काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१–८२ को वार्षिक नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ बजे बस्ने सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका हुन् ।
सरकारको वार्षिक बजेट अघि सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास छ । सो अभ्यासअनुसार राष्ट्रपतिले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेका हुन् ।
यद्यपि नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी घोटाला प्रकरणमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै सदन अवरोध गरिरहेको छ । समिति गठन नभएसम्म सरकारलाई नीति तथा कार्यक्रम ल्याउन नदिने उसको अडानले आजको कार्यक्रम प्रभावित हुन सक्ने देखिएको छ ।