काठमाडौं । नेपालीमा एउटा उखान छ- घाँटी हेरेर हाड निल्नु । उक्त उक्ति राजनीतिमा पनि लागू हुन्छ । घाँटी नहेरी हाड निल्न खोज्दा के हुन्छ भन्ने ज्वलन्त उदाहरण हुन्, उपेन्द्र यादव ।
लोभले लाभ लाभले विलाप भन्ने उक्ति पनि उनै उपेन्द्रमा लागू भएको छ । बल्लतल्ल राष्ट्रिय दल बनेको पार्टीका अध्यक्ष उपेन्द्रले प्रधानमन्त्रीको महत्वकांक्षा बोक्दा मन्त्री पद पनि गुमाउनु परेको हो ।
केन्द्रमा १२ सिट हुँदा पनि उपप्रधानसहित दुई मन्त्री र एक राज्यमन्त्री पाएको जसपा नेपाले मधेसमा मुख्यमन्त्री पाएको थियो । मधेशमा तेस्रो दल रहे पनि पहिलो दल एमाले र दोस्रो दल माओवादीले जसपा नेतृत्वको सरकार स्वीकार गरेका थिए ।
तर, एमाले, माओवादी गठबन्धनमै रहेर पनि कांग्रेससँग मिलेर जसपा नेपालका अध्यक्ष यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री बन्ने दाउमा थिए । प्रधानमन्त्री खाने दाउको पहिलो सिकार बनेका हुन्, उपेन्द्र यादव । उनी, सत्ता राजनीतिबाटै किनाराकृत हुँदै गएका छन् ।
मधेस आन्दोलनपछि चम्किएका उपेन्द्र अहिले राजनीतिक जीवनकै कठिन मोडमा पुगेका छन् । पार्टी विभाजनसँगै उनको पार्टी जसपा नेपाल केन्द्र सरकारबाट बाहिरिन बाध्य भएको छ । केन्द्रमा मात्रै होइन, मधेश प्रदेशमा जसपा नेतृत्वको सरकार गुम्ने पक्का छ ।
उपेन्द्रले मधेसको राजनीतिमा कुनै समय एकलौटी राज गरेका थिए । तर, प्रधानमन्त्री बन्न खोज्दा अहिले उनी आफै राजनीतिक जीवनकै कठिन मोडमा पुगेका छन् । सत्तामा हुँदाहुँदै सत्ता विरोधी षडयन्त्र गर्न थालेपछि उपेन्द्रमाथि बज्रपात भएको हो ।
उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री रहेका यादवले राजीनामा समेत दिइसकेका छन् । यता, जसपा नेपालका १२ सांसदमा ७ जनालाई लिएर पार्टी विभाजन गराएका अशोक राईको पार्टी भने सरकारमा ‘इन’ भएको छ ।
पार्टी विभाजनपछि उपेन्द्र एकपछि अर्को गर्दै एक्लिने र सत्ताविहीनताको स्थितिमा पुगेका छन् । मधेसमा एमाले-माओवादीसहित चार दलले मुख्यमन्त्रीमा दाबी पेश गर्ने जनाइसकेका छन् ।
आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर आफूमाथि कांग्रेससँग गठबन्धन बनाउन लागेको भनेर गलत आरोप लगाइएको भन्दै स्पष्टीकरण समेत दिए । तर, प्रधानमन्त्री प्रचण्डले उनको कुरा पत्याएनन् । सरकार छाड्दा नै राम्रो हुने सुझाव दिए ।
त्यसपछि उपेन्द्रले पार्टीका केन्द्रीय कार्यकारिणी समिति बैठक बोलाए । र, उक्त बैठकबाट निर्णय गराएर जसपा नेपाल सरकारबाट बाहिरियो । सरकारबाट बाहिरिएसँगै जसपा नेपालले प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएको छ ।
यही वैशाख २३ गते उपेन्द्र नेतृत्वकाे जसपा नेपाल फुटेको थियो । अशोक राईले उपेन्द्र विदेशमा हुँदै पार्टी फुटाएका थिए । त्यसको एक सातापछि केन्द्र सरकारबाट बाहिरिनु पर्याे । केन्द्रमा मात्रै होइन, मधेस सरकारबाट समेत हात धुनुपर्ने स्थिति आइपुगेको छ ।
अशोक राईले पार्टी फुटाएपछि उपेन्द्रले आफूहरू वैकल्पिक गठबन्धन बनाउन नलागेको स्पष्टीकरण दिएका थिए । साथै उनले सरकारलाई दिएको समर्थन पनि कायमै राखेका थिए ।
तर, उपेन्द्रको यस्तो दाबीमा एमाले अध्यक्ष केपी ओलीले साङ्केतिक रूपमै भएपनि जसपा विभाजनको कारण खुलाइदिए । सत्ता समीकरण फुटाउन उपेन्द्रले चलखेल गरेको भन्दै ओलीले पार्टी विभाजनको विषयलाई उजागर गरिदिए ।
माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् पुनर्गठन भएदेखि नै जसपा नेपाल आन्तरिक विवादमा थियो । प्रचण्डले गत २१ फागुनमा एमाले, माओवादी र रास्वपासहितको गठबन्धन बनाएका थिए ।
त्यसबेला जसपा नेपाललाई उक्त गठबन्धमा सहभागी गराउन निकै मिहिनेत गर्नुपरेको थियो । लामो कसरतपछि नवलकिशोर साह सुडीलाई वन तथा वातावरण र दीपक कार्कीलाई सोही मन्त्रालयको राज्यमन्त्री बनाउँदै यादव उपप्रधान तथा स्वास्थ्यमन्त्री बनेका थिए ।
माओवादीसँगको सहकार्य अप्रत्याशित रूपमा टुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवा वैकल्पिक गठबन्धनको तयारीमा थिए । यसमा उनलाई उपेन्द्रसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले साथ दिएका थिए ।
देउवा, नेपाल र यादवबीच पटकपटक भएका संवादपछि उनीहरूबीच बाँकी कार्यकाल बाँडेर तीनै जना आलोपालो प्रधानमन्त्री बन्ने समझदारी बनेको थियो । त्यही समझदारीले आकार लिने सम्भावना देखेपछि नेता प्रचण्ड–ओलीले जसपा नै फुटाइदिएको विश्लेषण भइरहेको छ ।
संघीयतापछि मधेसको नेतृत्व उपेन्द्रको पार्टीले नै गर्दै आएको थियो । मधेस सरकारमा नेतृत्व दिइरहेको जसपा अन्ततः अब संकटमा फसेको छ । सरकार निर्माणमा निर्णायक भूमिका खेल्ने स्थिति कमजोर बनिरहेको छ ।
जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी दुबैसँग राम्रो सम्बन्ध नरहेको जसपालाई अब सरकारको नेतृत्व मिल्ने स्थिति छैन् । कांग्रेसको समर्थनले सरकारलाई बहुमत पुग्दैन ।
यति मात्रै नभई अब मधेसमा जसपाका सांसदहरूले अशोक राई नेतृत्वको पार्टीमा सनाखत गर्ने स्थिति थप बढ्नेछ । यसरी हेर्दा जसपाले मधेसमा गरिरहेको नेतृत्व र वर्चस्व सहजै गुमाउने भएको छ ।