काठमाडौं । कीर्तिमानी चर्चित आरोही निर्मल पुर्जा (निम्स)माथि महिला आरोहीले यौन दुव्र्यवहारको गम्भीर आरोप लगाएका छन् । अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’मा प्रकाशित समाचार अनुसार हिमाल आरोहणका क्रममा उनीहरूले पुर्जाबाट दुव्र्यवहार भोगेको बताएका हुन् ।
‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै पूर्वमिस फिनल्याण्ड लोता हिन्स्टाले ३० मार्च २०२३ मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको भनेकी छन् ।
डिसेम्बरमा प्रकाशन भएको आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ २’ मा पनि उनले एकजना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । उनले पुस्तकमा पुर्जाको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको बताएकी थिइन् ।
शुक्रबार ‘द न्यूयोर्क टाइम्स’मा प्रकाशित रिपोर्टमा उनले ती व्यक्ति पुर्जा (निम्स) भएको खुलाउँदै होटलको कोठाभित्र के–के भएको थियो भन्ने बताएकी छन् । पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएको उनले दावी गरेकी छन् ।
उनले पत्रिकासँग भनेकी छन्, ‘मैले इन्कार गर्दा गर्दै उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ । मैले महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पु¥याए ।’
उनका अनुसार, पुर्जा त्यतिबेला यस्तो अवस्थामा थिए, जतिबेला ‘नो’ भन्नुको उनलाई कुनै अर्थ थिएन । ब्रिटिस सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले भनेकी छन् । आफूले निरन्तर अस्वीकार गरिरहेपछि पुर्जा एकदमै रिसाएको उनले भनेकी छन् । उनले पछि पुर्जा बाथरुममा प्रवेश गरेका बेला आफूले लुगा लगाएको भनेकी छन् ।
न्यूयोर्क टाइम्सका अनुसार यो आरोपमाथि पुर्जा (निम्स)ले प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको उल्लेख छ ।
यस्तै, क्यालिफोर्नियाकी एकजना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटकपटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका पुर्जाले दुर्व्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।
सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुर्व्यवहार र धम्कीको सामना गर्नुपरेको उनले भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनुपरेको थियो ।
पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् । उनले भनेकी छन्, ‘हिमालमा सबैभन्दा चुनौतिपूर्ण, डर र चिन्दा लाग्दो अवस्था मान्छेबाटै पैदा हुन्थ्यो, पर्यावरणबाट होइन ।’