्वरो नभएको र केवल घाँटी दुख्ने र पखाला लाग्नेबाहेक सामान्य रहेको बताएका छन् । साथै, उनले टेकुले कोरोना संक्रमित भनेर रिर्पाेट पोजेटिभ दिएतापनि आफ्नो स्वाबको पुनः परीक्षण हुनुपर्ने अस्पताल प्रशासन र सञ्चारकर्मी समक्ष माग गरेका छन् ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेयले टेकुले दिएको रिपोर्टको आधारमा उनलाई आइसोलेशनमा राखेर उपचार गरिरहेको बताए । उनले बाहिर हल्ला भएजस्तो नभएर आफूहरुले संक्रमितलाई नियमित हेरचाह र उपचार सेवा दिइरहेका दावी गरे ।
सेती अञ्चल अस्पताल धनगढीका अध्यक्ष दुर्गा जोशीले हाल सेती प्रादेशिक अस्पतालमा कोरोना संक्रमित एकजना रहेको र नौ जनाको स्वाब काठमाडौं पठाइएको बताए ।
आवश्यक किट र पिपिई सामाग्रीहरु उपलब्ध नभएको अवस्थामा सोमबारमात्रै धनगढीमा नेपाली सेनाको स्काई ट्रकले स्वास्थ्यकर्मीका लागि केही सामग्री ल्याएको थियो । सुदुरपश्चिममाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशक गुणराज अवस्थीका अनुसार स्वास्थ्य सामाग्रीहरु सोमबारबाटै सुदूरका नौ वटै जिल्लामा पठाउने कार्य भरहेको छ ।
यस्तै, डडेल्धुरामा कोभिड–१९ कोरोना भाइरसको आशंकामा एक जनाको नमुना संकलन गरिएको छ । जिल्लाको अमरगढी नगरपालिका–९ का २० वर्षीय पुरुषको नमुना संकलन गरिएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिएका छन् । उनी १० दिनअघि भारतको मुम्बईबाट घर आएका हुन् । उनीमा रुखाखोकी र सामान्य ज्वरो देखिएकाले डडेल्धुरा अस्पतालमा थ्रोट स्वाब संकलन गरिएको सूचना अधिकारी पन्तले बताए ।