भनिन्छ, श्रीमान्–श्रीमती एक रथका दुई पाङ्गा हुन् । कुरा सही पनि हो । दम्पतीविना सृष्टि नै चल्दैन । सृष्टिको रथ चलाउन दुवै पांग्रा चाहिन्छ । एउटा पांग्रा पन्चड भएमात्रै पनि यात्रा अधुरै रहन्छ ।
श्रीमान्–श्रीमतीलाई जीवनसाथी पनि भनिन्छ । यो सम्बन्ध पवित्र हुन्छ । विवाह यौनको वैधानिकता मात्रै होइन । दुई व्यक्ति एक हुनु हो । जिन्दगीभर साथ दिने वाचा–कसम खान्छन् । उनीहरूलाई थप निकटमा ल्याउँछ । आपसी प्रेम बढ्छ ।
भनिन्छ, वैवाहिक जीवनमा चरम सुख छ । जहाँ माया र विश्वासले भरिएको सम्बन्ध छ, त्यहाँ स्वर्ग छ । स्वर्ग खोज्न अर्को लोक जानै पर्दैन । जहाँ श्रीमान्–श्रीमतीबीच संवेगात्मक, भावनात्मक तथा यौन जीवनमा अधिकांश मिठास छ । तर, त्यसो नभए अर्को लोक यहीँ छ, नर्क ।
कसैसँग विवाह गर्नु भनेको सम्पूर्ण जीवन उसैलाई सुम्पिनु हो ! विवाहित महिलाले परपुरुष र विवाहित पुरुषले परस्त्रीसँग यौन सम्बन्ध स्थापित गर्न पाउँदैनन् । आफ्नो पार्टनरले अरूसँग यौन सम्बन्ध स्थापित गरे कसैलाई सह्य हुँदैन । यदि, त्यस्तै भएको थाहा भए अपराध निम्तिन्छ । कानुनले दण्डित गर्छ ।
पछिल्लो समय ‘श्रीमान्–श्रीमती एक रथका दुई पांग्रा हुन्’ भन्ने परिभाषा बदलिँदै गएको छ । श्रीमान्–श्रीमती बीचको भावनात्मक सम्बन्धमा कमी हुँदैछ । दम्पती औपचारिकतामा मात्र सीमित भएको पाइन्छ ।
हुन त अहिले विवाहको उद्देश्यसमेत परिवर्तन भएको छ । पहिला जीवनसाथीको लागि विवाह हुन्थ्यो । अहिले विदेश जानको लागि विवाह गरिन्छ । पिआरको लागि विवाह हुन्छ । धन–सम्पत्तिको लागि विवाह हुन्छ । दाइजोको लागि विवाह हुन्छ । त्यसले समाजमा विकृति बढाएको छ ।
बढ्दो आधुनिकताले हाम्रो समाजमा वैवाहिक सम्बन्धलाई तहसनहस पारिरहेको छ । यसको प्रमुख कारण पश्चिमा संस्कृति हो । सूचनाप्रविधिले पनि हाम्रो वैवाहिक जीवनलाई उथलपुथल पारिरहेको छ ।
अहिले सामाजिक सञ्जालले सबैलाई नजिक बनाएको छ । सानो कोठामा बसेर संसार देखिन्छ । र, संसारका जुनसुकै कुनामा रहेका व्यक्तिसँग कुराकानी गर्न सकिन्छ । सामाजिक सञ्जालले परपुरुष तथा परस्त्रीतिर आकर्षितसमेत गरेको देखिन्छ ।
सामाजिक सञ्जालमा मन लागेका जो सुकैलाई पनि साथी बनाउन सकिन्छ । सञ्जालमा राखिएका आकर्षक तस्बिर र पोस्टहरूले मन लोभ्याउन सक्छ । आखिर मनै त हो, मनपर्न सक्छ । विवाह गर्नेवित्तिकै अरू मन नपर्ने भन्ने हुँदैन ।
मन पराउनु कुनै अपराध होइन, ऊसँग कुरा हुनु पनि स्वाभाविक हो । जब कुरा अस्वाभाविक हुन थाल्छ, शारीरिक र मानसिक रूपले जोडिन्छ, त्यसले जे पनि निम्त्याउन सक्छ । विवाहेत्तर सम्बन्धले गम्भीर अपराध निम्त्याएको उदाहरणहरू प्रशस्तै छन् ।
यस्ता सम्बन्धले कयौँको पारपाचुके भएको छ । कोही बलात्कारको सिकार भएका छन् । धेरैले ज्यान गुमाएका छन् । विवाहेत्तर सम्बन्धले श्रीमान्–श्रीमतीको सम्बन्ध मात्रै भाँडिँदैन, पारिवारिक सम्बन्ध नै संकटमा पर्छ ।
