काठमाडौं, २५ चैत्र । लोमस फार्मास्युटिकल कम्पनीले ह्याण्ड स्यानिटाईजरको उत्पादन सुरु गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलँदै गएको अवस्थामा लोमसले ह्याण्ड स्यानीटाइजरको उत्पादन सुरु गरेको हो ।
बजारमा ह्याण्ड स्यानिटाइजरको अभाव भइरहेको बेला लोमसले ह्याण्ड एक्स नामक स्यानिटाइजर बजारमा ल्याएको छ । आफूहरुले दैनिक १० हजार बोटल उत्पादन गरिरहेको कम्पनीका प्रनवजंग पाण्डेले जानकारी दिएका छन् । उनले संकटको अवस्थालाई मध्येनजर गरेर गुणस्तरीय स्यानिटाइजर बजारमा ल्याएको बताए । उनले भने, ‘बजारमा कम गुणस्तरका स्यानिटाइजरमा कालोबजारी भइरहेको देखेर हामीले यो काम सुरु गरेका हौँ ।’
पाण्डेले लोमसले उत्पादन गरेको स्यानिटाईजर अन्तर्राष्टियस्तरको भएको र विश्व स्वास्थ्य संगठनले समेत मान्यता प्रदान गरिसकेको बताएका छन् । उनका अनुसार बजारमा एक सय एमएलको एक सय ५० रुपैयाँ मुल्य पर्नेछ । ‘हाम्रो यो उत्पादनमा नेपाल सरकारका सबै सम्बन्धित निकायबाट अनुमतिसमेत प्राप्त भैसकेको छ’ उनले भने, ‘उद्योगमा अहिले हाम्रा कर्मचारीहरुले उच्च सतर्कता अपनाउँदै अहोरात्र काम गरिरहनुभएको छ ।’