Logo
Logo

अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्छः अध्यक्ष ओली


1.4k
Shares

वीरगञ्ज (पर्सा) । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गतेभित्रै बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद् अवरुद्ध गर्न नहुने बताएका छन् ।

नेकपा (एमाले) पर्साको नवौँ जिल्ला अधिवेशनबाट नवनिर्वाचित कार्यसमिति र लेखा समितिका पदाधिकारी एवम् सदस्यहरुहरूको शपथग्रहण कार्यक्रमलाई आज वीरगञ्जमा सम्बोधन गर्दै अध्यक्ष ओलीले नीति, कार्यक्रम र बजेट ल्याउनुपर्ने भएकाले अब संसद्को गतिरोध अन्त्य गरेर अगाडि बढ्नुपर्ने बताए ।

‘जेठ १५ गतेभित्र अहिले बजेट ल्याउनुपर्ने संवैधानिक बाध्यता भएकाले संसद्सँग थोरै समय छ । त्यसअघि नीति तथा कार्यक्रम पारित गर्नुपर्ने छ । त्यसकारण संसद् चलाउनै पर्छ’, उनले भने, ‘देशै ठप्प पार्ने काम स्वीकार्य हुँदैन । कांग्रेसले जेजे भन्छ त्यही मान्न सकिँदैन ।’

अध्यक्ष ओलीले कुनै पनि व्यक्तिलाई आरोप लगाइसकेपछि संसद्मा बोल्न दिनुपर्नेमा जोड दिए । ‘कांग्रेसले एकजना मान्छेलाई आरोप लगाउँछ । ममाथि लगाएको आरोपका बारेमा संसद्मा बोल्छुभन्दा पनि बोल्न दिँदैन । बोल्न पाइँदैन, आयोग बनाउनुपर्छ भन्छ । आरोप लगाएपछि बोल्न त पाउनुपर्यो नि’, अध्यक्ष ओलीले भने । त्यसैगरी उहाँले अब कांग्रेस पनि संसद् चलाउन तयार हुनुपर्नेे बताए ।

अध्यक्ष ओलीले संसद् विघटन गर्ने ठाउँमा पुर्याउन खोज्दैछन् भनेर आफूविरुद्ध कांग्रेस हाउगुजी फैलाउने काम गरिरहेका प्रति कटाक्ष गरे । ‘कांग्रेसले संसद विघटनको हाउगुजी फैलाउने खालको झुट बोलेको छ । बेइमानी कुरा गरेको छ’, उनले भने, ‘त्यस्ता कुरा पत्याएर हिँड्ने होइन ।’ त्यसअवसरमा एमाले पर्साका नवनिर्वाचित अध्यक्षसहित एक सय २७ जना पदाधिकारीले शपथग्रहण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्