Logo
Logo

किन विकराल बन्दै छ खानेपानी समस्या ?


189
Shares

नेपालमा दाबी गरिँदै आएको एउटा विषय हो-नेपाल जलस्रोतमा विश्वकै दोस्रो धनी देश हो । विद्यालय तहदेखि यही सिकाइयो । यही पढाइयो । यही रटाइयो । तर, यो दाबीले फेल खाइसक्यो । र, पनि हामीलाई अझै लाग्छ-नेपाल जलस्रोतको विश्वकै दोस्रो धनी देश हो ।

सन् २०११ मा जलस्रोत सम्बन्धी एक अध्ययन गरिएको थियो । उक्त अध्ययनअनुसार नेपाल जलस्रोतमा ४३औँ स्थानमा छ । पहिलो स्थानमा ब्राजिल छ । दोस्रो नम्बरमा रुस र तेस्रो नम्बरमा अमेरिका छ । एसियामा समेत जलस्रोतको हिसाबमा नेपाल चीन र भारतभन्दा पछाडि छ ।

नेपालमा खानेपानीको संकट छ । हाहाकार छ । अझैसम्म पनि १२ प्रतिशत नागरिकले आधारभूत पिउने पानी पाएका छैनन् । खानेपानीकै लागि घण्टौँसम्म हिँड्नुपर्छ । लाइन लाग्नुपर्छ । कतिपय ठाउँमा प्रदूषित पानी प्रयोग गर्न बाध्य छन् । जसले विभिन्न रोग लाग्ने गरेको छ ।

खानेपानीको धेरै समस्या पहाडी र हिमाली क्षेत्रमा छ । कुनै ठाउँमा एक गाग्रो पानी लिनका लागि एक दिन बिताउनुपर्ने बाध्यता छ । आकाशे पानी खाल्डोमा जम्मा गरेर राख्नुपर्छ । भएका पानीका मूहान पनि सुक्दै गएका छन् । जरुवा सुके । कुवा सुके । ढुंगेधार सुके । मुहान वरपर कमिलाका ताँती देखिन्छन् । इनारमा पानीको सतह गहिरिँदै छ ।

कुनै ठाउँमा एक गाग्रो पानी लिनका लागि दिन बिताउनुपर्ने बाध्यता छ । भएका पानीका मुहान पनि सुक्दै गएका छन् । मुहान वरपर कमिलाका ताँती देखिन्छन् । इनारमा पानीको सतह गहिरिँदै छ । खानेपानी समस्याकै कारण कयौँ मानिस आफ्नो थातथलो छाडेर हिँड्नु बाध्यता छ ।

अहिले चैत नसकिँदै खानेपानीका स्रोतका मुहान सुक्ने गरेका छन् । जसले गर्दा खानेपानीको सङ्कट बढ्दो छ । कयौँ मानिस आफ्नो थतथलो छाडेर हिँड्नु बाध्यता छ । गाउँगाउँमा अन्धाधुन्ध भ्याकु चलाएका छन् । वातावरणीय अवस्थाको ख्यालै नगरी बुल्डोजरको प्रयोग गर्दा विकासभन्दा बढी विनाश भएको छ । सोही कारण पानीको मुहान सुक्दै गयो ।

विकासले चिल्लो बाटो बन्यो । सडकको एकछेउमा नाली बनाएर बर्खाको भल सिँधै खोलमा खसालियो । जमिनले पानी सोस्नै पाएन । जसका कारण भूमिगत जलभण्डारमा पानीको परिमाण घट्दै गएको छ ।

हाम्रा पूर्वजहरूले पहाडका विभिन्न रणनीतिक ठाउँमा पोखरीहरू निर्माण गरेका थिए । ती पोखरीले भूमिगत जलभण्डारको पुनर्भरणमा धेरै ठूलो योगदान गर्थे । तर, अहिले परम्परागत रूपमा बनाइएका पोखरीहरू नाश हुँदै गएका छन् ।

पहाडी बस्तीमा पनि इनार खन्ने वा डिप बोरिङ गर्ने प्रचलन बढ्दै छ । इनार वा बोरिङबाट मोटरले पानी तान्दा मुहानहरूमा प्रत्यक्ष असर परेको छ । मोटर लगाएर पानी तान्दा भूमिगत जलस्तर पनि घट्दै गएको छ । पहाडी र हिमाली क्षेत्रमा मात्रै होइन, चुरे क्षेत्रमा पनि पानीको अभाव त्यस्तै छ ।

चुरे क्षेत्रका बासिन्दा त खानेपानी माग्न काठमाडौं नै आइपुगेका छन् । उनीहरू २५ दिन हिँडेर पानी माग्न सरकार खोज्दै काठमाडौं आएका हुन् । यसरी पानी माग्दै उनीहरू काठमाडौं आएका पहिलो पटक होइन, तेस्रो पटक हो । तर, सरकारको ध्यान काकाकुल जनताको तिर्खा मेटाउनेमा छैन । सत्ताको कुर्सीको लडाइँमै व्यस्त छ । जनताले खानेपानी पाउन/नपाउन मतलब छैन, जसरी भए पनि सत्ता हत्याउनु छ ।

