काठमाडौं । प्रतिपक्षी पाँच दलले सहकारी गठी प्रकरणमा संसदीय छानबिन समिति गठन हुनुपर्ने निष्कर्ष निकालेका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आह्वानमा संसद भवनमा बसेको बैठकमा संसदीय छानबिन समिति गठन हुनुपर्नेमा एकमत देखिएका हुन् ।
कांग्रेस महामन्त्री गगन थापाले संसदीय छानबिन समिति गठन हुनुपर्नेमा पाँच दल एमकत रहेको जानकारी दिए । यस्तै बैठकले बिहीबार प्रतिनिधिसभा बैठकमा सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै यसबारे उनलाई नै भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
बैठकमा कांग्रेससहित लोसपा, जसपा नेपाल, राप्रपा र राष्ट्रिय जनमोर्चाको सहभागिता थियो । तर, बैठकमा प्रतिपक्षमा रहेको सीके राउत नेतृत्वको जनमत पार्टी भने उपस्थित थिएन ।
कांग्रेसले सहकारी ठगीमा मुछिएका रवि लामिछानेमाथि संसदीय छानबिन हुनुपर्ने माग गर्दै नरिन्तर संसद अवरोध गर्दै आइरहेको छ । बिहीबारको बैठकमा त सत्ता र प्रतिपक्षका सांसदबीच धकेलाधकेलको अवस्था सिर्जना भएको थियो ।