काठमाडौं । अमेरिका तथा क्यानडा लैजाने भन्दै मानव तस्करी गरी ठगी गरेको अभियोगमा तीन जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा ओखलढुंगा खिजिदेम्बा गाउँपालिका–२ बस्ने ४८ वर्षीय जगत बहादुर तामाङ, तनहुँ ऋषिङ्ग गाउँपालिका–२ बस्ने ४८ वर्षीय जंग बहादुर विक (बराल) र ४६ वर्षीय बिष्णु बहादुर बराली रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनीहरूलाई कञ्चनपुर गड्डाचौकी नजिकबाट पक्राउ गरेको हो ।
अमेरिका, क्यानडा लगायतका मुलुकहरूमा पठाइदिन्छौं भन्दै १० जना व्यक्तिहरूबाट ५ करोड ५० लाख रूपैयाँ ठगी गरेको अभियोगमा यसअघि सिन्धुपाल्चोकका टासी शेर्पा, ङिमबुटी शेर्पा र निमा शेर्पालाई प्रहरीले पक्राउ गरेको थियो । टासी, ङिमबुटी र निमालाई एजेन्टको रूपमा राखि जगत बहादुर समेत ३ जना भारतको नयाँ दिल्लीमा बसेर संगठित रूपमा मानव तस्करी एवम् ठगी गरेको खुल्न आएको छ ।
उनीहरूले अमेरिका लैजाँदा दुबई ट्रान्जिट बनाएर केन्या र युगान्डा लगेर राहदानी तथा डलर खोसी ६ देखि ९ महिनासम्म अलपत्र पारी राखेको, केन्या र युगान्डामा सम्बन्धित देशको नागरिक समेतलाई एजेन्ट राख्ने गरेको, पीडितहरू अमेरिका प्रवेश गरे पश्चात जेलमा पर्ने र आफ्ना मानिसहरूले कानुन व्यवसायीहरू प्रयोग गरी जेलबाट मुक्त गरी रोजगारीमा लगाउने भनि पहिले नै काउन्सेलिङ गरी विश्वास दिलाउने गरेको समेत प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।
उनीहरूलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । साथै उनीहरूमध्ये जगत बहादुरविरुद्ध वैदेशिक रोजगारी विभागबाट पक्राउ पुर्जी समेत जारी भएकोले उनलाई वैदेशिक रोजगार विभाग पठाइने काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।