काठमाडौं । बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले बिहान ११ बजेलाई बोलाएको बैठक अपराह्न चार बजेलाई सारिएको हो ।
सभामुख देवराज घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले बैठक चार बजेलाई सारिएको जानकारी दिए । यसअघि सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिच टेलिफोन संवाद भएको थियो । उक्त संवादमा प्रधानमन्त्रीले कांग्रेससँग सहमतिको प्रयास भइरहेकाले केही समय बैठक पर सार्न आग्रह गरेका थिए ।
सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएपछि कांग्रेसले संसदीय छानबिन समिति गठन नगरे संसद् चल्न नदिने भन्दै सदनमा अवरोध गर्दै आइरहेको छ ।