काठमाडौं । फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्थाले एक ग्राहक सदस्यको मृत्यु पश्चात उसको परिवारलाई बीमा रकम दिएको छ ।
फाइनान्सले सर्लाहीका ग्राहक सदस्यको दुर्घटनामा मृत्यु भएपछि परिवारलाई कर्जा बीमा बापत १५ लाख ७५ हजार भुक्तानी गरेको हो ।
ईश्वरपुर नगरपालिका–१४ का बिन्द्रदेवी धामीले २०७९ साल चैत्र ७ गते फरवार्ड माइक्रो फाइनान्सबाट ७ लाख रुपैयाँ कर्जा लिएका थिए । उनले नियमित कर्जा किस्ता रकम बुझाउँदै आएका थिए । ६ लाख ६५ हजार २ सय ६७ रुपैंया किस्ता बुझाउन बाँकी रहँदै उनको दुर्घटनामा निधन भएपछि फरवार्डले तिर्ने रकम मिनाहा गरिदिएको छ ।
साथै बाँकी कर्जा किस्ता साँवा र ब्याज रकम कटाई मृत्यु दाबी बीमा बापत नौ लाख नौ हजार सात सय ३२ रुपैयाँ परिवारलाई हस्तान्तरण गरेको छ ।
बिन्द्रदेवीको परिवारले कुल १५ लाख ७५ हजारको बीमा रकम प्राप्त गरेका छन् । परिवारलाई २२५ प्रतिशत बीमा बापतको रकम भुक्तानी गरिएको फरवार्ड फाइनान्सले जनाएको छ । एक कार्यक्रमका बीच ईश्वरपुर नगरपालिका प्रमुख मनोज कुमार आचार्यबाट बिन्द्रदेवीका श्रीमान राजवीर धामीलाई फाइनान्सले बीमा रकम हस्तान्तरण गरेको छ ।
कार्यक्रममा ईश्वरपुर नगरपालिका प्रमुख आचार्यले बैंक तथा बितिए संस्था जीवनको अभिन्न अंग भएको बताउँदै परिवारको जीवनस्तर उकास्न र समाज विकास गर्न ठुलो मद्दत गर्ने बताए । आचार्यले लघुवित्त बितिए संस्था जनताको बचत र बैङ्कको कर्जाबाट सञ्चालन हुने, बैंक तथा बितिए संस्थाले जनताको बचतको सुरक्षा गरी पुँजी निर्माण गरेर जनताको पेसा, व्यापार व्यवसाय विकास गर्ने जिकिर गरे ।
कार्यक्रममा फरवार्डका सञ्चालक सदस्य प्रा.डा श्याम किशोर महतोले समुदाय र निम्न वर्गको उत्थानका लागि फरवार्ड सदैव क्रियाशील हुने प्रतिबद्धता जनाए । उनले विश्वास दिलाउँदै बितिए संस्था, स्थानीय समुदाय र स्थानीय सरकार बिच सहकार्य हुन आवश्यक रहेको बताए ।
संस्थाका नायब प्रमुख कार्यकारी अधिकृत कृष्णप्रसाद भट्टराईले फरवार्ड संस्थाको पृष्ठभूमि, संस्थाको परिचय र उद्देश्य बारे प्रस्टाएका थिए । उनले लघुवित्तले समाज र राष्ट्रको अर्थतन्त्रमा पुराएको योगदानबारे चर्चा गरे ।