Logo
Logo

‘झापालीहरू’ जेल ब्रेक गरेर फरार


सूर्यप्रसाद श्रेष्ठ

567
Shares

२०३३ सालको कुरा हो, नख्खु जेलमा ‘झापाली’ को नामबाट परिचित कम्युनिष्ट कार्यकर्ताहरू राजकाज मुद्दामा जेलभित्र थुनिएका थिए । नख्खु जेलभित्र रहेकामध्ये १५ जना कम्युनिष्ट कार्यकर्ताहरू जेलभित्रबाट सुरुङ खनेर फरार भए ।

फरार हुनेहरूमा माधव पौडेल, वीरबहादुर लामा, गोपाल शाक्य, सीपी मैनाली, नारद वाग्ले, भीष्म धिमाल, नरेश खरेल, धर्म घिमिरे, घनेन्द्र बस्नेत, हर्क खड्का, परमेश्वर यादव, राजेन राजवंशी, जीवन मगर, अशोक न्यौपाने र प्रदीप नेपाल थिए । त्यस समय म वाग्मतीको अञ्चलाधीश थिएँ ।

‘नख्खु जेलबाट झापालीहरू भागे’ भन्ने खबर आउनेबित्तिकै म त्यहाँ पुगेँ । जेलबाट नजिकै खेत पर्दोरहेछ । उनीहरूले जेलभित्रबाट करिब डेढ सय मिटरजति सुरुङ खनी खेतको आलीसम्म पु¥याएका रहेछन् । र, यसरी त्यही सुरुङबाट उनीहरू भागेका रहेछन् ।

जेलबाट राजनीतिक बन्दीहरू फरार हुनु गम्भीर विषय थियो । मैले जेलरलाई प्रश्न गरेँ, ‘यत्रो सुरुङ खनुन्जेलसम्म के हेरेर बसेका थियौ ?’ जेलरले भने, ‘उनीहरूले जेलभित्र केही खरायो पालेका थिए । भित्रै खरायोको सानो खोर पनि थियो र त्यही खोरबाट उनीहरूले सुरुङ खनेका रहेछन् । हामीले त खरायोहरूले खनेका होलान् भन्ठान्यौँ तर उनीहरूले भाग्नका निम्ति खनेका रहेछन् । यो कुरा हामीले थाहा नै पाएनौँ ।’

जेल ब्रेक गरेर फरार भएका ‘झापालीहरू’ लाई खोज्न हामीले व्यापक रुपमा सुरक्षाकर्मीहरू परिचालन गर्यौँ । तालिमप्राप्त कुकुरहरूको समेत प्रयोग ग¥यौँ । कुकुरहरूले काठमाडौँको दक्षिणी भेक दक्षिणकालीसम्मै पछ्याए तर पछि खोला तर्नु परेपछि कुकुर पनि थाकेछ ।

नख्खु जेल ब्रेक गर्नेमा मकवानपुर, फाखेलका वीरबहादुर लामा पनि भएका हुँदा हामीले उनीहरू त्यतैतिर भागेका हुनसक्ने ठानेर त्यही क्षेत्रतिर सुरक्षाकर्मी परिचालन गरेका थियाँै । सुरक्षाकर्मी परिचालन गर्दा पनि फरार व्यक्तिहरू नभेटिएपछि हामीले हेलिकप्टरबाट पनि खोजी कार्य जारी राख्यौँ । हेलिकप्टरबाट खोजी गर्दा भने ३ जनालाई पक्राउ गर्न सफल भयौँ । जेल ब्रेकपछि जेलभित्र खोजविन गर्दा हामीले उत्तर कोरिया र कम्बोडियाको गुरिल्ला युद्धसम्बन्धी केही किताबहरू पनि फेला पारेका थियौँ । शायद उनीहरूले तिनै किताबहरू अध्ययन गरेर जेल ब्रेकको योजना बनाएको हुनुपर्छ !