वैवाहिक सम्बन्ध बिग्रनुको एउटा मात्रै कारण छैन । पार्टनरको व्यवहार मन नपर्दा, एक अर्काप्रति विश्वास नहुँदा, परिवारले जबरजस्ती विवाह गरिदिँदा, एकअर्कालाई पर्याप्त समय दिन नसक्दा, एक अर्काबाट टाढा रहँदा, सामाजिक सञ्जाल, वैदेशिक रोजगारीलगायत कुराहरूले वैवाहिक सम्बन्ध बिग्रिएको पाइन्छ ।
पछिल्लो समय एक गायकमाथि लागेको वैवाहिक बलात्कारको आरोपले चर्चा पायो । गत चैत २० गते गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दा दायर भयो । रविविरुद्ध पक्राउ पुर्जी जारी भइसकेपनि उनी पक्राउ भने परेका छैनन् । त्यस्तै न्यायाधीश भुवन गिरी पनि वैवाहिक बलात्कारको आरोपमा थुनामा छन् ।
न्यायाधीश गिरी र गायक ओड स्थापित र प्रतिष्ठित व्यक्तित्व भएको हुँदा यी दुई मुद्दाले जनमानसमा निकै चर्चा पायो । तर, यस्तै मुद्दा पछिल्ला पाँच वर्षमा तीनै तहको अदालतमा दुई सय १० वटा दर्ता भएका छन् ।
यौन शारीरिक क्रिया हो । यसमा श्रीमान् श्रीमती दुवैको समान सक्रिय सहभागिता जरुरी हुन्छ । तर, कुनै पनि कुरा जब एकोहोरो, अभद्र र अनियमित हुन्छ, त्यो पाच्य हुँदैन । एकलौटी भावना, कल्पनाजस्ता मानसिक कुराले प्राथमिकता पाउँछ, त्यो अपराध बन्छ । अझै पनि केही व्यक्तिले विवाह गर्नु भनेको यौन प्यास मेटाउने वैधानिकता पूरा गर्नु मात्र ठान्छन् । त्यस्तै सोचले अपराध निम्त्याउँछ ।
अझै पनि हाम्रो समाजमा श्रीमान्–श्रीमतीबीच खुलेर यौनको कुरा हुँदैन । एक–अर्काको इच्छा बुझ्ने प्रयास गरिँदैन । यौनसम्बन्ध पुरुषको मर्जीमा हुने गरेको पाइन्छ । यस्तो अवस्थामा महिलाहरू पीडित हुने गरेका छन् । त्यसैले वैवाहिक जीवनमा दरार पैदा गर्ने एक मुख्य कारण यौन पनि भएको छ ।
सम्बन्धविच्छेद बढेपछि कोही परिवार विघटन हुने भयो भन्दै चिन्तित छन् । कोही विभेदमा आधारित पुराना सम्बन्धहरू क्रमशः तोडिन थालेको भन्दै खुसी छन् । कुनै समय विवाहित जोडीलाई शुभकामना दिँदै भन्ने गरिन्थ्यो– वैवाहिक बन्धनमा बाँधिनु भएकोमा शुभकामना ! तर, अहिले शुभकामना पनि बललिएको छ– ‘बन्धनमा बाँधिनु’ भनिँदैन । वैवाहिक जीवनको शुभकामना मात्रै भनिन्छ ।
सम्बन्ध टुट्न सक्छ । यसलाई कुनै अनौठो मान्नुपर्दैन । विवाह पनि एक सामाजिक सम्झौता नै हो । सम्झौताको सीमारेखा हुन्छ । निश्चित समयपछि मिति सकिन्छ । श्रीमान्–श्रीमतीको सम्बन्ध पनि त्यस्तै हो ! झट्ट सुन्दा अप्रिय लागे पनि सत्य यही हो । तर, श्रीमान्–श्रीमतीको सम्बन्ध सम्झौता मात्रै होइन, साथ, सहयोग र भावना पनि हो ।
व्यक्तिगत स्वतन्त्रतालाई लोकतन्त्रको उपहार मानिन्छ । त्यो स्वतन्त्रताले परिवारभित्र पनि ठूलो हलचल ल्यायो । त्यसैभन्दामा लोकतन्त्रले पारपाचुके बढे भन्न मिल्दैन । त्यो त ‘नाच्न नजान्ने आँगन टेढो’ हुन्छ । तर, लिभिङ टुगेदर, विवाहेतरका सम्बन्धले पवित्र सम्बन्धमा दरार ल्याएकै हो ।
संसारमा कुनै कानुनले छेक्न र रोक्न नसक्ने कुरा मन हो । व्यक्तिको इच्छा हो । यसको व्यवस्थापन गर्ने स्वयं व्यक्तिले हो । पवित्र सम्बन्ध ‘विवाह’ र वैवाहिक सम्बन्धलाई कस्तो बनाउने भन्ने दुई व्यक्तिमै भर पर्छ । स्वर्ग र नर्क लोक पनि यही छ । रोजाइ, तपाईँकै हातमा छ ।