काठमाडौं । नेपाली कांगेसका नेता डा. शेखर कोइरालाले एमाले अध्यक्ष केपी शर्मा ओलीको धम्कीबाट कांग्रेस नडराउने बताएका छन् ।
बिहीबार काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा बोल्दै नेता कोइरालाले ओलीलाई लक्षित गर्दै राजाको धम्कीबाट नडराएको कांग्रेस कुनै दलको धम्कीसँग नडराउने टिप्पणी गरेका हुन् ।
नेता कोइरालाले भने, ‘सहकारीबारे कांग्रेसले सदनमा कुरा राखेको हो । कुनै राजनीतिक दलबाट कांग्रेसलाई जुन धम्कीको भाषा आइरहेको छ । राजाको धम्कीसँग कांग्रेस डराएन, कुनै दलको धम्कीसँग हामी डराउँदैनौँ ।’
बुधबार बसेको संसदीय दलको बैठकमा बोल्दै अध्यक्ष ओलीले एमालेका सन्दर्भमा बोल्दा विचार पुर्याउन भन्दै कांग्रेसका नेताहरुलाई चेतावनी दिएका थिए । त्यसको जवाफ दिँदै नेता कोइरालाले कुनै दलको धम्कीसँग कांग्रेस नडराउँने बताएका हुन् ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी प्रकरणमा छानविन गर्नको लागि संसदीय समिति बनाउनुपर्ने कांग्रेसले अडान लिएपछि एमालेसँग टकराब बढेको छ । सरकार गृहमन्त्रीमाथि छानविन समिति बनाउने पक्षमा छैन ।