काठमाडौं, २२ चैत । हालै चीनबाट ल्याइएको स्वास्थ्य उपकरणमा आफ्नो कम्पनीको नाम जोडिएको प्रति भाटभाटेनी सुपर स्टोर्स ध्यानाकर्षण जनाएको छ । कोरोनाको उपचारका लागि चीनबाट खरिद गरिएको मेडिकल सामग्री गुणास्तहिन भएको मिडियामा आएपछि सरकारले उक्त औषधि ल्याउने ठेकदार कम्पनीसँग सम्झौता समेत रद्द गरेको छ ।
भाटभाटेनी सुपर स्टोर्सले उक्त सन्दर्भमा आफ्नो कम्पनीको नाम जोडिएप्रति स्पष्टिकरण जनाउँदै ध्यानाकर्षण जनाएको हो । भाटभाटेनीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमण महामारीको वर्तमान अवस्थामा देशले निकै असहज परिस्थितीसँग जुध्नु परिरहेको यथार्थ यहाँहरू सबैमा विदितै छ । यस्तो अवस्थामा कुनै एक कंपनीले ल्याएका स्वास्थ्य उपकरण र सामग्री गुणस्तरहीन रहेको भन्ने विषयमा अहिले मिडियामा समाचार प्रकाशित भएको र यस सन्दर्भमा भाटभटेनी समूहको नाम पनि अनर्गल तवरले जोडिएकोमा हाम्रो समूहको ध्यान आकृष्ट भएको छ ।’
विज्ञाप्तिमा अगाडि भनिएको छ, ‘अहिले विवादमा रहेको कम्पनी ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको छ । उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउँछ । भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मानमर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो ।’
सम्पूर्ण व्यावसायिक र सत्य, तथ्य समाचार संप्रेषणगर्ने समाचार संस्थाहरूलाई भाटभटेनीको विषयमा कुनै प्रकारको भ्रममा नपर्न पनि विज्ञप्तिमार्फत अनुरोध गरेको छ ।
‘संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि भाटभटेनी समूहले आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि यहाँहरूमा अनुरोध गर्न चाहन्छौं । हाम्रो संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको छ’ विज्ञप्तिमा भनिएको छ, ‘ प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीज्यूहरूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न गर्नेछौं । त्यस्तै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी हामीले घर–घरमै पु¥याउने व्यवस्था गरिरहेको पनि जानकारी गराउन चाहन्छौं ।’