सागर फुयाँल मीठा गीत रचना गर्छन्, सुन्दर कविताका वान्कीहरु सिर्जना गर्छन् । मिलनसार छन्, यथार्थ लेख्छन्, जे लेख्छन् त्यो व्यवहारिक होस् भन्ने चाहना राख्छन् । उनी मनका, हृदयका कवि हुन् ।
उनी साहित्यमार्फत आममान्छेका हृदयलाई पगाल्न सक्ने सामथ्र्य राख्छन् । उनी सह्दयी छन् । उनको नवीनतम् कृति ‘आफैँलाई खोज्न मन छ’ कृति पढेपछि यी सबै कुराहरु थाहा पाइन्छ । यसअघि उनको ‘अँजुलीमा थाप्न पाए (कविता तथा गीतसङ्ग्रह) तथा साङ्गीतिक एल्बम ‘तिमी र म’ प्रकाशन भइसकेको छ ।
अस्तित्वसँग
भोलीको घाम उदाउनुपर्ने शर्तमा
बास बस्न उडेका चखेवा हेर्दै
रङ्गीन बादलभित्रको दुनियाँमा
रमाएर डुबेको घाम हेर्दै
एउटा बैँसालु साँझमा
आफैँलाई खोज्न मन छ ।
पृ.७५
भनिन्छ, ‘संसार हेर्ने र फेर्ने, हृदय र दर्शनको कलात्मक अनुभूति नै साहित्य हो ।’ पक्कै पनि हो, साहित्यको माध्यमबाट हामीले संसारलाई नियाल्न सक्छौँ, संसारका मान्छेहरुका दुःख सुखका साक्षी बस्न सक्छौँ । संसारका मान्छेहरुका अनुभूतिहरु मनन गर्न सक्छौँ । यी सबै अनुभूतिका माध्यम केवल भाषा तथा साहित्य नै हो । यी माध्यमलाई सिर्जनामार्फत समाजलाई सजग गराउने व्यक्ति सम्मानित हुने गर्दछन्, युगौँयुगसम्म । सागर फुयाँलजीले पनि कविता तथा गीतका माध्यमबाट समाजका धेरै सुक्ष्म विषयवस्तुलाई उजागर गरेका छन् ।
‘आफैँलाई खोज्न मन छ’ कवितासङ्ग्रहमार्फत । कविता लेख्नु आफैँमा एउटा साधना हो, हरेक मान्छेको आ–आफ्नै शैली हुन्छ, शोख हुन्छ, सर्जकको शौख, सिर्जना गर्नु नै हो । त्यसकारण त सरकारले साहित्यलाई अनुत्पादक भन्दै गर्दा सर्जकहरु भने साहित्यका विविध क्रियाकलापमा रमाइरहेका हामीले देखेका छौँ ।
जीवन र जगत्का कविता लेख्न रुचाउने सागर, एउटै बगैँचामा विविध फूलहरु आ–आफ्नै सुगन्ध बोकेर फर्किरहेका जस्तै उनका कविताहरुमा विविधता देखिन्छन् । उनकोे कविताको मूल उद्देश्य भनेकै मानवीय संवेदनासँग जोडिनु नै हो । ती जो भए पनि मानवताको भावनासँग खेल्ने सबै मान्छेका शत्रु नै हुन्, त्यसकारण उनीहरुविरुद्ध हामीले केही बोल्नैपर्छ भन्ने मूल सन्देश उनका कविताले बोलेका छन् । शालिन, सभ्य र सरल भाषामा समाजका चित्रहरु कोर्न सक्ने सामथ्र्य सागर फुयाँलका कवितामा रहेका छन् ।
बाटोमै बिच्छाइएका ढुङ्गाहरु
तत्क्षण देवता भएका छन्
सजिएका छन्
पुजिएका छन्,
मान्नेहरुले नै मानिदिएपछि न हो ।
पृ.८९
‘आफैलाई खोज्न मन छ’ कवितासङ्ग्रहभित्र कविता र गीतलाई दुई भागमा लेखेका छन् । भाग–१ मा कविता र भाग–२मा गीत रहेको छ । चालिसओटा कविता र चालिस ओटै गीतहरु सङ्ग्रहित छन् । उनका केही गीतहरु लोकप्रिय गायक शिव परियारको स्वर र सङ्गीतवद्ध भएका छन् ।
उनको साङ्गीतिक एल्वम ‘तिमी र म’भित्र सङ्ग्रहित यी गीतहरु कालजयी रहेका छन् । उनका कविताहरु पढ्दा सरल लाग्छन्, सरलताभित्रको गम्भिरबोधले कवितालाई उत्कृष्ट बनाएका छन् । संसार प्रेमले नै जोडेको छ, प्रेमिल भावनाभित्र रम्न सक्यो भने जीवन सार्थक बन्छ भन्ने चाहना कविको छ । हुन त यो संसार प्रेमले नै त अडेको छ, यदि प्रेम नहुँदो हो त, कस्तो हुन्थ्यो संसार ? कल्पना पनि गर्न सकिन्न । सम्पूर्ण चराचर जगत्लाई प्रेमको वर्षातमा डुबाउने चाहना सागरका कविताले उजागर गरेका छन् ।
तिम्रा जादुई आवाजमा हराई आफैँलाई
तिम्रो पे्रमको वर्षतमा रुझाई आफैँलाई
युगौँ युगसम्म बाँच्ने कथा बनाई
यो जुनी तिमै्रै अँगालोेमा जिउने मन छ ।
पृ.१४७
कवितामार्फत उठान गर्न खोजेका विविध विषयवस्तुसँगै हाम्रै समाजका विविध आयामहरु नै हुन् । फरक यति हो आममानिस ती दुःखलाई सहेर बसेका छन्, तर त्यही समाजमा बसेको एउटा कविले शालिन भावमा विद्रोहको झिल्का बालिरहेका छन् । त्यसैले त उनी यो ब्रम्हाण्डमा आफैँलाई म कहाँ छु भनेर खोज्दै हिँडेका छन् कविता यात्रामा । कविलाई युद्ध मन पर्दैन, युद्धले बनाएका चियानघारीलाई अब सधँैको लागि बन्द गर्नुपर्छ भन्ने आग्रह कवितामार्फत पोख्छन् ।
नेपाल सरकारको परराष्ट्र सेवामा कार्यरत सागर फुुयाँल नेपाली कविताका क्षेत्रमा आफ्नो उपस्थिति बाक्लो बनाइरहेका छन् । कवि सागर फुयाँल अब नेपाली कविताले तपाईँलाई पच्छ्याइरहने छ । अब तपार्इँलाई कविताले खोज्ने छ । नेपाल स्रष्टा समाजद्धारा प्रकाशित यस कृति नेपाली कविता पारखीहरुको लागि राम्रो खुराक बन्न सक्छ ।