जुलुस रोक्दा ममाथि आक्षेप

म वाग्मती अञ्चलाधीश रहेकै बेला तात्कालिक गृहसचिव शेरबहादुर शाहीको निधन भयो । शाहीको निधनपछि गृहसचिव पद खाली थियो । त्यसपछि मलाई गृहसचिवमा नियुक्तिको पत्र दिइयो ।

तर गृहसचिवको नियुक्ति–पत्र दिइँदा भने ‘दुई महिनापछि कार्यभार सम्हाल्ने’ भन्ने व्यहोरा उल्लेख गरिएको थियो । त्यस समय कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले मप्रति विश्वास र भरोसा गर्नुभएकै कारण मलाई गृहसचिव बन्ने मौका मिलेको थियो ।

त्यही समयताका पाकिस्तानका भूपू राष्ट्रपति जुल्फीकर अली भुट्टोलाई फाँसी दिइयो । भुट्टोलाई फाँसी दिइएपछि त्यसको विरोधमा हामीकहाँ पनि विद्यार्थीहरूले आन्दोलन गर्न थाले । आन्दोलनकै क्रममा विद्यार्थीहरूले दिनहुँजसो जुलुस निकाल्न थाले । एक दिन भने विद्यार्थीहरूको जुलुस लाजिम्पाटस्थित पाकिस्तानी दूतावासतिर लम्किँदै थियो । अप्रिय घटना हुनसक्ने अनुमान गरेर मैले जुलुसलाई लाजिम्पाटमा नै रोकेँ र दूतावासतिर जान दिइनँ ।

विद्यार्थी आन्दोलनको बेला भएका घटनाबारे छानविन गर्न लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा एउटा आयोग गठन गरिएको थियो । उक्त आयोगले प्रतिवेदन दिँदा ममाथि ‘अञ्चलाधीशले जुलुस रोकेको कारण आन्दोलन चर्किन पुगेको हो’ भनी आक्षेप लगाइयो । आन्दोलन त जसरी–तसरी चर्किरहेकै थियो, मैले विद्यार्थीहरूको जुलुस रोकेकै कारण आन्दोलन चर्किएको कुरामा कुनै सत्यता थिएन । किनभने, त्यो जुलुस नेपाल प्रजातान्त्रिक आन्दोलनको सांकेतिक रुप थियो । मलाई गृहसचिवबाट हटाउनका लागि मात्र मलाई दोष दिने बहाना बनाइएको थियो ।

आन्दोलन उत्कर्षमा पुगेको बेला सेना परिचालन गर्ने विषय प्रवल रुपमा उठ्न पुग्यो । त्यस समय प्रधानसेनापति सिंहप्रताप शाह हुनुहुन्थ्यो । मचाहिँ वाग्मतीको अञ्चलाधीश । सुरक्षा चुनौती बढ्दै गएपछि सेना परिचालन गर्नुको विकल्प थिएन ।

प्रहरीले नियन्त्रण गर्नसक्ने अवस्थाको अन्त्य हुँदै गइरहेको थियो । त्यस समय शाही नेपाल वायुसेवा निगमअगाडि, अमृत साइन्स कलेजलगायत ठाउँबाट जुलुस निस्किरहेका थिए । एक दिन त आन्दोलनकारीहरूले गोरखापत्र संस्थानमा आगो नै लगाइदिए । परिस्थिति भयावह हुनुका साथै नियन्त्रण बाहिर जाँदै थियो ।

सुरुका दिनहरूमा आन्दोलन प्रहरी–प्रशासनको नियन्त्रणमै थियो । त्यस समय आन्दोलन नियन्त्रण गर्ने तरिका व्यवस्थित थियो । आन्दोलनकारीहरूमाथि टियरग्यास हान्नु वा फोहरा चलाउनुपूर्व माइकिङ गरिन्थ्यो र त्यसपछि मात्र नियन्त्रणका लागि आवश्यक कदम चालिन्थ्यो ।