चुरे दोहनले गर्दा जङ्गल सखाप भएको छ । जङ्गली जनावर पानीको खोजीमा गाउँ पस्न थालेको छ । घरको चापाकल, पोखरी, इनार र खोलामा पानी सुक्दै गएका छन् । लुगा धुन, नुहाउन, खेतीपाती गर्न, पशु चौपायलाई खुवाउन पानी छैन । यस समस्यालाई समयमा नै सम्बोधन नगर्ने हो भने गाउँका रित्तो हुने अवस्था आउन सक्छ ।

जलवायु परिवर्तनको असर र वन विनाश जस्ता कारणले पानीको स्रोत सुकेको देखिन्छ । ०७२ सालको भूकम्पपछि खानेपानीका धेरै मूलहरू अन्यत्र सर्ने र सुक्नेजस्ता समस्या देखा परेको छ । नेपालमा सानाठूला भूकम्पहरू बारम्बार गइरहन्छन् । सोही कारण पनि नेपालमा खानेपानीको चुनौती बढ्दै गएको छ ।

भूकम्पका बेला जमिन र जमिनमुनिका संरचना चलायमान हुन्छ । यस बेला कतै चट्टानहरू खुम्चिन्छन् भने कतै फुक्छन् । भूकम्पपश्चात् कति मूलबाट बढी पानी निस्कने, कतै कम निस्कने वा सुक्ने र कति ठाउँमा नयाँ मूल निस्कने पनि हुन्छ । कुनै मुहानमा जमिनमुनिबाट पानी आउने बाटोमा अवरोध पुग्न गए पानी भित्रभित्रै जम्मा भएर बस्छ ।

अहिलेसम्म मुहान वरिपरि वा मूल निस्कने स्थानमा पानी जम्मा गर्न स्थायी संरचना बनाउने काम त हुन थालेको छ । तर, पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गर्ने वा जमिनको सतहबाटै बगेर खेर गइरहेको पानीलाई जमिनमुनि भण्डारण गर्ने कार्य खासै भएको छैन ।

पोखरी मूलको एउटा स्रोत हुन सक्छ । विभिन्न कारणले पुरिएका प्राचीन पोखरीहरूलाई मर्मत–सम्भार गरेर क्षमता बढाएमा मूलमा पानीको मात्रा बढ्न सक्छ । यदि मूल सुधार्ने हो भने पुनर्भरण क्षेत्रमा वर्षाको पानी संकलन गरी भूमिगत जल भण्डारमा पानीको मात्रा बढाउने कार्य गर्नुपर्छ ।

पुनर्भरण क्षेत्रको पहिचान भौगर्भिक अध्ययन र अवलोकनबाट गर्न सकिन्छ । मुहानको वरपर अवस्थित चट्टानहरू कस्तो प्रकारका छन्, कस्ता चट्टानमा पानी भण्डारण हुन्छ र कुनमा हुँदैन भन्ने पहिचान गर्नुपर्छ ।

वर्षाबाट बगिरहेको पानीको भललाई जमिनभित्र सोसिन दिनुपर्छ । भलको गति कम गर्ने वा रोक्ने अवरोधक संरचनाहरूमा पुनर्भरण पोखरी, कुलेसो, खाल्डाखुल्डी, ससाना पर्खाल, आली, घाँसे घेरो, वृक्षारोपण, गरा सुधार, चेक ड्याम आदि पर्छन् ।

पुनर्भरण क्षेत्रमा वनजंगल छ भने वनभित्र रहेका खाली ठाउँ हेरी उपलब्ध ठाउँमा पोखरी, ट्रेन्च, कुलेसा र खाल्डाखुल्डी बनाउन सकिन्छ । पुनर्भरण क्षेत्रमा चरन छ भने कम गहिरा र चौपायामैत्री पोखरी बनाउनुपर्छ । पुनर्भरण क्षेत्रमा खेतीपाती लगाइएको छ भने गरा सुधार गरी भिरालो बारीलाई समतल बनाउनुपर्छ ।

यसका लागि व्यापक अध्ययन र अनुसन्धान गर्नुपर्दछ । आवश्यक जनशक्ति, संस्थागत संरचना तथा ऐन–नियम तर्जुमा गर्नुपर्दछ । सम्बन्धित निकायले नीतिगत, संस्थागत तथा जनशक्ति संरचना परिमार्जन गर्नु जरुरी छ ।

स्वच्छ र सफा खानेपानीको यथोचित व्यवस्था हरेकको अधिकार हो । यस्तो अधिकारको सुनिश्चितता सरकारले गर्ने हो । अहिले त झन् मुलुकमा नाम मात्रैको सरकार छ । जनताका समस्या दिनानुदिन बढ्दै छन् । सरकारले जनताका दैनिक समस्यालाई पनि नजरअन्दाज गर्न मिल्दैन । सत्तामा बसेकाहरूले कुर्सीकै पीर गर्न छाडेर जनताको समस्यामा ध्यान दिने हो भने कर्सीको चिन्ता लिनु पर्दैन । जनताले नै पु¥याइदिने छन् ।

प्रतिक्रिया दिनुहोस्