Logo
Logo

कोरोनासँग लड्न एकजुट हुनुको विकल्प छैन : पूर्वअध्यक्ष रेग्मी


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, १ बैशाख । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष तथा पूर्वप्रधान न्यायाधीश खिलराज रेग्मीले कोरोना महामारीपछिको ‘लकडाउन’ले सबैभन्दा बढी विपन्न वर्ग र श्रमिक वर्गहरु मारमा परेको बताएका छन् । रेग्मीले नयाँ वर्ष २०७७ को उपलक्ष्यमा शुमकामना सन्देश दिँदै यस्तो बताएका हुन् । उनले सन्देशमा कोरोनासँग लड्न एकजुट हुनुको विकल्प नभएको पनि बताएका छन् ।

मन्त्रिपरिषद्का पूर्व अध्यक्ष रेग्मीको शुभकामना सन्देश यस्तो छ :

नव वर्ष २०७७ को उपलक्ष्यमा नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दछु । .
दोस्रो संविधान सभाको निर्वाचनपश्चात् संविधान निर्माण भई तीनै तहको निर्वाचन पनि संम्पन्न भयो । नयाँ सरकारको गठन भई मुलुक स्थायित्व र समृद्धितर्फ अग्रसर हुने वातावरण बन्दैथियो । यस्तै अवस्थाका बीच २०७६ सालको उत्तराद्धतिरबाट विज्ञानले पनि नदेखेको र नबुझेको कोरोना (कोभिड–१९)को महामारीले विश्वलाई नै शिथिल र किंकर्तव्यविमूढ तुल्याएको छ । अहिले पनि हामी बन्दाबन्दी (लकडाउन)को अवस्थामा छौँ ।
सबभन्दा बढी विपन्न वर्ग र श्रमिक वर्गहरू दोहोरो मारमा परेका छन् । एकातिर कोरोनाको त्रास अर्कातिर कसरी जुटाउने गाँस र सुरक्षित बास । यस संकटको घडीमा सरकारले जतिसक्दो अझ प्रभावकारी ढंगले चिकित्सा सेवालाई स्रोतसम्पन्न बनाई परीक्षणको दायरा बढाउने र विपन्न वर्गलाई राहत उपलब्ध गराउने दायित्व पुरा गर्नुपर्ने छ । सरकारका लागि यो चुनौती र अवसर दुबै हो । नागरिक सबैले सरकारले अवलम्बन गरेको नीति अनुसरण गरी कोरोनासँग लड्न एकजुट हुनुको विकल्प छैन । एकल प्रयासले मात्र लड्न असम्भव देखिएको यो महामारीलाई सामूहिक प्रयास र सहयोगले परास्त गर्न सफल होआँै । बन्दाबन्दी (लकडाउन)को उल्लंघनबाट होइन यसको परिपालनाबाट नै हामी सुरक्षित हुन्छौँ भन्ने कुरा नबिर्साैं ।
अन्तमा, नयाँ वर्ष २०७७ मा कोरोनालाई परास्त गर्न सफलता मिलोस् र सुस्वास्थ्य एवं समृद्धिको यात्रा अघि बढाउन सक्षम होऔँ भन्ने शुभेच्छासहित समस्त दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

२०७७ वैशाख १, सोमबार, काठमाडौँ

प्रतिक्रिया दिनुहोस्