काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नयाँ चरणको आर्थिक सुधारका निम्ति आफूहरूले पहल गरिरहेको बताएका छन् । यसमा सरकार र विकास साझेदारसँगको सहकार्य आवश्यक रहेको उनले उल्लेख गरे ।
अध्यक्ष ढकालले नेपालको औपचारिक भ्रमणमा रहेका बंगलादेश, भुटान र नेपालका निम्ति अन्तर्राष्ट्रिय वित्त निगम ९आईएफसी०का देशीय प्रबन्धक मार्टिन होल्टम्यानसँग बिहीबार भएको भेटमा यस्तो बताएका हुन् । त्यसक्रममा उनले नेपाल प्राकृतिक साधनस्रोतमा धनी, युवा र गतिशील जनशक्ति भएको र रणनीतिक भौगोलिक अवस्थिति रहेको पनि बताए ।
यसलाई पूर्ण रूपमा सदुपयोग गर्न र आर्थिक वृद्धिलाई अगाडि बढाउन व्यापारिक वातावरणमा सुधार, लगानी आकर्षित गर्ने नीति, उद्यमशीलता प्रवर्द्धनमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ ।
ढकालले नवप्रवर्तन, उद्यमशीलता विकास र दिगो आर्थिक वृद्धिलाई प्रवर्द्धन गर्ने वातावरण सिर्जना गर्न अन्तर्राष्ट्रिय वित्त निगमसँगको सहकार्य आवश्यक रहेको औँल्याए ।
होल्टम्यानले आईएफसी सधैँ निजी क्षेत्रको विकासको साझेदार भएको बताए । आईएफसी विश्वभरको आर्थिक वृद्धि र दिगोपनलाई प्रवर्द्धन गर्न पनि साझेदार भएको उनले उल्लेख गरे । उनले नेपालको विकास कार्यमा आईएफसीले निरन्तर सहयोग र सहकार्य गर्ने बताए ।