हामी वर्तमान बाँचिरहेका हुन्छौँ । तर, चिन्ता सधैँ भविष्यको हुन्छ । भविष्यको चिन्ताले धेरैका वर्तमान नै बर्बाद बनाइरहेको हुन्छ ।
मानवीय जीवनमा चिन्ता हुनु स्वाभाविकै हो । हामी चेतनशील छौं, चिन्ता हुन्छ नै । तर, चिन्ताले चिताको बाटोमा पनि पु¥याउन सक्छ । चिन्तालाई उचित व्यवस्थापन गर्न नसके मानसिक रोगी बनाउँछ । यो एक किसिमको मानसिक विकार हो । अहिले तनाव विश्वकै प्रमुख समस्याको रूपमा देखापरेको छ । आफ्नो उत्पादनशील समय पीडा र छटपटीमा बिताउन विवश छन् ।
हिजोले आज जन्मायो । आजले भोलि जन्माउँछ कि जन्माउँदै ? त्यो निश्चित छैन । त्यहीँ अनिश्चित कुराले हामीलाई सधैँ सताइरहन्छ । एउटै सोचाइले निरन्तरता पाइरहँदा अन्ततः त्यो भयानक, डरलाग्दो र घातक हुन सक्छ । किशोर अवस्थामा भविष्यको विषयमा सोच्नु सामान्य हो । तर, जब भविष्यको सोचमा मात्रै मनमा आउँछ, मानसिक समस्या निम्तिन सक्छन् ।
सानो छँदा हामीले आशीर्वाद पाएका थियौँ– धेरै पढेर ठूलो मान्छे बन्नु । ठूलो मान्छे बन्नु भनेको भविष्य राम्रो बनोस् भन्नु हो । ठूलो मान्छे बन्ने विचारले हाम्रो मथिङ्गलमा जडो गाडेको छ । सबैलाई ठूलो मान्छे बन्नु छ । अर्थात् भविष्य राम्रो बनाउनु छ ।
पढ्नु भनेको शिक्षा लिनु हो । शिक्षा लिनु राम्रो हो । तर, हाम्रो शिक्षा प्रणालीले कस्तो शिक्षा दिइरहेको छ ? हाम्रो शिक्षा प्रणाली ‘हाउगुजी’ त बनिरहेको छैनौं ?
विद्यार्थीलाई स्कुलमा के सिकेभन्दा पनि परीक्षामा कति अंक आउँछ भन्ने महत्त्वपूर्ण हुन्छ । शिक्षकमा समेत आफूले पढाएको विद्यार्थीले राम्रो ज्ञान र व्यवहारभन्दा उच्च अंक प्राप्त गरोस् भन्ने अपेक्षा हुन्छ । यसले पनि हाम्रो शिक्षा परीक्षाको अंकमा मात्रै केन्द्रित भएको प्रस्ट हुन्छ ।
पढेर सबै कुरा जानेपनि परीक्षा हल छिर्नुअघि डरै हुन्छ । राम्रो अंक ल्याउने चिन्ता हुन्छ । किनकि, भविष्य नबिग्रियोस् भन्ने चिन्ता छ । भविष्य राम्रो बनाउन परीक्षामा राम्रो अंक ल्याउनै पर्ने दबाब छ । राम्रो अंक ल्याउने तनावले सताइरहन्छ । जसले मानसिक तनाव निम्त्याइरहेको छ ।
यसको एक उदाहरण हुन्– स्नेहा लामिछाने । परीक्षाको तनावले उनी आठ दिन गायब नै भइन् । शान्ति खोज्दै भौतारिन् । कहिले चितवन पुगिन् । कहिले काठमाडौं आइन् । भोक प्यास सबै भुलिन् । मन्दिरमा रात कटाइन् । हराएको ८ दिनपछि पशुपति परिसरमा भेटिइन् ।
उनले पढाइएको तनाव कम गर्न आफू शान्तिको खोजीमा भौतारिएको बताएकी छन् । उनले भनेकी छिन्– ‘आफैले रोजेको विषय (इन्जिनियरिङ) राम्रोसँग पढ्न सकिनँ । एक्ज्याम पनि आइसकेको थियो । धेरै पढ्नु छ । कसरी पढ्ने ? भन्ने चिन्ता थियो । केही समयअघि आन्तरिक परीक्षा भएको थियो । कहिले पनि फेल नहुने मलाई पाँच वटा विषयमा चार वटा लाग्यो ।’
स्नेहको कुराअनुसार पढाइको तनाव कम गर्न उनी पशुपति पुगिन् । पशुपतिबाट फर्केर स्वयम्भु । त्यसको भोलिपल्ट चितवनको देवघाट पुगिन् । देवघाटमा तीन दिन बसिन् । त्यसपछि काठमाडौं फर्किइन् । काठमाडौं फर्केपछि उनी बस्दै आएकी मामाघर गइनन् । विभिन्न ठाउँमा भौतारिइन् ।
यो घटना झट्ट सुन्दा सामान्य लाग्छ । तर, गम्भीर छ । हाम्रो शिक्षाप्रति गम्भीर प्रश्न खडा भएको छ । हामीले कस्तो शिक्षा दिइरहेका छौँ ? शिक्षाले हामीलाई कता लाँदै छ ? डिप्रेसनमा पु¥याउने शिक्षा कस्तो शिक्षा हो ?
