विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन् ।
यही वैशाख २७ गते कार्की नेकपा एमाले र नेकपा माओवादी केन्द्रका ५२ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री कार्कीले सोही दिन मन्त्रिपरिषद् बैठक राखेर प्रदेशसभाको बर्खे अधिवेशन आह्वानको लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका थिए ।
सरकारको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले वैशाख ३१ गते सोमबार बिहान ११ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरेका छन् । सोही बैठकमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । जसका लागि उने प्रदेशसभा सचिवालयमा सूचना समेत दर्ता गराइसकेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले भने मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठक बहिष्कार गर्ने तयारी गरेको छ ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियाको विरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिष्कार गर्ने बताएको हो ।
यता, नकपा एकीकृत समाजवादीले पनि मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने जनाएको छ । सर्वोच्च अदालतमा मुद्दा विचाराधीन अवस्थामै रहेका बेला विश्वासको मत लिन खोजेको भन्दै एकीकृत समाजवादीले मुख्यमन्त्री कार्कीलाई विश्वासको मत नदिने भएको हो ।
एकीकृत समाजवादी कोशी प्रदेश संसदीय दलका नेता राजेन्द्रकुमार राईले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने बताए । उनले भने, ‘मुख्यमन्त्रीविरुद्धको मुद्दा अदालतमा विचाराधिन छ । हतार हतार बेला विश्वासको मत लिन खोज्नु गलत हो, हामी विश्वासको मत लिने बैठकमा अनुपस्थिति रहन्छौं ।’
संविधानको धारा १६८ को उपधारा ५ अनुसार २७ असोजमा नियुक्त मुख्यमन्त्री केदार कार्कीले साझेदार दलले समर्थन फिर्ता लिएपछि विश्वासको मत नलिएको भन्दै प्रदेश प्रमुख खापुङले उनी पदमुक्त भएको निष्कर्ष निकालेर २६ वैशाखमा नयाँ सरकार गठन आह्वान गरेका थिए ।
२७ वैशाखमा कार्कीले एमाले र माओवादीका गरी ५२ सांसदको समर्थन पेस गरेपछि त्यसै दिन प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका थिए । त्यसै दिन मुख्यमन्त्री कार्कीले एमाले र माओवादीका एक(एक नेतालाई मन्त्रिपरिषदमा सहभागी गराइसकेका छन् । विश्वासको मत लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने उनको तयारी छ ।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री नियुक्ति भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने हुन्छ । ९३ प्रदेशसभामा बहुमतको पुर्याउनको लागि ४७ मत आवश्यक पर्दछ ।
हाल कोशी प्रदेश सभामा एमालेको ४०, नेपाली काँग्रेसको २९, नेकपा माओवादीको १३, राष्ट्रिय प्रजातन्त्र पार्टीको ६, नेकपा एकीकृत समाजवादीको ४ र जसपाको १ जना सांसदले प्रतिनिधित्व गरिरहेका छन् ।