काठमाडौं । संघीय संसद्अन्तर्गत आज ६ वटा संसदीय समितिको बैठक बस्दै छ । राज्य व्यवस्था तथा सुशासन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, महिला तथा सामाजिक मामिला समिति, सार्वजनिक लेखा समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक आज बिहान साढे १० बजे बस्नेछ । बैठकमा साह्रौं पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतीका लागि नेपाल सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची छ । यस्तै दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि छलफल हुनेछ ।
राज्य व्यवस्था समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ । सार्वजनिक लेखा समितिको बैठक बिहान ११ बजे नै बस्नेछ । बैठकको कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छैन ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक साढे १२ बजे बस्नेछ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल हुनेछ । त्यस्तै महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा नेपालमा एसिड आक्रमण पीडितहरूको क्षतिपूर्ति सम्बन्धमा छलफल गर्ने कार्यसूची छ ।
यता संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही, प्रमुख सवाल, समस्याहरू र भावी कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।