विद्यार्थीलाई स्कुलमा के सिकेभन्दा पनि परीक्षामा कति अंक आउँछ भन्ने महत्त्वपूर्ण हुन्छ । शिक्षकमा समेत आफूले पढाएको विद्यार्थीले राम्रो ज्ञान र व्यवहारभन्दा उच्च अंक प्राप्त गरोस् भन्ने अपेक्षा हुन्छ । यसले पनि हाम्रो शिक्षा परीक्षाको अंकमा मात्रै केन्द्रित भएको प्रस्ट हुन्छ ।
विद्यार्थीको एकमात्र र अन्तिम लक्ष्य पनि राम्रो अंक ल्याउने हुन्छ । स्नेहलाई पनि अंककै चिन्ताले बेपत्ता बनाएको हो ! राम्रो अङ्कको पछाडि दगुर्दा–दगुदै विद्यार्थीको महत्त्वपूर्ण पाटाहरू छुटेको पत्तै हुँदैन । नजिता नराम्रो आउँदा डिप्रेसनमा पु¥याउँछ । आत्महत्या समेत गरेको पाइन्छ ।
परीक्षा र त्यसको फल फगत एउटा पाटो मात्र हो । तर दुर्भाग्य, अहिलेको हाम्रो शिक्षा त्यसैमा अड्किरहेको छ । एउटा व्यक्तिको भविष्य त्यही परीक्षाफलमा निर्भर भइरहेको छ । विद्यालयमा सिक्ने भनेको किताबी ज्ञान मात्रै हो । वर्षभरि किताब घोकाइन्छ । र, वर्षको अन्तिममा किताबमा भएको सूचना कतिसम्म याद गर्न सक्छन् भनेर जाँचिन्छ ।
परीक्षा नजिकिएसँगै नजिता के होला भन्ने सोचले चिन्तालाई बढवा दिन्छ । नियमित दिनचर्यामा प्रत्यक्ष–परोक्ष बाधा पु¥याइरहेको हुन्छ । आफूले गरिरहेको काममा ध्यान केन्द्रित गर्न सक्दैनन् ।
यस्ता शिक्षा र परीक्षा प्रणालीले आवश्यक मेसिनको मात्र उत्पादन गर्छ । केही कक्षाहरू पास हुन्छन् । यस्ता शिक्षा र मूल्याङ्कन प्रणालीले हाम्रो शिक्षा बजारमा बिक्ने कागजमात्रै बनिरहेको छ । परीक्षाको लागि पढेर/पढाएर मात्रै पुग्दैन । मानिसलाई शिक्षित र क्षमतावान् बनाउने जिम्मेवारी पनि बोक्नुपर्छ ।
मूल्याङ्कनका अनेकौँ विधि हुन सक्छन् । पाठ्यक्रममा विविध परिवर्तन आइरहेका छन् । पढाउने तरिका, पढ्ने विधि सबै वैज्ञानिक र आधुनिक हुँदै गएको छ । तर, मूल्याङ्कन लागि चाहिँ ३ घण्टे परीक्षा ! शिक्षामा कक्षा पास भएर मात्रै हुँदैन, आश गर्ने हुनुपर्छ । परीक्षालाई अन्तिम लक्ष्य रूपमा नभई सिकाइको एउटा माध्यमको रूपमा लिनुपर्छ ।
कक्षा कोठाको व्यवहार, विषयको बुझाइ, कुनै विषय वस्तुमा दिइने प्रस्तुति, प्रोजेक्ट वर्कमा सक्रियता र सिर्जनशील प्रयोगलगायत मूल्याङ्कनका अरू पनि आधार छन् । तर, परम्परागत परीक्षा प्रणालीमा कहिलेसम्म अल्झिरहने ? ‘काम नलाग्ने’ शिक्षालाई लिएर कहिलेसम्म तनाव झेलिरहने ?
तनावले भावनात्मक रूपमा कमजोर महसुस गर्ने, लागूपदार्थको दुव्र्यसन, आत्महत्या गर्ने विचार र पढाइ छाड्ने सोचाइ आउँछ । तनावकै कारण कुलतमा समेत फस्छन् । यस्तो अवस्थाले विद्यार्थीको आत्मसम्मान र आत्मविश्वास खस्किन्छ ।
विद्यार्थी आफ्नो पढाइबाट मात्र होइन, परिवार र समाजको उच्च अपेक्षाका कारण पनि तनावमा पर्छन् । धेरै समय परिवारबाट अलग रहनुपर्दा वा परिवारबाट साथ नपाउँदा पनि केही विद्यार्थी तनावमा पर्दछन् । केही विद्यार्थीलाई तनावमा बस्ने बानी परेको हुन्छ, तिनले तनाव सम्हाल्न पनि जान्दछन् ।
तनाव हटाउन मानसिक स्वास्थ्यबारे सचेतना, सास फेर्ने योगअभ्यास, व्यायाम, साथीसँग र परिवारको सहयोग, विशेषज्ञहरूको मद्दत र समय व्यवस्थापन प्रभावकारी तरीका हुन सक्छन् । सबैभन्दा राम्रो भनेको अंकको चिन्ता नलिनु हो । त्यसैले अङ्कको पछाडि दौडिन छोड्नुपर्छ । साथै पाठ्यपुस्तक, शिक्षण र मूल्याङ्कन विधि पनि परिवर्तन गर्न जरुरी छ ।