काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले डिजिटल प्रविधि अनुरूप क्षमता अभिवृद्धि गरेर सेवा प्रवाह गर्न बिमा अभिकर्ताहरूलाई निर्देशन दिएका छन् ।
नेपाल बिमा प्राधिकरणद्वारा पेसागत बिमा अभिकर्ता सङ्घसँग बिमा सम्बन्धी समसामयिक विषयमा आइतबार काठमाडौंमा आयोजित छलफल एवम् अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बिमा अभिकर्ताको डिजिटल पाटोबाट क्षमता अभिवृद्धिमा सहयोग गर्न तयार रहेको बताए ।
अध्यक्ष सिलवालले भने, ‘संसारमै डिजिटलाइजेशन तीब्र गतिमा अघि बढिरहेको छ, नवीनतम् प्रविधिलाई अवलम्बन गर्नै पर्छ, पेसागत बिमा अभिकर्ता सङ्घलाई डिजिटल पाटोबाट सहयोग गर्न प्राधिकरण तयार छ, सङ्घले नै आफ्ना सदस्यहरूलाई डिजिटल प्रविधिका बारेमा सिकाउनुपर्छ, आचारसंहिता पालना गर्न लगाउनुपर्छ, अभिकर्तालाई बलियो बनाउन सङ्घले नेतृत्व लिनुपर्छ ।’
बिमामार्फत प्रत्येक व्यक्तिको आर्थिक सुरक्षण, बिमितको हित र बिमा व्यवसायको विश्वसनीयता अभिवृद्धिका लागि सामूहिक रूपमा लाग्नुपर्ने उल्लेख गर्दै अध्यक्ष सिलवालले भने, ‘बिमा ऐन, नियम, निर्देशिका र मार्गदर्शनको सबैले पालना गर्नुपर्छ, आ-आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्छ, बिमितको हितलाई ध्यान दिनुपर्छ, राम्रोलाई राम्रो, खराबलाई खराब भन्न सक्नुपर्छ, अभिकर्तालाई कसैले विस्थापित गर्दैन, काम नगरे आफै विस्थापित हुन्छन् ।’
अध्यक्ष सिलवालले बिमा अभिकर्तालाई आइपर्ने समस्या छलफलबाट समाधान गर्न प्राधिकरण खुला रहेको उल्लेख गर्दै बिमासम्बन्धी काम कार्यवाहीका सम्बन्धमा सुझाव दिन बिमा अभिकर्ताहरूलाई आग्रह गरे ।
नेपाल बिमा प्राधिकरण, सञ्चालक समितिका सदस्य कपिलदेव ओलीले बिमा ऐन, नियम तथा निर्देशिका र अन्तर्राष्ट्रिय अभ्यासका आधारमा समग्र बिमा क्षेत्रलाई अगाडि बढाउन सम्बद्ध सबै लाग्नुपर्ने बताए ।
नेपाल बिमा प्राधिकरणका निर्देशक कमल प्रसाद रेग्मीले बिमा अभिकर्ता सम्बन्धी कानुनी व्यवस्था, अनलाइन परीक्षा प्रणाली, बिमा लेख बिक्री गर्दा देखिएका समस्याहरू लगायतका विषयमा प्रस्तुति गरे ।
नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले बिमा व्यवसायको प्रवर्द्धन र बिमाप्रतिको विश्वसनीय अभिवृद्धिमा बिमा अभिकर्ताको भूमिका महत्त्वपूर्ण रहँदै आएको बताए ।
नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले प्राधिकरणले जारी गरेको डिजिटल बिमालेख निर्देशन बिमा अभिकर्तालाई अप्ठ्यारो पार्न नभई अभिकर्तालाई विश्वसनीय बनाउन, बिमा प्रक्रियालाई सरल बनाउन र बिमाको पहुँच बढाउन भएको स्पष्ट गरे ।
कार्यक्रममा नेपाल जीवन बीमक सङ्घका अध्यक्ष पोषक पौडेल र पेसागत बिमा अभिकर्ता सङ्घका महासचिव ओम के.सी. ले बिमा अभिकर्ताका काम, विद्यमान समस्या र समाधानका उपाय लगायतका विषयमा छुट्टाछुट्टै प्रस्तुति गरिएको थियो ।
नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले संचालन गर्नुभएको कार्यक्रममा जीवन बिमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र पेसागत बिमा अभिकर्ता सङ्घका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।