कुनै पनि क्रान्ति वा आन्दोलन सम्पन्न गर्नका निम्ति जनता जगाउने आवश्यक र सार्थक नारा चाहिन्छ । अझ भनौँ आन्दोलनलाई सार्थक बनाउनका निम्ति गतिलो नारा चाहिन्छ । सजिलै जनजनको मनमनमा बस्न सक्ने नाराले मात्र सबैलाई आकर्षित गर्न सक्छ ।
विश्वमा ऐतिहासिक आन्दोलन, क्रान्ति र युद्ध भएका छन् । आजका दिनमा पनि युरोपका धेरै देशहरूमा आन्दोलनको आगो बलिरहेको छ । इरान–इजरायल, हमाल–इजरायल, रुस–युक्रेनबीचको तनावबारे हामी थोरबहुत जानकार छौँ भन्ने लाग्छ । यी घटनाहरूका पछाडि कुनै न कुनै नाराले काम गरिरहेको छ ।
साधारणता मानिसहरूले केवल युद्ध, क्रान्ति र आन्दोलन मात्र देख्छन् । तर, ती युद्धहरू हुनुमा नाराले काम गरेको हुन्छ । क्रान्ति हुने भनेको नाराले हो । नेपाली राजनीतिक क्षेत्रमा राजनीतिक नाराका विषयमा त्यति धेरै छलफल र बहस भएको पाइँदैन । विश्वमा सम्पन्न ऐतिहासिक आन्दोलनलाई फर्केर हेर्ने हो भने गम्भीर नारा भेटिन्छन् ।
राज्यले सबै काम राम्रो मात्र गर्दैन, राज्यका गलत कार्यका विरुद्ध प्रश्न गर्नुपर्छ भनेका शुकरातले विष खुवाएर मारिएको थियो । समाजवादको नारा लगाएबापत काल मार्क्स कार्लमाक्र्सले देश निकाला हुनुपरेको थियो । फ्रान्सेली क्रान्तिले स्वतन्त्रता, भ्रातृत्वको नारा अघि सारेको थियो । अमेरिकी स्वतन्त्रताको नारा, भारत छोड आन्दोलन, चिनियाँ सांस्कृतिक क्रान्ति आदि उदाहरण हुन् ।
ठिक यता नेपालमा राणाविरोधी आन्दोलन, झापा विद्रोह, जनयुद्ध र मधेस आन्दोलनले विभिन्न तर, सारमा लोकतन्त्र र समाजवाद उन्मुख आन्दोलनका नारा लगाएका थिए । जसको चर्चा पछिल्लो समयमा खासै हुँदैन ।
राजनीतिक दलका नेताहरू देश र पार्टी बनाउनेभन्दा जसरी पनि पार्टी सत्ता र राज्य सत्तामा पुग्नुपर्छ भन्नेमा देखिन्छन् । खासगरी कम्युनिष्टहरूले भन्ने गरेको मार्क्सवादी नारा, लेनिनवाद संगठानात्मक सिद्धान्त, सर्वहारा वर्गको अधिनायकत्वजस्ता विशाल नाराहरू आज धरमराइरहेका छन् ।
अस्तित्वको खोजीमा छन् । यी नाराको सार बोकेर नेपाली कम्युनिष्टहरूले तय गरेका नेपाली नाराहरूको हरिबिजोग छ । विगतमा लगाएका नारा र अहिले नेता, नेतृत्व र कार्यकर्ताहरूको पाराबीच कुनै साइनो मिल्दैन ।
नारा भुलेको एमाले
माथि भनिएझैँ जसरी क्रान्ति सम्पन्न गर्न नारा चाहिन्छ, त्यसैगरी देश बनाउन पनि नारा चाहिन्छ । जसलाई हामीले नीति पनि भन्न सक्छौँ । एमालेले ‘सुखी नेपाली, समृद्ध नेपाल’ नारा अघि सारेको थियो । जो आवरणमा एमालेले बोकिरहेको छ ।
तर, व्यवहारमा एमालेले उक्त नारालाई केपी ओलीको निजी विचार बनाइरहेको छ । देश बनाउने नारालाई केवल व्यक्तिको भक्तिगान बनाएपछि कसरी देश बन्छ ? उक्त नारा देश बनाउने नारा बन्नुपर्ने थियो । बनाउनुपर्ने थियो । राष्ट्रिय नारा बनाउनुपर्ने थियो । तर, एमालेहरूले नेतृत्वको भक्तिगान बनाएपछि एमाले पार्टी नभएर एउटा कर्पोरेट बन्न पुग्यो । एमालेले आफ्नो नारा चिनेन ।
देश बनाउने नारालाई व्यक्तिगत भलाइ र स्वार्थमा प्रयोग ग¥यो । नाराभित्र विचार, सिद्धान्त, कार्यक्रम सबै लुकेको हुन्छ । त्यसको कुशल कार्यान्वयनका निम्ति असल नेता चाहिन्छ । यसका खिलापमा नेतृत्व उभियो भने नारा जति नै सुन्दर, विशाल र राम्रो भए पनि त्यसले खासै माने राख्दैन । एमाले आज जबज र समृद्ध नेपालको नारालाई भजाएर खाने अवस्थामा छ ।
