काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै राखेको छ ।
आज बूढानीलकण्ठस्थित सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा संसदको गतिरोध र सरकार जेठ १ गते ल्याउन लागेको नीति तथा कार्यक्रम लगायत विषयमा छलफल भएकाे छ । बैठकमा संसदीय छानविन समिति गठन हुनैपर्ने नेताहरुले बताएको बैठकमा सहभागी एक पदाधिकारीले बताए । बैठक जारी छ ।
संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भने स्थगित गरेको छ । आज दिउँसोका लागि तय गरिएका दुवै बैठक भोलिसम्मका लागि स्थगित गरिएको कांग्रेसले जनाएको छ ।
सरकारले मंगलबार अपराह्न संघीय संसदको संयुक्त बैठकमा नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । संसदीय छानबिन समिति गठन नगरे सदन चल्न नदिने कांग्रेसले बताउँदै आएको छ ।
प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गर्नुपर्ने अडान कायमै रहेको बताए । उनले भने, ‘हामीले अडान छाडेका छैनौँ, सहकारी प्रकरणमा संसदीय छानविन समिति गठन नभएसम्म संसद चल्न दिन्नौँ ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार अपराह्न चितवन पुगेर संकटग्रस्त सहकारीबारे अध्ययन गरी प्रतिवेदन दिने गरी समिति बनाउन सकिने बताएका थिए ।
यसबारे प्रधानमन्त्री प्रचण्डले आइतबार कांग्रेससँगको छलफल गरेका थिए । छलफलपछि मंगलबार बिहानसम्म निकास निस्कने प्रधानमन्त्रीको विश्वास थियो । यदि, सहमति नभएपनि कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठक अवरोध नगर्ने प्रधानमन्त्री प्रचण्डको विश्वास छ ।