Logo
Logo

प्रहरी जवान घिमिरेको हत्यामा संलग्न ७ जना आरोपी सार्वजनिक


693
Shares

काठमाडौं । नेपाल प्रहरीले प्रहरी जवान युवराज घिमिरेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका ७ जनालाई सार्वजनिक गरेको छ । ट्राफिक प्रहरी प्रभाग, दरबारमार्गमा कार्यरत जवान घिमिरेको हत्यामा संलग्नलाई समात्न प्रहरीले हवाई फायरसमेत गरेको थियो ।

आइतबार जिल्ला प्रहरी परिसर, टेकुमा पत्रकार सम्मेलन गरेर हत्यामा संलग्नहरुलाई सार्वजनिक गर्दै काठमाडौं प्रहरी प्रमुख एसएसपी वसन्त रजौरेले हत्यामा संलग्नहरू अष्टनारायण हल पछाडि र २२ धारा जंगलबाट भाग्न लागेको अवस्थामा एक राउन्ड हवाई फायर गरेर समातिएकाे बताए । उनले भने, ‘भौतिक तथा प्राविधिक पक्षको विश्लेषणपछि घिमिरेको हत्यामा संलग्न नाबालकसहित ७ जनालाई पक्राउ गरेका छौं ।’

उनका अनुसार पक्राउ पर्नेमा भक्तपुर घर भएका २१ वर्षीय आइते भनिने सचिन परियार, नुवाकोट घर भएकी १८ वर्षीया अञ्जली श्रेष्ठ, स्याङ्जा घर भएकी २१ वर्षीया विपना भनिने वसुन्धारा कार्की, ५६ वर्षीया महिला, नुवाकोट घर भएका २१ वर्षीय बुद्ध लामा तामाङ, सिन्धुपाल्चोक घर भएका ३० वर्षीय दोर्जे भनिने अमृत तामाङ र १३ वर्षका नाबालक छन् ।

प्रहरीका अनुसार उनीहरू सबै लागुऔषध प्रयोगकर्ता हुन् । गएको शुक्रबार तारकेश्वर नगरपालिका-९, मनमैंजुमा एक निर्माणाधीन घरको भुइँमा घिमिरे रक्ताम्ये अवस्थामा मृत फेला परेका थिए । त्यो घरलाई लागुऔषध प्रयोगकर्ताहरूले अखडा बनाएका थिए ।

जिल्ला प्रहरी परिसर, काठमाडौंले शनिबार रातिसम्ममा २१ जना लागुऔषध प्रयोगकर्तालाई नियन्त्रणमा लिएको थियो । बयान र सोधपुछपछि संलग्नता देखिएका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार प्रहरी जवान घिमिरे पहिले बसपार्क क्षेत्रमा कार्यरत रहँदा हाल पक्राउ परेका परियारसँग चिनजान भएको थियो । खोटाङ घर भएका घिमिरे सामाखुशी बस्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्