Logo
Logo

विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कब्जा गर्ने आजपाको निर्णय 


693
Shares

काठमाडौं । आम जनता पार्टीले दलाल दलतन्त्र र लुटकारी व्यवस्था विरुद्ध सातै प्रदेशमा भण्डाफोर कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउने निर्णय गरेको छ । 

काठमाडौंको कोटेश्वर स्थित जपा केन्द्रीय कार्यालयमा आज बसेको पार्टी पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहको अध्यक्षतामा बसेको पदाधिकारी बैठकमा दलाल दलतन्त्र र भगौडा पूँजीवादी व्यवस्थाको भण्डाफोर गर्नुपर्ने निष्कर्ष समेत निकालेको छ । 

‘दलाल दलतन्त्र र भगौडा पूँजीवादी व्यवस्थाको भण्डाफोर गरौं, आम जनताको शासन ल्याउन जनआन्दोलनको दिशामा अघि बढौं’ भन्ने मूल नाराका साथ वर्तमान लुटकारी सत्ता विरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निष्कर्ष बैठकको रहेको प्रवक्ता चन्द्रभुषण साहले जनाएका छन् । 

यस्तै बैठकले विदेशमा गएका कामदारहरूबाट लिइएको अवैध रकम फिर्ता दिलाउन तथा ठगहरूलाई कारवाई गर्न गराउन सशक्त आन्दोलन गर्ने निर्णय गरेको छ ।

‘विदेशी नागरिकता लिएकाहरूको नेपाली सम्पत्ति कति र कहाँ छ ? यसको खोजबिन र कब्जा गर्न सरकारलाई जनदबाब दिने तथा आवश्यक परे जनस्तरबाट सो अवैध सम्पत्ति कब्जा गरी राज्यलाई बुझाउने’ पदाधिकारी बैठकले गरेको निर्णयमा उल्लेख गरिएको छ । 

भ्रष्टाचार, अनियमितता, कुशासनको विरुद्धमा आन्दोलन गर्दै आएको आजपाले भ्रष्टाचार नियन्त्रण गर्नमा राज्यका संयन्त्रहरू असफल रहेकोले जनस्तरबाट भ्रष्टाचारीलाई जनकारबाही गर्ने निर्णय समेत गरेको छ । 

यसै गरी बैङ्कहरूले लिएको मनोमानी ब्याज फिर्ता गराउन तथा लघुवित्त र सहकारीका ठगहरू विरुद्ध पीडित आम जनताको पक्षमा जारी संघर्षलाई थप सशक्त, प्रभावकारी एवं देशव्यापी बनाउने निर्णय बैठकले गरेको नेता बालकृष्ण सापकोटाले जनाएका छन् । 

प्रतिक्रिया दिनुहोस्