काठमाडौं । सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । सभामुख घिमिरेले आज बिहान १० बजे संसद् भवन बानेश्वसरमा कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभाबाट आज विश्वासको मत लिँदैछन् । नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम उहाँले प्रतिनिधिसभाबाट विश्वासको मत लिन लागेका हुन् । सोही विश्वासको मत लिने विषयमा सभामुखले कार्यव्यवस्था परामर्श समितिसँग छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा तीस दिनभित्र विश्वासको मतका लागि प्रतिनिधिसभा समक्ष प्रस्ताव राख्नुपर्ने संवैधानिक व्यवस्था छ ।
वर्तमान सरकारमा सहभागी तत्कालीन उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएसँगै प्रधानमन्त्री दाहालले विश्वासको मत लिन लागेका हुन् ।