काठमाडौं । नेपाल बिमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूलाई कम्पनीमा स्वीकृत नीति र बजेटको कार्यान्वयनको अवस्था, सम्भावित जोखिम र जोखिम सम्बोधन गर्ने क्षमता लगायत समग्र विषयमा जानकारी राख्न निर्देशन दिएका छन् ।
नेपाल बिमा प्राधिकरणद्वारा बिमा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरूसँग बुधबार काठमाडौंमा आयोजित जोखिममा आधारित नियमनकारी व्यवस्था सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष सिलवालले बिमा ऐनमा व्यवस्था भए बमोजिम कम्पनीका काम कार्यवाहीको नियमित अनुगमन एवम् सुपरिवेक्षण गर्न सञ्चालक समितिलाई निर्देशन दिएका हुन् ।
अध्यक्ष सिलवालले भने, ‘अन्तर्राष्ट्रियस्तरमा प्रचलनमा आएका जोखिममा आधारित पुँजी, कम्पनीबाट स्वयम् जोखिम मूल्याङ्कन र जोखिममा आधारित सुपरिवेक्षण प्रणाली कार्यान्वयनमा ल्याउन लागिएको छ, यसको उद्देश्य नेपालको बिमा क्षेत्रको विश्वसनीयता अन्तर्राष्ट्रियस्तरमा बढोस्, विदेशबाट पनि बिमा व्यवसाय भित्रियोस्, कम्पनीको जोखिम धारण क्षमता बढोस्, बीमितको हित रक्षा रहोस् र लगानीकर्ताले राम्रो प्रतिफल प्राप्त गर्न सकुन् भन्ने नै हो ।”
बिमा कम्पनीहरू आगामी दिनमा आउन सक्ने जोखिमप्रति बढी जागरूक हुनुपर्ने र सम्भावित जोखिमका बारेमा सरकालाई समेत बुझाउनुपर्ने उल्लेख गर्नुहुँदै अध्यक्ष सिलवालले भन्नुभयो, “बिमा कम्पनी बलियो हुँदै जाउन् भन्ने हाम्रो चाहना, त्यस पाटोबाट कम्पनीले पनि मेहनत गर्नुपर्छ, बजार अनुसन्धान र सूचना प्रविधिमा लगानी बढाउनुपर्छ, आफ्नो जोखिम आफै मूल्याङ्कन गर्नुपर्छ, जोखिमको विश्लेषण गरेर सम्बोधन गर्न योजना बनाउनुपर्छ, त्यसमा सघाउन प्राधिकरण तयार छ ।’
कार्यक्रममा जोखिममा आधारित पुँजी तथा जोखिममा आधारित सुपरिवेक्षण सम्बन्धी प्रस्तुती गर्दै नेपाल बिमा प्राधिकरणका निर्देशक सुशीलदेव सुवेदीले अन्तर्राष्ट्रिस्तरमा प्रचलनमा आएका जोखिममा आधारित पुँजी र जोखिममा आधारित सुपरिवेक्षण प्रणालीलाई नेपालको परिवेश अनुसार परिष्कृत गर्दै अन्तरिम रूपमा कार्यान्वयनमा ल्याइएको बताए ।
यो प्रणाली आगामी २०८४ सालदेखि पूर्णरूपीमा कार्यान्वयनमा आउने जानकारी दिँदै निर्देशक सुवेदीले विश्वव्यापी रूपमा स्वीकार गरिएको यस प्रणालीको कार्यान्वयनबाट बीमितको हित रक्षा गर्न, वित्तीय उतारचढावको प्रभाव न्यून गर्न, बीमकको पुँजी सबल बनाउन, लागत घटाउन र बीमकलाई पारदर्शी एवम् जवाफदेही बनाउन योगदान पुग्ने स्पष्ट पारे ।
बीमकको न्यूनतम पुँजी कायम राख्दै बढी जोखिम भएका बीमकको पुँजी बढी र कम जोखिम भएकाको कम भए हुने, हालको जोखिम र भविष्यमा आउन सक्ने जोखिमको पहिचान गर्ने, मूल्याङ्कन गर्ने र जोखिम न्यूनीकरण गर्न योजना बनाउने लगायत समग्र विषय यस प्रणालीमार्फत अगाडि बढाउन सकिने उनले बताए ।
नेपाल बिमा प्राधिकरणका निर्देशक पूजन ढुङ्गेल (अधिकारी) ले जोखिममा आधारित पुँजी, बीमक आफैबाट आफ्नो जोखिम मूल्याङ्कन र जोखिममा आधारित सुपरिवेक्षण प्रणालीको कार्यान्वयनका लागि कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्न प्राधिकरणले सहयोग गर्दै आएको जानकारी दिए ।
नेपाल बिमा प्राधिकरणका निर्देशक दिनेश कुमार लालले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तर्राष्ट्रिय अभ्यास र प्रचलनमा आधारित भएर नेपालमा पनि जोखिममा आधारित प्रणाली अवलम्बन गर्न लागिएको बताए ।
कार्यक्रममा निर्जीवन बिमा व्यवसायी सङ्घका अध्यक्ष राजेन्द्र मल्ल, रिलायवल लाइफ इन्स्योरेन्स कम्पनीका सञ्चालक समितिका अध्यक्ष उदय नेपाली श्रेष्ठ, नेपाल बीमक संघका अध्यक्ष चंकी क्षेत्री र नेपाल जीवन बीमक संघका अध्यक्ष पोषक पौडेलले अन्तर्राष्ट्रिय विश्वसनीयता र बीमकको हितका लागि पनि सो प्रणाली कार्यान्वयन गर्नुपर्ने भएकाले त्यसतर्फ अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बीमकमा हुने जोखिम, बिमा जोखिम, संचालन जोखिम, बजार जोखिम, बीमकको शाख जोखिम र परिपालन जोखिम लगायतका विषयमा छलफल भएको थियो ।