काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालबीच टेलिफोनमा कुराकानी भएको छ । आज बिहान उनीहरूबीच समसामयिक राजनीतिक घटनाक्रमका विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री प्रचण्डसँगको कुराकानीमा अध्यक्ष नेपालले आफू अहिलेकै समीकरणमा प्रतिबद्ध रहेको र मधेसमा पनि अहिलेकै गठबन्धनकै सरकार बन्ने बताएका थिए । अध्यक्ष नेपाल प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निवास बूढानीलकण्ठमा बुधबार अपराह्न ५ बजे राखेको छलफलमा सहभागी भएका थिए ।
यसअघि आजै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले प्रधानमन्त्री प्रचण्डालसँग भेटवार्ता गरेका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका खनाल बिहीबार बिहान बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार खनाल बिहान साढे ९ बजे बालुवाटार पुगेका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।