Logo
Logo

नवनियुक्त गभर्नरको चुनौती


अशोकशरण अधिकारी

0
Shares

  • अशोकशरण अधिकारी

काठमाडौं, २६ चैत । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर महाप्रसाद अधिकारीले मंगबलार पदबहाली गरेका छन् । अधिकारीलाई सरकारले बैंकको १७औँ गभर्नरमा नियुक्त गरेको हो विश्वव्यापी कोरोना भाइरसको महामारीसँग जुध्न मुलुक लकडाउनसँगै ठप्प भएको बेलामा उनको नियुक्ती भएको छ ।


नेपाल राष्ट्रबैंकमा करिब २५ वर्ष सहायकदेखि कार्यकारी निर्देशकसम्मको भूमिकामा रहेका अधिकारी पाँच वर्ष डेपुटी गभर्नर बनिसेका छन् । चार वर्षअघि डेपुटीबाट अवकाश लगत्तै हिजोसम्म लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा रहेकाले पनि अधिकारी मुलुकको आर्थिक र वित्तीय क्षेत्रकै वरिपरी सक्रिय थिए ।
यसबीचमा केन्द्रीय बैंकमा व्यावसायिक व्यक्तित्वलाई गभर्नरमा नियुक्त गर्नुपर्ने आवाज पनि उठ्यो । समग्र विश्व अर्थतन्त्र र वित्तीय क्षेत्रमै अकल्पनीय अवस्था सृजना भएको क्षणमा अधिकारीसँग सबै क्षेत्रले ठूलो आशा र भरोसा राखेको छ । आगामी पाँच वर्षको अवधिमा उनले त्यहि आशा र भरोसालाई व्यवहारमा उतार्नुपर्ने चुनौती नै उनको सामुन्ने रहेको ठूलो अवरोध हो ।
समग्रमा जुनसुकै मुलुकमा पनि वित्तीय क्षेत्रमा सबैभन्दा धेरै चुनौती हुन्छ । त्यस्तो चुनौतीको कुनै समयसीमा हुँदैन । अहिले नेपालको मात्र होइन समग्र विश्व अर्थतन्त्र नै चुनौतीपूर्ण अवस्थाबाट गुज्रेको छ । अर्थतन्त्रमा चुनौती बढ्दै जाँदा हाम्रो वित्तीय क्षेत्र थप संवेदनशील मोडमा पुगेको छ । यसलाई गम्भीरतापूर्वक लिँदै समाधानको पहल गर्नुपर्ने पहिलो चुनौती नयाँ गभर्नरको सामुन्ने देखिएको छ ।
विश्वका अधिकांश मुलुकमा सरकार र केन्द्रीय बैंकबीच नीतिगत प्रतिस्पर्धा हुनु कुनै नौलो विषय भने होइन । तर, हाम्रो सन्दर्भमा विगतमा गभर्नरको समेत जिम्मेवारी पूरा गरेका अर्थमन्त्रीले बैंकको स्वायत्ततामाथि पटक पटक प्रहार गरेको समाचार सार्वजनिक भइसकेको छ । अहिले बैंकको स्वायत्ततालाई कायम राख्नु नयाँ गभर्नरको अर्को चुनौती हो । आफूलाई नियुक्त गर्ने सरकार र आफू डेपुटी छँदाको गभर्नर नै यतिखेर अर्थमन्त्री रहेकाले पनि अधिकारीले आगामी केही समयसम्म यो चुनौतीलाई सोझै सामना गर्नसक्ने अवस्था भने देखिँदैन ।
सरकारले र नेपाल राष्ट्र बैंकले कोरोना प्रकोपबाट अर्थव्यवस्थामा कम प्रभाव पार्न गतसाता राहत प्याकेजको घोषणा गरिसकेका छन् । राहत प्याकेजले सीमान्तकृत र समस्याग्रस्त वर्गलाई तत्काल सहज भएपनि अन्ततः त्यसको असर पुनः वित्तीय क्षेत्रमा नै पर्छ । त्यसैले अहिलेको महामारीको अन्त्यपछि तत्काल वित्तीय क्षेत्रको सुधार गर्नुपर्ने भएकाले सोको आवश्यक तयारी केन्द्रीय बैंकले गर्नुपर्ने देखिन्छ । त्यसअघि बैंकले आवश्यकताबमोजिम दोस्रो राहत प्याकेजको घोषणा गर्नुपर्दछ । जसमा विशेषतः बैंकिङ्ग क्षेत्रमा ब्याजदरलाई न्यूनतम विन्दूमा कायम राख्नसक्नुपर्दछ । अर्को, हाम्रो सँधैको समस्या भनेको नगद तरलताको अभाव हो । त्यसैले अहिलेको असहज अवस्थामा पनि बैंकि¨ क्षेत्रमा नगद तरलता बढाउन आवश्यक पहल गर्नुपर्ने देखिन्छ ।
रोजगारीको मूल विषय केन्द्रीय बैंकको जिम्मेवारी होइन । तर, हालको विषम परिस्थितिबाट वैदेशिक रोजगारीमा पर्ने गम्भीर असरलाई न्यूनीकरणको पहल गरिनुपर्दछ । त्यसको लागि कृषि, लघुउद्यम र साना तथा मझौला व्यवसायलाई लक्षित गरी ग्रामीण क्षेत्रमा पर्याप्त लगानी बढाउन र पठाउन सक्नुपर्दछ । जसबाट रोजगारीमा सहयोगका साथै, कृषि र उत्पादनशील क्षेत्रको उत्पादकत्व बढाउन विशेष योगदान पुगोस् ।
अर्कोतर्फ, हाम्रो विदेशी मुद्राको आम्दानीमा देखिएको कमीको अवस्थामा भएको यो असहज अवस्थाले शोधनान्तर स्थितिमा निकै दबाब पार्नेछ । यसबीचमा विप्रेषण आप्रवाहमा पनि कमी आएको छ । अहिलेको विश्वव्यापी महामारीले यसमा थप असर पार्ने आँकलन गर्न सकिन्छ । यसको लागि विप्रेषण कम्पनीहरूलाई विशेष सशक्तिकरण गर्नुपर्ने देखिन्छ । मूल्यवृद्धिमा पर्ने चापलाई केन्द्रीय बैंकले रोक्न आवश्यक पहल गर्नुपर्ने चुनौती पनि नयाँ गभर्नरको सामुन्ने छ ।
विगत केही समयदेखि देखिँदै आएको बैंकको आन्तरिक चुनौतीलाई चिर्नुपर्ने बाध्यकारी अवस्था पनि उनीमाथि पर्नेछ । अहिलेको असहज परिस्थिति सहज भएलगत्तै नयाँ गभर्नरले केन्द्रीय बैंकको खस्केको नियमन र सुपरीवेक्षकीय भूमिकालाई उकास्नुपर्नेछ । वित्तीय क्षेत्रमा केही समयदेखि खस्केको वित्तीय अनुशासनलाई पनि बढाउन सक्नुपर्नेछ । यसको लागि नियमनकारी निकाय बैंकका कर्मचारीमा देखिएको अराजकता र बिचौलियाको प्रवृत्तिलाई तत्काल रोक्नुपर्नेछ । गभर्नरले आफ्ना सामु देखिएका उपरोक्त चुनौतीको सहज अवतरणका लागि नीजि क्षेत्र, बैंकर, सरोकारवाला संस्था र निकायसँग हातेमालो गर्नुको विकल्प पनि देखिँदैन ।

प्रतिक्रिया दिनुहोस्