काठमाडौं । तत्कालीन राजा वीरेन्द्र शाहको स्मृतिमा दीप प्रज्वलन गरिएको छ । वीरेन्द्रको वंश नास हुने गरी नारायणहिटी दरबार हत्याकाण्ड भएको आज २३ वर्ष पूरा भएको स्मृतिमा नारायणहिटी दरबार परिसरमा दीप प्रज्वलन गरिएको हो ।
विभिन्न राजावादी पार्टी, तथा अभियन्ताहरू सहभागी भई दीप प्रज्वलनसहित राजा वीरेन्द्र र उनको दिवङ्गत परिवारप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।
२०५८ जेठ १९ गते भएको राजदरबारभित्र भएको गोली काण्डमा राजा वीरेन्द्रसहित रानी ऐश्वर्य, युवराज दीपेन्द्र, अधिराजकुमार नीराजन, राजकुमारी श्रुति, शान्ति राज्यलक्ष्मी सिंह, शारदा राज्यलक्ष्मी शाह, शाहज्यादी जयन्ती राज्यलक्ष्मी शाह, कुमार खड्गविक्रम शाह र धीरेन्द्र शाहको मृत्यु भएको थियो ।
सो श्रद्धाञ्जली कार्यक्रममा पूर्व राजकुमार पारस शाह लगायत पूर्व राजपरिवारका सदस्यहरूको समेत उपस्थित रहेको थियो । त्यसै गरी राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, सांसद दीपक बहादुर सिंह र अभियन्ता दुर्गा प्रसाईँको समेत उपस्थिति थियो ।