अन्ततः सेना परिचालन गर्ने टुङ्गो लाग्यो । त्यसपछि नेपाली सेनाको हेडक्वाटरमा प्रधानसेनापति शाह र म रातभरि नै बस्यौँ । सेना परिचालन गर्ने विषयमा राजा वीरेन्द्र भने पटक्कै तयार थिएनन् । मैले सेना परिचालन नगरी नियन्त्रण हुन सक्दैन भनेर पटकपटक राजासामु बिन्ती जाहेर गरिरहेकै थिए । पछि भने राजा बल्लतल्ल तयार हुनुभयो ।

सेना परिचालन गरेपछि सेनाले आन्दोलनकारीहरूमाथि व्यापक दमन गर्नसक्ने अवस्था थियो । धेरै नै हताहत हुनसक्ने अवस्था आउँथ्यो । हताहत नहोस् भनेर हामी सेनाको हेडक्वाटरमै रहेर निगरानी गरिरहेका थियौँ । रातभरि हेडक्वाटरमै रहेर प्रधानसेनापतिसँग सल्लाह गर्दै संयमताका साथ प्रहरीको पछाडि ‘व्याकिङ फोर्स’ का रुपमा मात्रै सेनाको उपयोग गरिरहेका थियौँ । तर सेना परिचालन भएको भोलिपल्ट बिहानै राजाबाट जनमतसंग्रहको घोषणा भयो ।

मैले सुनेअनुसार, जनमतसंग्रह घोषणा हुनुअघि केही विकल्प सोचिएको रहेछ । एउटा, पञ्चायती व्यवस्थामै सुधार गर्ने, अर्को, दलहरूमाथिको प्रतिबन्ध हटाउने र तेस्रोचाहिँ जनमतसंग्रहमा जाने । अन्ततः निर्णय गर्ने अधिकार जनतालाई नै दिऊँ भन्ने राजाको चाहनाअनुरुप जनमतसंग्रह घोषणा हुन पुग्यो । जनमतसंग्रहमा जाने राजाको घोषणापछि कतिपय पञ्चहरूले भने असहमतिका स्वर ओकल्न थाले । जनमतसंग्रह घोषणा भएको एक–डेढ महिनापछि केही पञ्चहरूले ‘यो निर्णय उल्टाउनुपर्छ’ भन्दै पर्चाबाजीसमेत गरेका थिए । त्यस्तो पर्चा दरबारमा समेत पुगेको थियो ।

पञ्चहरूको नामबाट त्यस्तो पर्चा छापिनु र दरबारमा पुग्नुले के बुझ्न सकिन्छ भने, जनमतसंग्रह घोषणाको विषयलाई लिएर दरबारभित्र पनि मतैक्य थिएन ।

पञ्चहरूबीचमै अन्तरद्वन्द्व

२०३६ सालमा जनमतसंग्रह घोषणा भएपछि केही पञ्च असन्तुष्ट देखिए । उनीहरूले पर्चा निकालेर राजा वीरेन्द्रलाई ‘मणि नभएको सर्प’ भनी दोषारोपणसमेत गरे । त्यस समय राजालाई दोषारोपण गर्ने र दरबारभित्रै पर्चा पु¥याउने आँट पञ्चहरूबाहेक अरू कसैले गर्न सक्दैनथे ।

त्यस समयदेखि नै पञ्च–पञ्चबीचको अन्तरद्वन्द्व झनै घनीभूत हुँदै गयो । त्यो पर्चालाई मिहीन ढङ्गले अध्ययन गर्दा पर्चा निकै सुन्दर एवं मीठो भाषामा लेखिएको थियो । यस्तो पर्चा कसले लेखेको होला ? भनी हामीले पत्ता लगाउन निकै कोसिस ग¥यौँ तर सक्दै–सकेनौँ । छद्मभेषी पञ्चका रुपमा रहेका कुनै राजनीतिक दलका मानिसले नै लेखेको हुनसक्ने अनुमानसम्म भने लगायौँ ।

