काठमाडौं । लोकप्रिय गायक एवं मेगास्टार राजेशपायल राई साइप्रसमा सांगीतिक धमाका मच्चाएर बुधबार स्वदेश फर्किएका छन् । देशमा भन्दा विदेशमा बढी व्यस्त हुँदै आएका गायक राजेशपायल पछिल्लोपटक ओमन हुँदै साइप्रस पुगेका थिए ।
किरात राई यायोख्खा साइप्रसले उभौलीको अवसरमा आयोजना गरेको विशेष सांस्कृतिक कार्यक्रमका लागि उनी त्यहाँ पुगेका हुन् । ‘राई इज किङ’का रुपमा चर्चित राजेशपायल ओमनको कार्यक्रम सकेर सिधैं साइप्रस उडेका थिए । राजेशपायलले ओमनमा लगातार ३० भन्दा बढी गीत गाएर तहल्का मच्चाएका थिए ।
साइप्रसमा पनि राजेशपायलले आफ्ना नयाँ र पुराना गरी निरन्तर करिब तीन दर्जन गीत प्रस्तुत गरेका थिए । जहाँ उनले आधुनिकदेखि पूर्वेली र साकेला गीत समेत गाएका थिए । राजेशपायलको गीतमा नझुम्ने कुरै भएन । स्टेज किङका रुपमा समेत चर्चित राजेशपायलसँग नझुम्ने कुरै भएन । राजेशपायल राईसँग झुमिरहँदा दर्शकले करिब तीन घण्टा समय बितेको पत्तै पाएनन् ।
सांगीतिक कार्यक्रमअगाडि किरात यायोख्खा साइप्रसका महासविच गोमा थुलुङले मन्तव्य राख्दै किरातहरुको एकता र संस्कृतिलाई संसारभर चिनाउन र देखाउन आवश्यक रहेको बताएक थिए । सावित्रा राईले स्वागत मन्तव्य राखेको कार्यक्रममा यायोख्खाका अध्यक्ष नविन राई आफ्नो विचार राख्दै शुभकामना व्यक्त गरेका थिए ।
कार्यक्रममा गायक राजेशपायललाई डिजिटल चिफमार्फत परिचय गराइएको थियो । जुन राजेशपायललाई सुन्न र हेर्न चाहने दर्शकका लागि नौलो प्रयोग थियो । पुरन मगरले सञ्चालन गरेको कार्यक्रममा राजेशपायलले उभौली (साकेला)को शुभकामना दिएका थिए ।