काठमाडौं । काठमाडौंका केही ठाउँमा भोलि (बिहीबार)देखि चार दिनसम्म दैनिक ६ घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ ।
काठमाडौं उपत्यका पूर्व तथा दक्षिण वितरण प्रणाली सुदृढीकरण आयोजना खरिपाटी भक्तपुरले आज एक सूचना जारी गर्दै विद्युत् वितरण लाइन भूमिगत गर्ने कार्यका लागि भोलिदेखि यही जेठ ८ गतेसम्म काठमाडौंका २८ ठाउँमा विद्युत् सेवा कटौती हुने जानकारी दिएको हो ।
जसमा काठमाडौंको नयाँ बजार, क्षेत्रपाटी, भिमसेनस्थान र त्रिपुरेश्वर फिडरबाट वितरित विजुली बिहान ११ बजेदेखि साँझ पाँच बजेसम्म अवरुद्ध हुने छ । जेठ ३ र ५ गते नयाँ बजार फिडर र क्षेत्रपाटी फिडर अन्तर्गतका खुसिबु, सोह्रखुट्टे, भ्याली कोल्डस्टोर, पिपुल्स डेन्टल अस्पताल क्षेत्रमा विद्युत् अवरुद्ध हुने छ ।
जेठ ५ गते नै टेकु, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी चोक, धोबीचौर, ठहिँठी, पकनाजोल, ज्याठा र कान्तिपथ क्षेत्रमा पनि बत्ती जानेछ । त्यसैगरी जेठ ६ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौँ १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बिजुली जानेछ ।
जेठ ८ गते भिमसेनस्थान फिडर अन्तर्गत पर्ने काठमाडौँ १२ नम्बर वडा कार्यालय, ह्युमत, जैसीदेवल, चिगमंगल, भिमसेनस्थान, कास्टमण्डप क्षेत्रमा बत्ती जानेछ । जेठ ८ गते नै त्रिपुरेश्वर फिडर अन्तर्गत पर्ने टेकु, पचली भैरव मन्दिर, बम्सीघाट, सवलबहाल, त्रिपुरेश्वर र विश्वनिकेतन स्कुल क्षेत्रमा बत्ती जाने छ । मौसम प्रतिकुल भएमा विद्युत् आपूर्ति बन्द हुने छैन ।