उक्त पर्चा छर्न छद्मभेषी रुपमा पञ्च बनेका वामपन्थी राजनीतिक कार्यकर्तालाई खोज्न तात्कालिन सह–अञ्चलाधीशलाई सिन्धुपाल्चोकको चौतारासम्म पठाइयो । तर वाहांलाई पनि छक्याएर ती ब्यक्ति भागेका थिए । त्यस समय म छद्मभेषीहरूका मुखुन्डो उतार्न पनि क्रियाशील रहेँ ।

पर्चा ‘राजाले जनमतसंग्रह घोषणा गरेर गल्ती गर्नुभयो’ भन्ने विषयमा केन्द्रित थियो । र, जनमतसंग्रह घोषणा फिर्ता लिनुपर्ने कुराप्रति मुख्य रुपमा जोड दिइएको थियो । साथै, घोषणा कसरी फिर्ता लिने भन्ने कार्यनीतिक विषयबारे पनि सुझाव दिइएको थियो । त्यसो त राजा महेन्द्रको शासनकालको प्रारम्भ समयदेखि नै पञ्चहरूबीच फाटो सुरु भइसकेको थियो ।
२०१७ सालको राजनीतिक कदमपछि राजाले डा. तुलसी गिरीलाई च्यापिबक्सियो । तर डा. गिरिलाई केही समयपछि नै फ्याँकिबक्सियो । सुरुका दिनमा विश्ववन्धु थापा, हृषीकेश शाहलाई पनि खासै पत्यार गरिबक्सिएन । बरु सूर्यबहादुर थापालाई विश्वास गरिबक्सियो र थापालाई हातमा लिइबक्सियो ।

मिहिनेती र बुझ्झकी स्वभावका भए पनि त्यस समय थापा अरू नेताहरूकै तहका भने हुनुहुन्नथ्यो । थापा सुरुमा कट्टरवादी हुनुहुन्थ्यो । पछिल्लो समय भने उदारवादीहरूको नेतृत्व गर्न थाल्नुभयो । उहाँको भारतीय संस्थापन पक्षसँग राम्रो सम्बन्ध रहेको छ भन्ने चर्चा सुनिन्थ्यो ।

राजा महेन्द्रले नेताहरूका क्षमता जाँच्न थालेदेखि नै पञ्चायतमा आबद्ध शीर्ष तहका नेताहरूबीच फाटो आउन थालिसकेको थियो । २०१७ साल पुस १ को राजनीतिक घटनाक्रमपछि सत्तामा सहभागी भएकामध्ये धेरै शक्तिशाली गृहमन्त्री विश्ववन्धु थापा हुनुहुन्थ्यो ।

आफ्नो कदमप्रति समर्थन गर्ने काङ्ग्रेसका नेताहरूलाई राजा महेन्द्रले कस्तो प्रस्ताव राखिबक्सनुभएको रहेछ भने, ‘मलाई ३–४ वर्ष मात्र मौका देऊ, म केही काम गरेर देखाउने छु ।’ पछिल्लो समय विश्ववन्धुको कस्तो भनाइ रहेको थियो भने, ‘राजाले आफूलाई केही वर्ष मौका दिन अनुरोध गरेपछि हामीले राजाको कदमलाई समर्थन जनाएका थियौँ । राजाले लामो समय शासन गर्ने भए त म किन लाग्थेँ र ? म त काङ्ग्रेसको शीर्ष तहमै थिएँ नि !’

हृषीकेश शाह क्षमतावान् हुनुहुन्थ्यो । अङ्ग्रेजी भाषामा पनि राम्रो दख्खल भएको विद्वान् व्यक्तित्व हुनुहुन्थ्यो । दिगो स्वभाव भने थिएन उहाँमा । आफूलाई कुनै कुराप्रति चित्त बुझेन भने राजासँग पनि निहुँ खोज्नसम्म पछि पर्नुहुन्नथ्यो । मौकापरस्त पनि हुनुहुन्थ्यो । उहाँले पनि प्रधानमन्त्रीमा आँखा लगाउनुभएको थियो तर मौका पाउनु भएन । त्यही कारण पनि उहाँ राजासँग रुष्ट देखिन थाल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्