नाराविहीन एकीकृत समाजवादी
नाराका हिसाबले चर्चा गर्नुपर्ने अर्को कम्युनिष्ट पार्टी हो एकीकृत समाजवादी । जसले गत निर्वाचन (२०७९) मा आफ्नो पार्टीको नारालाई जनताबीच लिन सकेन । जनतालाई आफ्नो नारा सुनाउन सकेन ।
‘यात्रा समृद्धिको, लक्ष्य समावादको’ भन्ने नारा बोकेर हिँडिरहेको उक्त पार्टीका नेताहरूले जनतालाई आफ्नो नारा जोडले सुनाउन सकेनन् । त्यो नारा पार्टीको नारा त बन्यो । तर, देश बनाउने राष्ट्रिय नारा बन्न सकेन । देशको भविष्यसँग जोडिएको उक्त नारा बोकेर हिँडिरहेका नेताहरूको पाराका बारेमा जनता राम्रोसँग जानकार छन् ।
एकीकृत समाजवादीको सत्ता केन्द्रित राजनीतिबारे जनता जानकार छन् । एमालेबाट विद्रोह गरेर बनेको पार्टी आजका दिनसम्म सत्ता बाहिर बसेको छैन । पार्टी सत्ता केन्द्रित बन्दा समाजवाद हासिल गर्ने नारा ओझेलमा परेको छ । विद्रोहको मूल्यमाथि सत्ता कुठाराघात बन्यो । गर्विलो र भारी नारा बुझाउन नसक्दा चुनावमा जनताले राष्ट्रिय दल बन्नबाट वञ्चित गरिदिए ।
नारा भुल्दै माओवादी
संसदीय अस्तित्वमा रहेको र वर्तमान सत्ता सञ्चालन गरिरहेको अर्को पार्टीको नाम हो माओवादी केन्द्र । विगत तीन दशकदेखि प्रचण्डको नेतृत्वमा रहेको उक्त पार्टीको आठौँ महाधिवेशन (२०७८) ले ‘२१औं शताब्दीमा समाजवादको नेपाली बाटो’ तय गरेको थियो । तर, त्यसको शिरमा मार्क्सवाद-लेनिनवाद-माओवाद उल्लेख छ । जसले त्यो नारालाई खण्डित गर्छ ।
आजको दुनियाँमा जबज र माओवादलाई मार्गदर्शक सिद्धान्त मानेर समाजवाद हासिल गर्ने कुरा हास्यास्पद हुन्छ । एमाले र माओवादी पार्टीले क्रमशः जबज र माओवादको जडताबाट बाहिर निस्किन सक्नुपर्ने पहिलो सर्त हो । उनीहरूले लगाउने नारा र उनीहरूले भन्ने गरेको रणनीतिक लक्ष्यबीचको तादात्म्यता भेटिँदैन । यसरी नाता साइनो नराख्ने विचार र नाराले देश बनाउन सक्दैनन् । नेतृत्वले जे भन्छ, त्यो विचार र नारा हुँदैन ।
देशकाल परिस्थितिलाई बोक्ने नाराले मात्र मुलुक र जनताको भलाई गर्न सक्छ । कम्युनिष्ट पार्टीबाट संसदीय मोर्चामा बलियो स्थान हासिल गरेको एमाले र दोस्रो दल माओवादीले मुलुक र जनताको भलाई भन्दा पनि व्यक्तिगत र दलगत स्वार्थलाई केन्द्र भागमा राखेको देखिन्छ । जब दलको नारा र विचारलाई व्यक्तिगत र दलको स्वार्थको निम्ति प्रयोग गरिन्छ, त्यसपछि आन्दोलन कमजोर बन्ने मात्र होइन, सखाप हुन सक्छ ।
अन्त्यमा, नेपालमा लोकतन्त्र, गणतन्त्र र समाजवाद मान्ने दलहरूले दोस्रो जनआन्दोलनपछि तय गर्नुपर्ने नारा अर्कै हुनुपर्थ्यो । खासगरी कम्युनिष्टहरूले देश बनाउने राष्ट्रिय नारा तय गर्नुपथ्र्यो । सामान्य प्रयास गरेपनि कम्युनिष्टहरू सार्थक र सफल बन्न सकेनन् । कम्युनिष्ट बाहेकसँग देशको दिगो विकास गर्ने र जनतालाई खुसी प्रदान गर्ने नारा छैन भन्दा अन्यथा हुँदैन ।
नेपाली कांग्रेसले अनुसरण गरेको उदार लोकतन्त्रले समाजमा झन् खाडल बढाउने काम गर्छ । अन्य केही नयाँ भनिएका बहुरङ्गी दलहरू छन् । उनीहरूको कुनै विचार छैन । लोकप्रियतावाद उनीहरूको राजनीति गर्ने मुख्य हतियार हो ।
यसरी हेर्दा मुलुकको आजको हविगत आउनुमा दलहरूले आफ्ना नारा भुलेर हो । राजनीति गर्ने नारा नै भुलेपछि अरू जतिसुकै कुरा गरे पनि त्यसले के अर्थ राख्छ ? नारा भुल्ने र नाराविहीन बन्ने कुरा राजनीतिमा कल्पनासमेत गर्न सकिँदैन ।